हेटौंडा,१९ जेठ ।

संघीय परिषद अध्यक्ष श्रद्धेय डा. बाबुराम भट्टराई ज्यू, संघीय अभिवादन ।
आफ्नो अविभावकलाई अपमान, बेइज्जती र गालीगलौज गर्दा कुनचांही सन्तानको मन नदुख्ला ? त्यसैगरी हाम्रा श्रद्धेय नेताहरुलाई निकृष्ट शब्दले घोर अपमान, बेइज्जती र गालीगलौज गर्दा कुनचांही कार्यकर्ताहरुको मन नदुख्ला ? संचारको विकसित प्रविधिले संसारको कुन कुनामा के हुंदैछ भन्ने सूचना प्रत्येक व्यक्तिमा सेकेण्ड भरिमा पुग्ने गर्दछ भने नेपालको कुरा नेपाली जनताले थाहा नपाउने कुरै भएन । कुरा के भने विगत केही दिनदेखि सामाजिक संजालहरुमा हाम्रा पार्टीका शीर्ष नेताहरुलाई जथानाम गालीगलौज गर्दै अपमानजनक शब्दको तीखो वाण हानीरहेको देखियो । सहनशील क्षमता धेरै भएर हो वा जवाफ दिने उपयुक्त समय नआएर हो, वा जे देख्यौ त्यही भन्यौ । हाम्रो भन्नु केही छैन भनेर हो, हाम्रो नेताहरुबाट कुनै सटिक प्रतिकृया आएको देखिएन । तर हामीलाई भने छटपटी लागेको छ ।

अध्यक्ष ज्यू, भारत हाम्रो अत्यन्तै असल छिमेकी देश हो । जान्नैपर्ने कुरा के भने कुनैपनि देश आफैमा नराम्रो हुदैन । देश राम्रो वा नराम्रो हुनुमा त्याहाँको शासकको नीति र व्यवहारमा भर पर्दछ । नीति खराब छ भने त्यस्ता छिमेकी हुनुको कुनै अर्थ रहदैन । त्यस्ताले अरुलाई सधैं दुख दिइरहन्छ । अनेकौं जालझेल गरेर सताई रहन्छ । अहिलेको लिम्पियाधूरा, लिपुलेख, कालापानीको विवाद त्यसैको परिणाम होइन र ? दार्चुला बाहेक ताप्लेजुङ देखि कन्चनपुरसम्मको २२ जिल्लाको करिव २०,००० हेक्टर जमीन यसअघि नै खाइसकेको तर नक्शामा सार्बजनिक नगरिएको हुँदा नेपालीहरु चुपो लागेर बसेका छन् । लिम्पियाधूरा, लिपुलेख, कालापानीको भूमी अघोषित रुपमा अतिक्रमण गरिएपनि राजनैतिक नक्शामा पारिएको थिएन । वि.सं. २०७६ साल कार्तिकमा भारतले त्यो अतिक्रमित भूमी राजनैतिक नक्शामै सार्बजनिक गरेपछि यो विवाद सुरु भएको थियोे । अझ वि.सं. २०७७ बैशाखमा त लिपुलेख हुँदे चीनको मानसरोवर जाने बाटे नै बनाई उद्घाटन गर्नसम्म भ्याए । यो भन्दा घृणित काम के हुन सक्छ ?

पूर्वमा टिष्टा र पश्चिममा सतलज÷सर्यू नदीसम्म गोरखालीहरुले जितेको ठाउंहरु नेपालको भूभाग थियो भनेर अझैपनि भारतमा पढाई हुन्छ । सन १८१५ मा अँग्रेजसंगको युद्धको समयमा गोरखाली सेनाले खाने गरेको खानेपानीको मुहान अँग्रेजले षडयन्त्रपूर्वक बन्द गरेपछि पानी नै खान नपाएको अवस्थामा गोरखाली सेना युद्ध मैदानबाट पछि हटनु परेको थियोे । तर अँग्रेजले यसलाई अँग्रेजको जीत, नेपालको हार भनेर घोषणा ग¥यो र यहि मौका छोपेर अंग्रेजले संझौताको प्रस्ताव ल्यायो । नेपालले नचांहदा नचांहदै पनि सन २०१६ मार्चमा सँझौता गर्न प¥यो । फलस्वरुप पूर्वमा मेची र पश्चिममा काली नदी सीमा तोकियो । काली नदी सीमा तोकेपछि काली नदीको मुहान लिम्पियाधुरादेखि पूर्वको लिपुलेख, कालापानी स्वतः नेपालको भनेर बृटिश सरकार आफैले प्रकाशन गरेको कैयन नक्शाहरु प्रमाणको रुपमा अझै देख्न पाइन्छ । सन १९६२ मा भारत र चीनको युद्धमा भारत हारेपछि भारतीय सेनाहरु भारत फर्कने क्रममा नेपालको कालापानी र लिपुलेखमा १८ वटा अस्थाई सैनिक क्याम्प बनाई बसेको थियो । तत्कालिन राजा महेन्द्रले ती सैनिक क्याम्प तुरुन्त हटाउन आदेश दिंदा भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुले कम्तीमा एउटा सैनिक क्याम्प रहोस नत्र कुनैपनि बेला चाइनाले अतिक्रमण गर्न सक्छ भनेर अनुरोध गरेपछि राजा महेन्द्रले असल छिमेकीको नाताले कालापानीमा एउटा अस्थाई सैनिक क्याम्प रहनदिई बाँकी १७ वटा सैनिक क्याम्प हटाएको थियो । आज त्यहि भूमीलाई मेरो भूमी भन्दै कालापानीदेखि पश्चिममा रहेको लिपुलेख र लिम्पियाधुरासमेत खान खोज्दैछ । हाम्रा श्रद्धेय नेताहरुलाई यत्ति जावो कुरापनि थाहा छैन त ? त्यतिमात्र होइन सन १९५० मा भारतसंग भएको सन्धिको धारा ८ मा त १९५० को सन्धि भन्दा पहिलेको सबै सन्धिहरु खारेज गरिएको भनेर स्पष्टै उल्लेख गरिएको छ । धारा ८ ले अंग्रेजको कारण नेपालको गुमेको टिष्टा, सतलज नदी र दक्षिण तर्फको भूभागसमेत फिर्ता हुनेछ भनेको होइन र ? यस अर्थमा सम्पूर्ण नेपालीलाई विशाल नेपालको अभियानमा जुटाउनु पर्ने बेलामा हाम्रो पार्टीको राष्ट्रवादी नेताहरु विशाल नेपालको त कुरै छाडौंं, अतिक्रमित भूभाग फिर्ता देउ भन्न सम्म पनि नसक्ने ? कत्ति लाज मर्दो कुरा ! अतिक्रमित भूभाग नेपालको हो भन्ने प्रमाण हज्जारौं छन् हामीसँग । भारतले पनि देखाओस आफ्नो प्रमाण अनि बसौं वार्तामा । तर भारत तैयार छैनन् । यस विषयमा हाम्रा नेताहरु भारतलाई किन दवाव दिन सक्नुहुन्न ? के तपाइहरुलाई नेपालको माया छैन ?

अध्यक्ष महोदय, नेपालको मै हुँ भन्ने नेताहरुको आन्द्राभूंडी भारतसंग गांसिएको कुरा हामीलाई पनि धेरथोर थाहा छ । भारतको चाकडी नगरी सत्ताको पगरी प्राप्त गर्नै नसक्ने मानसिक्ता बोक्ने दरिद्र नेताहरु, खोलानाला बेचुवा दलाल र देशको हलाल गर्ने नेताहरु नेपालमा धेरै छन्, त्यस्तालाई छानी छानी कार्वाही गर्न अब जनता सडकमा उत्रिने छन् । पहिचानसहितको संघीय लोकतन्त्र चाहने हामी सम्पूर्ण आदिबासी जनजाती, मधेशी, थारु, खस, आर्य, मुस्लिम, दलित, खान नपाएका, थिचिएका, मिचिएका गरिब, सर्बहारा, किसान, मजदूर, सीप र शिक्षा भाका तर रोजगार नपाई विदेशिनु परेका युवाहरु तथा साँच्चिकै देशभक्त राष्ट्रवादी बौद्धिक नेताहरु एकजुट हुनैपर्छ । हाम्रा सबै देशभक्त राष्ट्रवादी नेताहरु व्यक्तिगत स्वार्थको दरिद्र मानसिक्ताबाट माथि उठौं, कसैको करकापमा नपरौं, कसैको गुलाम नबनौं भन्ने अनुरोध गर्न चाहान्छु । किनकी सबैभन्दा ठूलो राष्ट्रियता हो, राष्ट्रिय स्वाधिनता हो र सार्बभौमसत्ता हो । जनता समाजवादी दलका नेताहरुलाई लाग्ने गरेको आरोप भनेकै भारत परस्त सोंच हो । नेपालको नून खाएर भारतको गुण गाउने अनि नेपालको भत्ता खाएर भारतको सत्ता जोगाउने खेल खेल्ने । नेपालको भूमी मिच्दा दीपावली मनाउने । कस्तो विडम्वना ?

अध्यक्ष महोदय, सत्य कुरा तीतो नै हुन्छ । एकाध नेता बाहेक जनता समाजवादी दलका नेताहरु अरु नेताहरु जस्तो देश बेचुवा, खोलानाला बेचुवा, घर भडुँवा, अपहरण, हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार जस्ता अलंकारबाट टाढै रहेको देखिन्छ । देश भन्दा कुनैपनि जातजाती, वर्ग, समुदाय, लिंग, धर्म, पेशा, संघ, संस्था, पार्टी, विधान वा ऐन कानून ठूलो हुँदैन । त्यसैले सबभन्दा पहिला देश बचाऔं । हाम्रो देशलाई दक्षिणी अजिंगरले खुट्टाबाट निल्दै आइसक्यो । उत्तरी ड्रयागनले टाउको समाती सक्यो । त्यतिमात्र होइन, एमसीसी नामको पश्चिमा बाघले रक्तनली नै छिनाउने दाउले घाँटी अठ्याउन खोज्दैछ । हाम्रा स्वाँठ नेताहरु भने स्वार्थ पूर्तिका लागि यिनै अजिंगर, ड्रयागन र रक्त पिपासु बाघसंग दोस्ती गर्नैमा व्यस्त छन् । हे भगवान ! यस्ता स्वाँठहरुको बुद्धि कहिले फिर्ला ?

अध्यक्ष महोदय, प्रधानमन्त्री ओली ज्यूले उहाँको व्यक्तिगत जीवनमा के के गर्नु भयो त्यो त थाहा भएन तर राजनीतिक रुपमा सिनुजस्तै डुङडुङती गन्हाई सकेको भएपनि सुनपानी छर्केर चोखिने दाउमा सबैभन्दा लोकप्रिय र महान काम गर्दै हुनुहुन्छ । त्यो महान काम हो नेपाल आमाको अस्मिता बचाउने प्रयास । नक्शासहित गुमेको भूभाग ल्याउने कोशिस गर्नु भएको छ उहाँले, जस्ले उहाँको जीवन भरिको पाप पखालिने छ । हामीलाई थाहा छ ओली ज्यूको एकल प्रयासले यो काम सफल हुँदैन तर यसको मतलब ओली ज्यूको यो प्रयास विफल पार्नुपर्छ भन्ने होइन । यस्तो सोंचले तराई, पाहाड, हिमाल कहिल्यै जोडन सकिदैन र हाम्रो पार्टीले यस्तो सोंच कहिल्यै लिनेछैन भन्ने विश्वास लिएको छुु । केही पाउन केही त गमाउनुपर्छ भन्ने बारे अध्यक्ष ज्यूलाई मैले भनिरहनु नपर्ला । यतिखेर आरोप प्रत्यारोपमा जानु भन्दा सानातिना मुद्दालाई थाती राखेर भएपनि नेपाल आमाको अस्मिता बचाउने अभियानमा इमान्दारीताका साथ लाग्नुपर्छ । राष्ट्र र राष्ट्रियताको लागि यो संगीन घडीमा हाम्रो पार्टीलाई अघि बढाउन सकिएन भने हाम्रो पार्टी र हाम्रो नेतालाई कसैले पत्याउने छैन । हाम्रो नेताहरुको टाउकोमा लागेको भारतीय दलालको बिल्ला कहिल्यै हट्ने छैन र सधैंका लागि नेपाली जनताको अपमानको भागिदार हुनु पर्नेछ साथै तराई, पाहाड, हिमाल जोडने हाम्रो अभियान कहिल्यै पूरा हुनेछैन ।

अन्त्यमा, राजनीतिमा कोही पनि स्थायी दुश्मन वा शत्रु हुँदैन । त्यसैले खराब काम र असल काम छुट्याउने बानी सबैले बसाल्नु पर्छ । असल कामलाई असल नै भन्नु पर्छ, चाहे त्यो हाम्रो दुश्मनले नै गरेको किन नहोस । यतिखेर ओलीले देशभक्त तथा सच्चा राष्ट्रवादी नेताले गर्ने काम गर्नुभाको छ । शदियौंदेखि हाम्रा गद्दार राजनेताहरुले गुमाएको भूमी फिर्ता ल्याउने प्रयासमा जुटीरहेको छ । स्वाभिमानी नेपालीको गरिमालाई उच्च बनाउने र हेपाहा प्रवृतिहरुलाई चुनौती दिने जमर्को गरिरहेको छ । चाहे त्यो उत्तरको होस वा दक्षिणको । यस्तो सहासिलो काममा दलगत स्वार्थ त्यागेर हामी सबैले जोडदार सहयोग गर्नुपर्छ । वि.सं. २०७७ जेष्ठ ७ गते लिम्पियाधूरा सहितको नक्शा संसदबाट जारी भैसकेको र सो नक्शा नेपालको राष्ट्रिय निशाना छापमा राख्न संविधान संशोधन गर्न आवश्यक भएको हुँदा राष्ट्रिय सहमतीको लागि आव्हान गर्दा हामीले सहमती नजनाउनुको कुनै तुक रहदैन । हामीले समर्थन नगर्दैमा राष्ट्रिय निशाना छापमा नेपालको सँशोधित नक्शा नरहने होइन । हाम्रो असहमतीले भारत खुशी हुनेछ भन्ने सोंच लिन हुँदैन बरु हाम्रो सानो गलतीले नेपाली जनताले विश्वास गर्न छाडने छन् । त्यसैले पहिला भूमी जोगाऔं, नेपालको राष्ट्रियता जोगाऔं अनि गरौंला राजनीति । हाम्रो नेतागण सबैलाई अनुरोध छ ।

पाठक वर्गहरु, चित्त बुझे शेयर गरिदिनु होला, चित्त नबुझे मनमा लागेका कुरा निर्धक्कसंग कमेन्ट गर्नु होला । धन्यवाद ।

बाधार्थः
केन्द्रिय समिति अध्यक्ष श्री उपेन्द्र यादव ज्यू ।

डा. डी.बी. मोक्तान (पिएचडी)
केन्द्रीय विज्ञ परिषद तथा केन्द्रीय सदस्य
मितिः २०७७।०२।१८


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।