file photo

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सलह कीरा संकलन गरि मारेको कीरा सम्बन्धित वडालाई बुझाउने व्यक्ति,समूह तथा संस्थालाई प्रतिकिलो १ सय रुपयाँ दिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि अधिकृत चन्द्रकान्त चौधरीले जारी गरेको सूचनामा असार १५ गते गाउँपालिकाको वडा नंबर ८ बुढीचौर र वडा नंबर १ डाँडागाउँ लगाएतका स्थानहरुमा सलह कीरा देखापरेकोले नियन्त्रणका लागि उक्त सलह कीरा संकलन गरि मारेको कीरा सम्बन्धित वडालाई बुझाउनेलाई प्रोत्साहन रकम प्रतिकिलो १ सय रुपयाँ दिने जनाइएको छ ।

यसैगरि सूचनामा उक्त कीराबाट धानबालीको बिउ,तरकारी बाली तथा अन्य बालीहरु बचाउनको लागि झुल,जाली,प्लास्टिक वा अन्य साधनको प्रयोग गरेर छोप्न सकिने बताईएको छ ।

यसैगरि सहल किरा आफ्नो क्षेत्रमा देखिएमा ठूलो ध्वनी (आवाज) निकालेर वा धुवाको प्रयोग गरेर धपाउन सकिने जनाईएको छ । यसैगरि सलह कीरा नियन्त्रणका लागि रासायनिक विषादीहरु मालाथिएन ३ मिलिलिटर वा क्लोरोपाईरीफस २ मिलिलिटर वा डेल्टामेथ्रीन १ मिलिलिटर प्रतिलिटर पानीमा मिसाई किराको झुण्ड भएको स्थानमा स्प्रे गर्न सकिने सूचनामा जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।