काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ। सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन्।

सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो।

नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रिन लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यसले बढी सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्ने बताइएको छ।

भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीलाई यसले ठूलो नोक्सानी पार्न सक्ने विज्ञहरूको भनाइ छ। यो फट्यांग्राले मुख्य गरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन(एफएओ) ले चेतावनी दिएको छ।

एफएओका अनुसार एक वर्गकिमिमा फैलिएर बस्ने एउटा बथानमा चारदेखि आठ करोड फट्यांग्रा हुन्छन्। एक दिनमा फट्यांग्रा १ सय ३० किमिसम्म बथान बनाएर हिँड्न सक्छन्। फट्यांग्राको एउटा बथानले एक दिनमा ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञले बताएका छन्। यो एक दिनमा ५ सय किमिसम्म बथानमै उडान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा ओर्लिन्छ। दक्षिण एसियामा यो फट्यांग्राका लागि यतिबेला अनुकूल मौसम भएको विज्ञहरू बताउँछन्।

छिमेकी मुलुक भारत र पाकिस्तान यो फट्यांग्राबाट आफ्ना खाद्यान्न बाली जोगाउन युद्धस्तरमा रोकथामका उपायको खोजीमा लागिसकेका छन्। नेपालमा पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्भावित खतरालाई ध्यानमा राख्दै पूर्व तयारीमा जुटिसकेको छ। मन्त्रालयले यसको रोकथाम र समस्या समाधानका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।

यो फट्यांग्राले सम्पूर्ण कृषि बालीको बोटबिरुवा, बाली, फूल, डाँठ, डाँठको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजक हुमागाईंले बताए।

उनका अनुसार फट्यांग्राबारे विस्तृत जानकारी उपलब्ध गराइदिन भारत सरकारको नेसनल फार्म प्रोटेक्सनसँग पत्राचार गरिएको छ। ‘हामीसँग यो किराको विषयमा विस्तृत जानकारी छैन,’ हुमागार्इंले भने, ‘कुन परिमाणमा र कुन क्षेत्रबाट प्रवेश गर्न सक्छ। यसले कति परिमाणमा नोक्सानी गर्न सक्छ। यसको विशिष्ट गुणबारे आवश्यक जानकारी उपलब्ध गराइदिन भारतीय सरकारसँग पत्राचार गरेका छौं।’ यसबाहेक एफएओसँग पनि आवश्यक सहयोगका लागि पत्राचार गरिएको छ।

यसबाहेक सरकारले नेपाली प्राविधिक टोलीलाई अमेरिका र अप्रिकाका विज्ञहरूबाट आवश्यक तालिम उपलब्ध गराउन पनि तयारी गरेको छ। तालिमप्राप्त प्राविधिक टोलीको सहयोगमा नेपालका किसानलाई यो फट्यांग्राको प्रकोप रोकथामका लागि आवश्यक जानकारी उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।

यो फट्यांग्रालाई मालाथिन, फेनिट्रोथियनसहित अग्रनोफस्फेट समूहका साथै नेपालमा दर्ता भएको केही विशिष्ट प्रकारको विषादीबाट नियन्त्रण गर्न सकिने उनले बताए। कोरोना भाइरसको प्रकोप सुरु हुनुअघि केही साताअघि अफ्रिकी महादेशका केन्या, सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथियोपियालगायतमा खाद्यान्न बालीमा एक प्रकारका फट्यांग्राले क्षति पुर्‍याएको समाचार प्रकाशन भएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।