हेटौंडा । गत असार २ गते घरकै भान्सा कोठामा मृत भेटिएकी हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी सुस्मिता थापाको हत्या भएको निस्कार्ष निकाल्दै मकवानपुर प्रहरीले हत्यामा संलग्न आरोपिलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले सुस्मिताको हत्या अभियुक्तलाई आज बिहान ११ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै छ ।

हत्यामा उनकै परिवारको सदस्यको संलग्न रहेको अनुसन्धानले शंकेत गरेको मकवानपुर प्रहरी श्रोतको भनाई आएको छ । प्रहरीले सुस्मिताको हत्या आरोपमा ससुरा प्रकाश थापा र नन्द सिता थापालाई असार ४ गतेनै पक्राउ गरी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।

खाना खाने क्रममा विवाद भएको र आवेशमा आएर परिवारकै सदस्यबाट भान्सामा भएको लोहोरोको प्रहार गरि उनको हत्या गरिएको भन्नेतर्फ घटनाले शंकेत गरेको प्रहरीको भनाई छ ।

सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि परिवारमा विवाद भएपछि सुस्मिता माइत बस्दै आएकी थिइन् । तर श्रीमानको मृत्युको ६ महिना पुगेको अवसरमा गर्नुपर्ने कामका लागि उनी घर फर्किएकी थिइन् ।

सुस्मिताको टाउकोको पछिल्लो भागमा गहिरो चोट लागेको, आँखासमेत फुटेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । उनको घाँटी र अन्य भागमा समेत चोट देखिएको प्रहरीले जनाएको छ । सुस्मिताको शव भान्छाकोठामै भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।