केहि रकम तथा यौन प्यासको कारण मानिसहरुले आफ्नो परिवारलाई समेत छाड्दैन भन्ने कुराको प्रमाण दिँदै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा एउटा दर्दनाक हत्याकाण्डको आज विवरण सार्वजनिक भएको छ । सुस्मिताले कहिल्यै सोचेकी थिइन्न होला कि आफ्नै ससुराले अस्मिता लुटने प्रयास गर्छ, आफ्नै नन्द काल बनेर उभिन्छे, आफ्नै परिवारका सबै सदस्यहरु जीवनको भीख माग्दा समेत कठोर बन्दै मृत्युतर्फ धकेल्छन् ।

आफ्नो एकमात्र छोराको मृत्युको कारण बुहारी भएको भन्दै ९ महिनासम्म मानसिक यातना, शारिरिक पीडा दिएर आखिर असार १ गते रात सुस्मिताको हत्या गरिछाड्ने प्रकाश थापाको परिवारनै यतिबेला प्रहरीको हिरासतमा छ । आज प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सार्वजनिक गर्नेक्रममा उनको बाँकी रहेको सबै परिवारको हातमा हतकडी थियो ।
आफ्नो दुई छोरी, श्रीमती सहित हत्कडीमा प्रहरीले परिवारनै सार्वजनिक गर्दा प्रकाशले पत्रकारतर्फ हेर्न समेत सकेनन् । बुहारीको हत्या, बलात्कारको प्रयासजस्तो क्रुर कार्य गरेका उनमा पत्रकारतर्फ हेर्नेसक्ने कुनै नैतिकता समेत बाँकी रहेन । मकवानपुरका प्रहरी प्रमुख एसपी शुसिलसिंह राठौरले परिचय गराउनासाथ चारै जनालाई भित्र पठाउदैगर्दा प्रकाश थापा सहित उनको परिवार चाँडोचाँडो त्यहाबाट उम्कन खोजेको प्रष्ट देखिन्थ्यो ।

२०७६ सालको असोजमा छोराको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि सुस्मिताको दुखको दिन सुरु भयो । श्रीमानको मृत्यु भएको समयमा परिवारको थप माया पाउनुपर्ने बुहारीले परिवारकै टर्चर सहनुपर्यो । स्थानीयहरु भन्छन् ः छोराको किरीया गर्ने क्रममानै उनीहरुको परिवारले सुस्मीताको घाउमा नुनचुक छर्ने गर्दथे ।
स्थानीयहरुको भनाईलाई आधार मान्ने हो भने प्रकाशका दुईजना छोरीहरुले समेत भाउजुलाई तनाव दिन कुनै कसर बाँकी राखेका थिएनन् । भाउजुलाई दाईको मृत्युको कारण बताउँदै दैनिक मानसिक यातना दिन उनीहरु तल्लीन हुन्थे ।
.पत्रकार सम्मेलनमा एसपी राठौरले भनेको अभिब्यक्तिबाट पनि सो कुराको प्रमाण पुग्छ । हत्याको समयमा काठमाण्डौँ रहेकी प्रकाशकी जेठि छोरी दुर्गा कार्कीलाई पक्राउ गर्नुमा दुर्गाले हत्याअघि गरेको क्रियाकलाप र हत्यापछि देखिएको संलग्नतानै हो ।

यस्तो छ प्रहरीले जारी गरेको हत्याको विवरण
मिति २०७७ साल असार १ गते अन्दाजी बेलुकी ९ बजेर ३० मिनेटको समयमा मृतकको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले रक्सी खाएका थिए । ततपश्चात मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए । सुस्मीता महिनावरी भएको कारण भान्छाकोठाको भुईमा बसेर खाना खाँदै थिईन्, सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी बुहारी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गर्छन् । त्यसपछि सुस्मीता भुईमा लड्छिन र सोहि मौकामा नन्द सिताले नजिकै रहेको लोहोरो प्रहार गरि उनलाई थप घाईते बनाउछिन् । सुस्मिताले बचाउ, बचाउ भन्ने स्वर निकालेपछि सासु तुलासापनि भान्छाकोठामा आउँछिन, ततपश्चात सासुलाई नन्द र ससुरा मिलेर बाहिर पठाउछन र पुन प्रकाश र सिताले घाइते सुस्मितालाई लौरो र लोहोरोले प्रहार गरि हत्या गर्छन् । सुस्मिताको मृत्युपछि प्रकाश र सिता मिलेर उक्त कोठमा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउछन, भुईमा लागेको रगत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गर्छन् । जिउमा लागेको रगत पखाल्दै नुहाएर बुबाछोरी सुत्छन् । भोलीपल्ट आफैले मेरो बुहारीले आत्महत्या गरिन भन्दै गाउँलेलाई पनि बोलाउछन् ।
घटनाको कारण
१.२०७६ साल असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मृतक सुस्मीताको श्रीमान रुपेन्द्रको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि बुहारीलाई उसकै कारण मृत्यु भएको भन्दै आरोप लगाउने काम भएको ।
२. ससुरा प्रकाश थापाबाट मृतक सुस्मीता क्षेत्री थापालाई बाथरुममा जबर्जस्ती करणीको उद्योग गरेको
३. मृतक सुस्मिताको श्रीमान रुपेन्द्रको सबारी दुर्घटनाको मृत्यु पश्चात पाउने क्षतिपुर्तीबापतको रकम पाँच लाख सुस्मिताले प्राप्त गरेको र घर पक्षले हामीले पाउनुपर्छ भनेर विवाद सृजना गरेको ।
४. स्वर्गीय रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाउने विमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादको कारण हालसम्म प्राप्त नगरेको ।
५. सामजिक सुरक्षा कोषबाट २०७६ कार्तिकबाट २०७७ बैशाखसम्म मासिक १७ हजार १ सयको दरले सुस्मीतालाई पैसा आएको तर त्यो रकममा पनि परिवारको दाबी रहेको ।
६. नेशनल लाईफ इन्सुरेन्सबाट प्राप्त हुने रकम १० लाख रुपैँया प्रकश थापाले लिएको ।
कानुनी प्रावधान
मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम क्रुर याताना दिई ज्यान मारेको आरोपमा कसुर जिवित रहेसम्म कैद अर्थात जन्मकैद हुने ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशिलसिंह राठौरले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।