हेटौंडा । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने मकवानपुरमा त्यति हुन सकेको छैन । स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग हेटौंडामा बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा र भारतीय मेवाले नेपाली बजारमा कब्जा जमाएका कारण पूँजी पलायन रोक्न हेटौंडा १८ हर्नामाडी ठुलोदमारको कालिका उद्यमी मेवा पकेट समुहले मेवा खेतिको शुरुवात गरेका हुन । पहिलो पटक गरिएको खेती सफल भएमा आगामी वर्षदेखि मेवा खेती विस्तार हुने किसान समुहले बताएका छन् ।

हेटौंडा उपमहानगरपालिकाका हर्नामाडीका कुमार महत, जिवन अधिकारी, रविन श्रेष्ठ, अनिल गोपाली, गणेश महत लगायतका युवाहरुको समुहले करीब २८ लाख रुपैयाँको लगानीमा दुई बिघा जमीनमा मेवा खेती शुरु गरेका हुन् । ५० प्रतिशत कृषि ज्ञान केन्द्र चितवनको अनुदान सहित ५० प्रतिशत आफ्नै लगानि रहेको बताईएको छ । दुई बिघा जमिनको लागि करिब सात हजार विरुवा रौतहटबाट मगाईएको छ । करिब रोपेको ६ महीनामै फुल फुल्न थाल्ने भएकाले नौ महिनामा फल लाग्ने समुहका सदस्य जिवन अधिकारीले जानकारी गराए ।  ‘लगन भए स्वदेशमै सुन फलाउन सकिन्छ’ भन्ने भनाइलाई अङ्गीकार गर्दै ६ वर्षभन्दा बढी बैदेशिक रोजगारीमा जिवन बिताएका समुहका सदस्य गणेश महतले बताए । नेपाली बजारमा ९५ प्रतिशत ओगटेको भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले हामी नेपालीलेनै केहि गर्नुपर्छ भन्नेका साथ यस व्यवसायको सुरुवात गरेको महतले जानकारी गराए ।

एउटा मेवाको बोटबाट कम्तीमा ५० र बढीमा एक सय किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले यो व्यवसाय फाइदाजनक रहेको जानकारी दिँदै समुहका सचिव कुमार महतले भने, प्राङ्गारिक मलबाट खेती शुरु गरिएकाले यहाँबाट उत्पादित मेवा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । मेवाखेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो उनले भने, “जण्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने औषधीय गुणसमेत भएको कारण बजारमा यसको बिक्रीको कुनै समस्या नै हुँदैन उनले विश्वासका साथ भने ।

मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा समुशले सोचविचार गरेरै मेवाको व्यावसायिक खेती शुरु गरेको बताउँदै महतले भने, “यो वर्ष दुई विघा जमिनमा लगाएका छौ, राम्रो भयो भने अर्को साल थप्ने तयारी गर्छोै । माटो मेवा खेतीका लागि उर्वर रहेको बताँउदै उनले दोमट र चिम्ट्याइलो कालो माटोमा फस्टाउने भएकाले मेवाखेती हुने बताए । उनले सरकारले मुलुकलाई समृद्ध बनाउने उद्देश्यअनुरुप कृषिमा करोडौँको बजेट लगानी गरिरहेको हुँदा व्यावसायिक रुपमा मेवाखेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप कृषि ज्ञान केन्द्रले अनुदान ल्याएको उनले बताए ।  करिब एक हप्तादेखि समुहका युवा मेवा खेतिका लागि जुटीरहेका छन् । पहिलो पटक मेवा खेति हुने भएको कारणले समुहका युवा सहित यहाँका स्थानिय बासिन्दा समेत उत्साहित छन् । बुधबार बागमती प्रदेशका कृषि मन्त्री दावादोर्जे लामाले मेवाको विरुवा रोपेर यस खेतिको औपचारिक उद्घाटन गर्ने भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।