file photo

असार १४ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धि राष्ट्रहित विपरीत रहेको भन्दा आफूमाथि गरिएको कारबाहीबारे पार्टीले क्षमा याचना गर्नुपर्ने माग गर्नुभएको छ ।

स्थायी समिति बैठकमा नेता गौतमले तत्कालीन एमालेभित्र आफूले जायज कुरा उठाउँदा आफूमाथि अन्याय गरिएको भन्दै नेतृत्वले क्षमा माग्नुपर्ने बताउनुभएको हो । नेकपाको जारी स्थायी समिति बैठकमा सीमा विवादबारे छलफल भएको थियो ।

छलफलको क्रममा गौतमले महाकाली सन्धिमा आफुले राखेको अडान सही देखिएकोले नेतृत्वले माफी मागेर आफुलाई न्याय दिनुपर्ने बताउनुभएको हो । तत्कालीन एमालेभित्र महाकाली सन्धि देशको हित विपरीत रहेको भन्दै गौतम नेतृत्वको समूहले विरोध जनाएको थियो ।

उक्त विवाद चर्किदै जाँदा तत्काली महासचिव माधवकुमार नेपालले गौतमलाई कारबाही गर्नुभएको थियो । कारबाहीपछि गौतमले एमाले फुटाएर नयाँ पार्टी नेकपा माले बनाउनुभएको थियो ।

नेकपा बैठकमा बोल्ने अधिकांश सदस्यहरुले भारतसँगको सीमा विवाद सुल्झाउन वार्ता नै एक मात्र विकल्प भएको र निरन्तर कोसिस जारी राख्नुपर्ने सुझाव दिएका छन् । नेकपा स्थायी कमिटिको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।