नेपाल र इजरायलबीच कूटनीटिक सम्बन्ध कायम भएको ६० औं वर्षगाँठका अवसरमा आज प्रधानमन्त्री के पी शर्मा ओली र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिफोन मार्फत एक आपसमा खुशी एवं शुभेच्छा साटासाट गरे । दुबै प्रधानमन्त्रीले विगत ६० वर्षको अवधिमा दुई मुलुकबीच विकसित द्विपक्षीय सम्बन्धप्रति सन्तोष प्रकट गर्नुभयो र यो सम्बन्धलाई आगामी दिन थप मजबुत बनाउन सहमति जनाए ।

द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा दुबै मुलुकको बढ्दो सहभागिता, जनस्तरमा कायम सम्बन्ध र आपसी सहयोगका विषयमा दुबै नेताले उच्च मूल्यांकन गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।  उपयुक्त समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान गरी द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न पनि दुबै नेता सहमत भएको बताइएको छ  ।

इजरायलले थुप्रै क्षेत्रमा अग्रता हासिल गरेको उच्चकोटिको प्रविधिबारे दुबै नेताले छलफल गरे । प्रधानमन्त्री ओलीले नेपालले प्राथमिकतामा राखेका कृषि र स्वास्थ्य जस्ता क्षेत्रमा इजरायलले हासिल गरेका ती विशेषज्ञता हस्तान्तरण हुनुपर्ने आवश्यकतामा पनि जोड दिए ।

उनले दुई मुलुकबीचको सम्बन्धको सेतुको रुपमा इजरायलमा रहेका नेपाली नागरिकको हेरचाहमा इजरायली सरकारले देखाएको तदारुकताको प्रशंसा पनि गरे । उनीहरुबीच कोभिड १९ को महामारी र यसले सर्वसाधारण जनताको आर्थिक–सामाजिक जीवनमा पारेका असरहरुबारे पनि वार्ता भएको थियो ।

कोरोना विषाणुलाई नियन्त्रणमा लिन र जनसाधारणको जीवन रक्षा गर्न नेपालले अपनाएका उपायहरुबारे प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीलाई जानकारी दिएका थिए भने कोरोना विषाणुको फैलावट रोक्न इजरायलले उठाएका कदमहरुको प्रशंसा पनि गरेका थिए । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।