काठमाडौं, १० असार । स्पेनिस लालिगाको उपाधि दाबेदार बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । बराबरीका बाबजुद बार्सिलोना पुनः  लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ तर उसले दोस्रो स्थानको रियाल मड्रिडभन्दा १ खेल बढी खेलेको छ ।

खेलको २०औं मिनेटमा गोल गर्दै स्वारेजले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ मा १-० ले पछाडि परेको सेल्टा भिगोका लागि फ्योदोर स्मोलेभले ५०औं मिनेटमा बराबरी गोल फर्काए । स्वारेजले ६७ औं मिनेटमा पुनः गोल गर्दै बार्सिलोनालाई दोस्रोपटक अग्रता दिलाएका थिए । तर अन्तिम अवस्थासम्म बार्सिलोनाले अग्रता जोगाउन सकेन । खेलको ८८औं मिनेटमा इयागो आसपासले गोल गर्दै खेल फेरि बराबरीमा ल्याए र बार्सिलोना बराबरीमा चित्त बुझाउन बाध्य बन्यो ।

बराबरी पछि बार्सिलोना ३२ खेलबाट ६९ अकं जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको रियाल मड्रीडको ३१ खेलबाट ६८ अंक छ । यस्तोमा अब रियाललाई आगामी खेल जित्दै स्पष्ट २ अंकको अग्रताका साथ तालिकाको शीर्ष स्थानमा आउने मौका रहेको छ ।

सेल्टा भिगो भने ३२ खेलबाट ३४ अकंसहित तालिकाको १६औं स्थानमा यथावत् छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।