–रामकुमार एलन ,त्यति धेरै गम्भीर कुरा गर्न मन लागेको छैन, किनभने ७१ दिने लकडाउनमा छौँ, केहीदिनमा ७१ दिन पुगेपछि फेरि लकडाउन कति दिन थपिने हो, थाहा छैन । २ जना संक्रमित हुँदा सुतेर बस्यौँ, कति दिन सहने भनेर केही काम गर्न थाल्यौँ, संक्रमित मर्न थाले, बढ्न थाले । अब त हामी सबै कोरोनाका छिमेकी भएका छौँ । कुनै पनि बेला हामीसम्म आइपुग्न समय लाग्दैन । त्यो भन्दा बढी त हामीलाई सामाजिक सञ्जाल र समाचारप्रदायकहरुले औषधि खाने बनाइसकेका छन् ।

यो अवधिमा हामीले के के ग¥यौँ त ? धेरैजसो समय केपी ओली सरकारको विकल्प छैन भनेर तर्क गरेर बस्यौँ । स्वयम् केपी ओलीले नछाडेसम्म कसैले पनि ओली सरकार ढाल्न सक्दैन भन्ने सामान्य ज्ञान पनि हरायो नेता कार्यकर्तामा । यसको असर प¥यो जनतामा । यसको कारण हो प्रशिक्षित र दीक्षित होइन चाकरी गर्ने पंक्ति बनाएका थियौँ पछिल्लो १५ वर्षमा निकै दुःख गरेर । जोर अध्यक्ष प्रणालीको पार्टीमा अर्का अध्यक्षले भेटे भने पनि सरकार ढाल्ने बैठक भनेर सबैभन्दा पहिला सूचना दिने त्यहीँको सचिवालय र त्यसलाई फूलबुट्टा भरेर बजारु बनाउने अर्को सचिवालयबाहेक कसैलाई सरकार ढल्नु र नचल्नुमा लेनादेना छैन ।

लकडाउन किन गरिन्छ ? आफ्ना जनतालाई सुरक्षित राख्न पूर्व तयारी गर्न लकडाउन गरिन्छ । यो अवधिमा स्वास्थ्यकर्मी सबैभन्दा पहिलो निधि हो । हाम्रा कति स्वास्थ्यकर्मी कोरोनासँग लड्न सक्ने बनायौँ । सेता कपडा लगाएका सबै कोरोना फाइटर हुन सक्दैनन् । उनीहरुले बिदा नभनी काम गरिरहँदा सबैभन्दा पहिला त उनीहरु नै सुरक्षित हुनु जरुरी छ । त्यसमा हामीले कति गर्न सक्यौँ । बागमती प्रदेश सभाको १३ जेठको बैठकमा भरतपुरमा प्रदेश सरकारको १ करोड लगानीको कोरोना उपचार कक्षमा भएको बदमासीबारे प्रदेश सांसदहरु नै प्रश्न सोधिरहेका थिए । यसमा आउने जवाफ हुनेछ : ‘त्यस्तो केही भएको छैन ।’ तर उसले यो अवधिमा गरेको प्रगति विवरण जनतालाई दिनु पर्छ कि पर्दैन ? त्यो लगानी कतै गगन थापाको बाख्रापालन जस्तो पो कि ?

लकडाउन भनेर जनताका लाखौँ छोराछोरीलाई घरमा राखिएको छ । तिनले टिकटकमा बुबा, श्रीमान, आमा, श्रीमती, दिदीबहिनीका दौरासुरुवाल, सारीचोलो, मखमलीका वस्त्रदेखि बक्सरसमेत देखाइसके । उनीहरुसँग त्यो भन्दा अरु विकल्प नै छैन । बाहिर निस्कन दिइएको छैन । तरकारी किन्न जानेहरु समातिएका छन्, क्रसर उद्योगीहरु मान्छे मारुँला झैँ ट्रिपर दौडाइरहेका छन्, सरकार कसको हो ? जनता उत्तर खोज्ने कि सरकार, विलखबन्दमा छन्, अझ अर्को कमाण्डो फोर्स छ, उसको रवैया मानवमैत्री बन्न सकेन । किनभने उनीहरुसँग पहिला लकडाउन कस्तो हुन्थ्यो भन्ने अनुभव थिएन । केटाहरु जिस्कन्छन् नि, जन्ती पो गएको त विवाह त गरेको थिइनँ नि ! कमाण्डो फोर्स त्यस्तै छ । नरिसाउनु होला ।

हामीलाई कति सेनिटाइजर चाहिन्छ ? हामीलाई कति पञ्जा चाहिन्छ ? अथवा दैनिक कति गिलास बेसारपानी पिए हुन्छ ? हामीसँग बेसार छ त ? मकवानपुरका १ सय ४ वडामा भारतसहित कति देशबाट मान्छे आएका छन् र आउने तयारीमा छन्, तिनलाई दशैँसम्म हामी कसरी टिकाउन सक्छौँ ? जस्तो कैलाश गाउँपालिकाले नामटारस्थित स्कुलमा २ सय जना जति विदेशबाट आउनेलाई राख्ने व्यवस्था गर्दैछ । गाउँ आएकालाई बाटो खन्न लगाएर चामल दिँदैछ । उत्पादनसँग जनतालाई जोड्ने के छ वैज्ञानिक कार्यक्रम ? मीठा कार्यक्रम र नाराले मात्रै जनताको भोक मेटिदैँन, कोरोनासँग लड्ने त १२ हात परको कुरा भयो ।

पहिला त जनताको भोक मेटाउँ । त्यसपछि कोरोनो त्रास हटाउँ । आत्मबल बढाउन पहल गरौँ । यहाँ त ज्वरो आए अस्पतालका जाँच नहुने । बाटो हिँड्दा अपमान गरिने र धनीमानीलाई सबै सुविधा दिने काम भइरहेको छ । जेठ १५ गते नीति तथा कार्यक्रम आउनै पर्ने । प्रदेश सभाहरु चल्नै पर्ने अनि स्कुल र कलेजमा महिनौँ पढ्न नपाएकाले चैँ आफ्नो कुरा राख्न पनि नपाउने ? प्रदेश सभा २ महिना सार्दा के बिग्रन्छ ? असार मसान्तमा सक्नु पर्ने बजेट भदौसम्म सार्दा के बिग्रन्छ ? विद्यार्थी, बालबालिकाका लागि जुम देखाएर १२ महिनाको फि असुल्न दिइयो भने उनीहरुमा कस्तो असर पर्छ ? त्यही ठूलो हलमा सांसदहरु खचाखच बसेका छन् ।

सेनिटाइज्ड गरेर स्कुल कलेज चलाउन चैँ कुनै योजना छैन । यो सरकार कसको हो ? बाटो बनिरहेकै छ, जंगलका काठ काटिइएकै छ । बगरका ढुंगामुडा बेचिएकै छ ? वश स्कुल कलेजका विद्यार्थीले मात्र कोरोना त्रास बोक्नु पर्ने हो ? उनीहरुलाई घर बस्दा भएको ‘बोर’को क्षतिपूर्ति सरकारका नीति तथा कार्यक्रममा केही पनि देखिन्न । भोलिका नियमित मतदाता, प्राविधिक जनशक्ति यिनै हुन्, ती काठ व्यापारी, ठेकेदार र क्रसर मालिकहरु होइनन् । उनीहरुले रोडमा देखाएको गुण्डागर्दी क्षम्य हुनै सक्दैन । लेख्दालेख्दै याद आयो, काठमाडौंमा लकडाउनमा ट्रिपरले चेपेर ड्युटीका प्रहरी जुनियर अधिकृत मारिए । अरुबेला कति दौडालाउन् । लकडाउन भनेर मूल्य उस्तै बढाइएको छ । अब बजेट भाषणपछि अरु बढ्ने छ । व्यापारीले कालो बजारी शुरु गरिसके ।

र, अन्त्यमा भन्नैपर्छ, आफ्ना वडाका जनता बाँचे हामी नेतृत्व हुने हौँ । उनीहरुकै सुखदुःखमा हाम्रा जनप्रतिनिधि कसरी प्रस्तुत भएका छन् ? कर्मचारीको पिछलग्गु भएर हिँडेको पनि देखिएको छ । कम्तीमा यो दुई महिनामा टिकटक र फेसबुकमा आएको एउटा तस्बिर र भिडियोले भन्छ : परेपछि सक्छन् नेपालीले । त्यो भिडियो हो ः कपाल काटेको । महिला, पुरुष सबै कपाल काट्न त जान्ने भएका छन् । लकडाउनले दिएको उपलब्धी हो यो । कुरा काट्न छाडेर कपाल काट्न जान्ने भए । यसैगरी गाउँ आएको पुस्तालाई कृषि उत्पादनमा लगाउँ । भोकै मर्न पर्ने अवस्था नहोस् । कुरा काटेर बस्दा रोगी भइन्छ । कपाल काटेर त बाँच्न सकिन्छ नि ! मकवानपुरमै मात्र एक हजार कपाल काट्ने छन्, तिनमा ४ सय ५० पनि मकवानपुरका छैनन् । तथ्य र गणितमा आधारित भएर वैज्ञानिक तर्क गरौँ । कुरा त सिंहको स्यालले पनि काट्छ भन्छन् लोक कथाहरुमा ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।