मकवानपुर । वैदेशिक रोजगारीमा गएका भीमफेदी २ चुनियाका कर्णबहादुर पाख्रिन गत फागुनमा घर फर्किए। ७ वर्ष अघि पाख्रिन रोजगारीका लागि दुबई गएपछि उनकी श्रीमती सीतामायाले बाख्रापालन सुरु गरिन्। उनले यसबीचमा पटकपटक श्रीमान्लाई घर फर्कन र मिलेर बाख्रापालन गर्न आग्रह गरिन्। तर कर्णबहादुर मानेनन्। ७ वर्षपछि घर फर्कंदा उनले विदेशमा गरेको कमाइभन्दा चौगुणा बढी कमाइ सीतामायाले बाख्रा पालेर गरिसकेकी थिइन्। श्रीमतीले गरेको बाख्रापालन र यसको सफलता देखेर उनी अब दुबई नर्फकने निर्णयमा पुगेका छन्। कोरोना कहरकाबीच श्रीमतीसँगै मिलेर बाख्रापालन विस्तार गर्न कर्णबहादुर लागिपरेका छन्। कृष्ण सारु मगरले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

‘मैले फोनमाभन्दा त विश्वास गर्नु भएन तर अहिले घरमा बाख्रा पालेको देखेपछि श्रीमान् पनि यही काम गरेर बस्न राजी हुनुभएको छ’, सीतामायाले भनिन्। उनीसँग अहिले ब्रोयर जातका बाख्रा १ सय १० वटा छन्। उनले एउटै बोका ६ ७० हजार रुपैयाँसम्म बिक्री गरेकी छन्। प्रतिकेजी १ हजार रुपैयाँमा बोका बिक्री हुने गरेको छ। ‘हामी कोदो मकै रोप्दैनौं, बारीभरि उन्नत जातको घाँस लगाएका छौं’, सीतामायाले भनिन्, ‘८ जनाको परिवारले खाएर वर्षमा १० लाख बचत हुन्छ।’

उनीसँगै उन्नत जातको बाख्रापालन सिकेर ५० परिवारले व्यावसायिक बाख्रापालन गरिरहेका छन्। सीतामायाका छिमेकी ठाकुरा खड्कालाई पनि खेतबारीमा काम गरेर वर्षभरि खान ठिक्क हुन्थ्यो। दुई भाइ छोराले विद्युत् प्राधिकरणमा नाम निकालेपछि ठाकुराम र उनकी श्रीमती मिठूले व्यावसायिक बाख्रापालन गर्ने निर्णय गरे।

पाँच वर्षदेखि ब्रोयर जातको बाख्रापालन गरिरहेका खड्का दम्पत्तिको कमाइ सरकारी नोकरी गर्ने २ छोरा र बुहारीको भन्दा राम्रो छ। ‘म बेला बेला भन्ने गर्छु छोराहरुलाई तिमीहरु र हाम्रो कमाइ दाजांै, कस्को राम्रो छ’, ठाकुरामले भने, ‘दुई छोरा र बुहारीले गरेको कमाइलाई हामीले बाख्रापालन गरेरै जितिरहेका छौं।’ उनले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी बाख्रा बेचेर बचत गर्दै आएका छन्।

सामुहिक बाख्रापालन

एक्ला एक्लै बाख्रापालन गर्दै आएका भीमफेदी २ का किसानले यो वर्षदेखि सामुहिक बाख्रापालन सुरु गरेका छन्। १० जना किसान मिलेर प्रगति व्यावसायिक बाख्रापालन समूह गठन गरेका छन्। उनीहरुले सुधारिएको खोर निर्माण गरी समान लगानी र मुनाफा हुने गरी बाख्रापालन सुरु गरेका हुन्। ‘हामीले एक्ला एक्लैभन्दा समूहमा काम गरौं न भनेर सुरुवात गरेका छौं, राम्रै हुन्छ भन्ने आशा छ’, समूहका अध्यक्ष ठाकुरामले भने। उनीहरुले खोर निर्माण गरी १ सयवटा उन्नत जातका माउ बाख्रा पालेका छन्। संख्या बढाउँदै लैजाने तयारी छ।

यहाँका किसानसँग प्रजनन्योग्य माउ ४ सय ६१ सँगै १ हजारभन्दा बढी बाख्रा रहेको समूहको तथ्यांक छ। उनीहरु प्रत्येकले वार्षिक न्यूनतम् २ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

महिलाको बेग्लै समूह

धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका ३ स्थित काफलटारका महिला सामुहिक रुपमा बाख्रापालन गरेर सबैको ध्यान खिच्न सफल भएका छन्। बागेश्वरी आत्मनिर्भर महिला समूह गठन गरी २ समूहमा बसेर बाख्रापालन गरिएको छ। यस अघि उनीहरुले घरघरमा छुट्टाछुट्टै बाख्रापालन गर्दै आएका थिए। पाँच÷पाँच जनाको दुई समूहमा बाँडिएर उनीरुले बाख्रापालन गरिरहेका छन्। बाख्रापालनका लागि उपयुक्त हावापानी, चरनको लागि नजिकै वन र प्रशस्त डाले घाँस बारीभरि देख्न सकिन्छ। एउटा समूहमा पाँच जना मगर समुदायका महिला छन् भने अर्कोमा ४ जना तामाङ र १ जना दर्जी महिलाले मिलेर बाख्रापालन गरिरहेका छन्।

‘घरधन्दा, बालबच्चाको स्याहारसँगै बाख्राको स्याहार गर्न हामीलाई भ्याइनभ्याइ हुन्थ्यो। तर समूहमा मिलेर गर्दा सजिलो भएको छ’, समूहकी अध्यक्ष भगवती मगरले भनिन्। वाग्मती प्रदेशभित्र महिलाले सामुहिक बाख्रापालन गरेको यो सम्भवतः पहिलो हो। उनीहरुलाई यसरी समूहमा बाध्ने काम प्रदेश सरकारको सहयोगमा स्थानीय दियालो साना किसान सहकारीले गरेको हो। सहकारीले दुई वटा बाख्राको खोर निर्माण गरिदिएको छ। ब्रोयर, जमुनापारी र स्थानीय जातका गरी एक सय वटा बाख्रा र बोका खरिद गरेर समूहलाई दिइएको छ। महिला आफैले पनि गाउँघरमा रहेको उन्नत जातको बाख्रा खरिद पालेको सहकारीका अध्यक्ष रामबहादुर रावलले बताए।

२ करोड ५० लाख अनुदान

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०७६÷७७ मा सामुहिक बाख्रापालन प्रोत्साहन गर्न प्रदेशभित्रका १० बाख्रापालन समूह, सहकारी र व्यक्तिलाई २ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ। २५ लाख रुपैयाँका दरले अनुदान दिइएको मन्त्रालयका प्रवक्ता शरण पाण्डेले बताए।

वाग्मती प्रदेशभित्र वार्षिक एक लाख मेट्रिक टन मासु उत्पादन हुने गरेको मन्त्रालयको तथ्यांक छ। मासुमा आत्मनिर्भर हुँदै अन्य प्रदेश र विदेश निर्यातको लागि संघीय सरकारलाई सहयोग पुग्ने गरी सामुहिक पशुपन्छीपालनलाई अभियानका रुपमा अघि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाको भनाइ छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।