स्पेनिस ला लिगामा बार्सिलोना लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । गएराती सम्पन्न एटलेटिको म्याड्रिडविरुद्धको खेलमा बार्सिलोना २-२ गोलको बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लागि लियोनेल मेसीले एक गोल गरेका थिए भने एक गोल एटलेटिकोका डिएगो कोष्टाले आत्मघाती गोल गरेका थिए । त्यस्तै एटलेटिकोका लागि दुवै गोल साउल निगुएजले गरेका थिए । यस खेलमा पेनाल्टीमा गोल गर्दै मेसीले आफ्नो क्यारियरको ७ सयौं गोल पुरा गरेका छन् । मेसीले बार्सिलोनाका लागि ६३० गोल गरेका छन् भने देश अर्जेन्टिनाका लागि ७० गोल गरेका छन् ।

यो बराबरीपछि बार्सिलोनाको ला लिग जित्ने अभियानमा धक्का लागेको छ । यस अघि सेल्टाविरुद्धको खेलमा पनि बराबरीमा रोकिएपछि अंक तालिकामा दोस्रो स्थानमा पुगेको बार्सिलोना अब यस खेलपछि रियल म्याड्रिडसँग ४ अंकले पछाडी पर्ने सम्भावना देखिएको छ ।

अहिले ३३ खेलमा बार्सिलोनाको ७० अंक छ भने एक खेल कम खेलेको रियलको ७१ अंक रहेको छ । यो बराबरीले रियल म्याड्रिडलाई धेरै सहज महसुस गरेको छ । त्यस्तै एटलेटिको म्याड्रिडको भने यो बराबरीपछि ३३ खेलमा ५९ अंक भएको छ र लिगको तेस्रो स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।