असार ८ – कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो १ आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समाचार हिजो आज आउन थालेका छन ।

यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ। लकडाउन सुरु भए देखि ७५ दिनसम्मको अबधिमा नेपालमा एक हजार २ सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ। जुन दैनिक सरदर १६ जना पर्न आउँछ ।  तर आत्महत्या अहिलेको मात्र समस्या भने होइन ।

नेपालमा पनि आत्महत्या पहिला देखि नै जनस्वास्थ्यको एउटा ठुलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएकोछ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८-१० प्रतिशतले वृद्धि हुँदै गइरहेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा ५,७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए। यसरी हेर्दा नेपालमा प्रत्येक दिन सरदर १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको सरकारी आँकडाले देखाउँछ।

प्रकृतिक बिपत्ति पर्दा, रोग ब्याधि फैलिदा जस्ता असहज र जोखिम पुर्ण अबस्थामा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम भने हुन्छ ।

त्यसैले आत्महत्या लकडाउन पछिको मात्र समस्या हो । लकडाउन पछि भयावह भएको छ , पहिले यस्तो थिएन भन्ने बुझाई सरासर गलत हो । लकडाउन भन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने खासै फरक देखिदैन। तर बढदै जाने संकेतहरु भने देखा पर्न थालेकाछन ।
बालबालिकामा भने यो बिचमा आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ। जुन दुखद हो । आत्महत्या एकदमै संबेदनसिल बिषय हो  आत्महत्याको समाचारलाई अतिरन्जित र सनसनी पुर्ण बनाउनु हुदैन । यसले समाजमा झनै नकारात्मक असर पुर्‍याउछ। डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढछ । बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् ।

आत्महत्या नेपालको मात्र समस्या पनि होइन । यो बिश्वकै साझा समस्या हो। विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्माहत्या गर्छ भने प्रत्येक ३ सेकेण्डमा १ जनाले आत्महत्याको प्रयास गर्ने गर्दछ । एक आत्महत्या हुँदा पच्चिस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भिर रूपमा सोचेका हुन्छन्। प्रत्येक वर्ष बिश्वमा सरदर ८ – १० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारी लगायतका कारणहरूबाट हुने मृत्यु भन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढि आत्महत्या गर्ने गर्छन । तर आत्महत्याको प्रयास भने पुरुषमा भन्दा महिलामा बढि देखिन्छ ।

प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । “मर्ने कसैको रहर हुँदैन” तर किन कोहि ब्यक्ती आत्महत्या गरेर आफ्नो जिवन आफै समाप्त पार्न खोज्छन रु आत्महत्याको अवस्थामा पुगेको बेला पक्कै पनि ब्यक्तिले आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नु बाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । उ चरम निरासामा डुबेको हुनसक्छ ।

आत्महत्या गर्ने अवस्थामा पुग्नुको पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्याधिक जाँड, रक्सी, लागूँ पदार्थको सेवन तथा कडाखालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।

व्यक्तिले आत्महत्या आफ्नो ब्यक्तिगत कमजोरीका कारण गर्ने नभएर आनुवंशिक, मनोवैज्ञानिक, सामाजिक, साँस्कृतिक तथा अन्य जोखिमका तत्त्वहरूको संयुक्त प्रभावका कारण हुने गर्दछ ।

धेरै जस्तो केशमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणको रूपमा लिनुपर्दछ ।
जसरी कुनै कुनै शारीरिक रोगमा केही ब्यक्तिहरु उच्च जोखिमा हुन्छ । त्यसै गरि केही ब्यक्तिहरु मानसिक रोग र आत्महत्याको हिसाबले केहि उच्च जोखिममा हुन सक्छन ।

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरक रुपमा लिन्छ । फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई पुर्ब जन्मको पाप र अपराध ठान्छ । देबि देवता कुल देवता बिग्रेको भन्छ । आत्महत्या गर्नेलाई समाजले पानी मरुवा, लाछीको उपमा दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने अगति परिन्छ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म गरेको पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाई धारणा र सोचमा परिवर्तन आउन आवश्यक छ ।

“हरपल मरीमरी बाँच्नु भन्दा त एकैपलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ” सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आफ्नो आत्महत्याको सोच, निर्णय र विचारमा परिवर्तन आउनु सक्छ। त्यो थोरै समयमा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईले कसैलाई गर्नु भएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।

संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ , मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा टुवाँलो लागेको जस्तो मात्र भएको हो । धैर्य गरियो भने एक दिन त्यो टुवाँलो फाँट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ । गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भुललाई प्रायश्चित गर्ने मौका समेत पाइदैन ।आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चित्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ ।

(लेखकः गोपाल ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन्)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।