बन्दाबन्दी भएको दुई महिना भयो । यो अबधिमा साबधानीका साथ निरन्तर काममा लागेको छु । खासगरी यस्तो महामारीका बेला खटिएर काम गर्ने र नचाहिँदा अनेक आलोचना सुन्ने बानी मेरो छैन । यस्तो बेला नचाहिँदा कुरा सुनेर बस्नुभन्दा मानवीय सेवामा लाग्नु नै उत्तम हुन्छ । चाहे भूकम्प र बाढीपहिरोका बेला होस्, चाहे कोरोना संक्रमण नै किन नहोस् मैले टिमवर्क गरेर कामलाई नै प्राथमिकता दिएको छु । म लामो समयदेखि समुदायमा प्रत्यक्ष रुपमा जोडिएर जनताका आाधारभूत आवश्यकता, पीरमर्का र समस्याहरुलाई बिश्लेषण गरेर काम गर्ने मान्छे हुँ । र, नतिजामा बढी विश्वास गर्छु । कोभिड संक्रमणको यो दुई महिने अबधिमा कैलाश गाउँपालिकामा हामी हत्तारिएका छैनौँ, सुझबुझका साथ काम गरिरहेका छौँ ।

बन्दाबन्दीमा रोकिएका नागरिकहरुलाई एक दर्जन बसको व्यवस्था गरी कैलाश, राक्सिराङ र मनहरीका समेत केही नागरिकहरुलाई बन्दाबन्दीका बेला आफ्नै नेतृत्वमा ल्याउने काम गरेँ । यो काममा सबै जनप्रतिनिधिहरु, अझ हरेक वडाका वडाध्यक्षहरुले आफ्ना वडाका नागरिकहरुको सूचि तयार गर्नुभयो । कर्मचारीहरुले रातदिन खटिएर फलो अप गर्नुभयो । हामीले त्यस किसिमको काम गर्दा नागरिकहरु पनि खुसी हुनुभयो भने हामीलाई पनि कामप्रतिको सन्तुष्टि मिल्यो ।

राहतमा नौलो प्रयोगः
त्यसपछि गाउँमा अर्काे समस्या थपियो । छिमेकी गाउँपालिकाहरुले भसक्कै राहत बाँडेछन् । यताउता सबैतिर राहतको कुरा सुरु भयो । मलाई रातदिन फोन आएर हैरान भएँ । राहत कहिले आउँछ भन्नेहरु अधिकाँश चाहिँ मध्यम बर्गीय मान्छेहरु थिए । खानै नपुगेर छाक बसेकाहरुको अलिक कम फोन आयो । बाटोघाटो जताततै हिँड्दा राहतकै कुरा भयो । अरु गाउँपालिकातिर बितरित राहतको चामल मिठो नभएकाले जाँड पकाएको पनि सुनेको थिएँ । सुनको सिक्री लाउने र आइफोन बोक्नेहरु पनि राहत थाप्न गएको भनेर समाचारहरु आइरहेका थिए । मलाई त्यसरी मनलाग्दी हिसाबले राहत बाँड्दा राहत पाउनैपर्नेहरुप्रति अन्याय होला कि भन्ने लाग्यो । मैले मेरो टिमसँग समन्वय गरेँ । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, अरु कर्मचारी टिम, कार्यपालिका परिवार सबैसँग परामर्श गरेर काममा जोडिएर मात्रै खाद्यान्न दिने भन्ने सल्लाह भयो ।

त्यसपछि हामीले कार्यविधि पारित ग¥यौँ । कार्यविधिमा एक परिवारका एकजना मान्छेले अनिबार्य श्रम गर्नैपर्ने र त्यसको हिसावकिताव र हाजिरी राखेर खाद्यान्न दिनेगरी कार्यविधि निर्माण गरेर अघि बढ्यौँ । अहिले सोही बमोजिम १० वटै वडामा गरी ९२ वटा साना योजनाहरुमा गाउँलेहरु काम गरिरहेका छन् । बाटो बनाउने, ढल खन्ने, जाली भर्ने जस्ता कामहरु भइरहेका छन् र, काम गर्नेहरुले राहत पाएका छन् । यसले देखायो भने काम गर्नेले खान पाउँछन्, दलाली गरेर, धम्क्याएर वा छक्याएर खानेहरुलाई सरकारले पनि नपाल्दो रहेछ भन्ने हामीले मज्जाले बुझाउन सक्यौँ । अहिले धमाधम काम गर्ने र सोही बमोजिम ज्याला बाँड्ने काम भइरहेको छ । ज्यालामा पनि हामीले चामल मात्र राखेका छैनौ, चामल ज्यालाबापत हो भने दाल, तेल, नुन, बेसार, मसला चाहिँ अतिरिक्त हो । यो कार्यक्रम यति प्रभावकारी बन्यो कि, यसले सबैप्रति न्याय भएको छ । यही मोडलको कार्यक्रमका बारेमा यतिखेर अरु गाउँपालिकाहरु पनि सोचविचार गर्दैछन् भने जिल्ला कमाण्ड पोष्टमा पनि यो कार्यको चर्चा भएको छ ।

त्यसो त कैलाश गाउँपालिकामा रहेको बिपद् व्यवस्थापन समितिमा रहेका सबै राजनीतिक दल र अन्य पक्षहरुले पनि पारदर्शिताको शुभकामनासहित यो मोडलको कार्यक्रमका लागि प्रशंसा र शुभकामना दिएका छन् । यसकारण म यो कार्यक्रमसँग उत्साहित छु । कामका लागि खाद्यान्न कार्यक्रम अर्काे बर्ष पनि निरन्तरता दिने गरी योजना बनाइरहेको छु । यसले जनतालाई काम गर्न सिकाउनेछ । धम्क्याएर, झुक्याएर, गफ गरेर, अरुको कुरा काटेर र दलाली गरेर खाने बानी परेकाहरुलाई चाहिँ यो काम नराम्रो लाग्ला, तर त्यसको बिकल्पमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम आएको छ । यही पाराले हामीले बर्षेनी नागरिकहरुलाई जम्मा ३५÷४० दिन मात्रै खाद्यान्न दिएर काम लगाउने हो भने भोकमरीका कारण कोही पनि मर्नुपर्दैन वा अरु बिकल्प खोज्नुपर्दैन भन्ने लाग्छ ।

स्वास्थ्य सुरक्षा व्यवस्थापनका चुनौतिः
स्वास्थ्य सेवा तर्फ पनि उस्तै समस्या भोगियो । ज्वरो नाप्ने एउटा थर्मल गन समेत नहुँदा निकै छट्पटी भयो । प्रदेश सरकारले सामान किन्दै छ रे, पठाउँदै छ रे भन्ने समाचारहरु सुनियो । तर, कैलाश गाउँपालिकासम्म कहिल्यै पुगेन । एकहिसावले निराश भएर हिँडेको थिएँ । किन्न पनि नपाइने थर्मल गन । थर्मल गन नभए न क्वारेन्टाइन निर्माण गर्न सकिन्थ्यो, न त ज्वरो क्लिनिकमा जाँच गर्न गर्न सकिन्थ्यो । यत्ति नै बेला हामीकहाँ एउटा थर्मल गन प्राप्त भयो । हेटौँडा ११ नवलपुरका युवा साथी अन्जनप्रसाद पौडेलले हामीलाई थर्मल गन दिनु भएपछि बडो उत्साह जाग्यो । प्राप्त गरेकै दिन बाइरोडको बाटो भएर चुनियाँ हुँदै नामटार छिर्ने नाकामा ज्वरो जाँच्न नामटार स्वास्थ्य केन्द्रमा पोष्ट बनायौँ । कालिकाटारस्थित भवानी माविमा जसोतसो क्वारेन्टाइन पनि बनायौँ । पछि संघ र प्रदेशको भर नगरी गाउँपालिका आफैले स्वास्थ्य सामग्री किन्यो । म आफै सतर्कता अपनाएर काठमाडौँ पुगेर सामान ल्याएँ । त्यसपछि सीसीडीएन लगायत अन्य संस्थाहरुले पनि हामीलाई पर्याप्त स्वास्थ्य सामग्रीहरु दिनुभयो । र, स्वास्थ्य क्षेत्रमा पनि पूर्व तयारीका काम गर्न सफल भयौँ । समग्र स्वास्थ्यकर्मीको टोलीप्रति म आभारी छु ।

भारतबाट समेत नागरिकहरु ल्याइयो
लकडाउन दुई महिना पुग्दै गर्दा दिनानुदिन समस्या बढ्दो छ । मध्यम बर्गीय परिवार पनि अब आक्रान्त हुने अबस्था छ । कृषिमा लगानी गर्नु आजको आवश्यकता भइसक्यो । पशुपालन र कृषिले नै अब सबैखाले समस्यासँग मुकाबिला गर्न सकिन्छ भन्ने मैले ठानेको छु । यस्तै सोच्दै नयाँ योजनाहरुको निर्माण गर्दैगर्दा भारतबाट सीमानामा आएर बिचल्लीमा परेका नागरिकहरुलाई ल्याउनुपर्ने समस्या आइलाग्यो । बिपद्मा परेकालाई उद्धार गर्नु जनप्रतिनिधिको कर्तब्य नै हो । त्यसैले जेठ १० गते बिहान म मनहरीबाट कपिलबस्तुतिर हान्निएँ । लामो यात्रा, उस्तै गर्मीका बीच जब कपिलबस्तुको कृष्णनगर पुगँे, अबस्था बिकराल पाएँ । रेल र बसहरुले नाकामा ल्याएर छाडेका नेपालीहरुलाई सम्बन्धित स्थानीय तहहरुले ट्रिपरमा हालेर लगिरहेको समेत देखेँ । हामीले गाउँपालिकाको तर्फबाट दुईवटा एम्बुलेन्स प्रयोग गरेर नागरिकहरुलाई ल्याउने प्रयत्न गरेका थियौँ । कैलाश गाउँपालिकाका ९ जनालाई उद्धार गरेर ल्याउने तयारी गरेर गएको थिएँ, तर त्यहाँ त बकैया गाउँपालिकाका ३, थाहानगरका २ र मनहरीका १ जना पनि बिचल्ली अबस्थामा फेला पारेँ । भैरहवाको मैयादेवीसिस्थत चुलिया मावि क्वारेन्टाइन र सिद्धार्थ नगर नगरपालिकाको भैरव नमूना माविमा रहेका उनीहरुलाई उच्च स्वास्थ्य सुरक्षा अपनाएर एम्बुलेन्स प्रयोग गरी उद्धार गरेर ल्याइयो । पिपिइ सेट, स्यानिटाइजर, मास्क सबै प्रयोग गरेर उनीहरुलाई हेटौँडास्थित आइसोलेसनमा राखेर म मनहरी ७ रमन्टारस्थित घर पुग्दा जेठ ११ गते बिहानको ४ बजिसकेको रहेछ ।

जब उनीहरुलाई उद्धार गरेर ल्याइयो, तब मानिसहरु अनेकन आलोचना गरिरहेका रहेछन् । भारतमा बस्नेहरुलाई किन ल्याउनुप¥यो ? विदेशमा भएकाहरुलाई किन वास्ता गर्नुप¥यो जस्ता कुराहरु भइरहेका रहेछन् । यो सुनेर मानिसहरु कति स्वार्थी छन् समाजमा भन्ने लाग्यो । आफू मात्रै बाँचू, आफैमात्र खाऊँ र आफू मात्रै बाचौँ भन्ने भावनका मानिसहरु देखेर दिक्क लाग्यो । जबकि, पूर्ण सुरक्षासहित आएका उनीहरु कपिलबस्तुका क्वारेन्टाइनमा बसेर सबैखाले परिक्षण सकाएर हेटौँडाको आइसोलेसनमा राखिएको छ । अब उनीहरु सबैको स्वाब टेस्ट हुन्छ । अनि मात्रै उनीहरुको घर जाने वा यतै उपचार गर्ने भन्ने बाटो खुल्छ । आपत परेको बेलामा सरकारले आफ्नो कर्तब्य सम्झेर यी सब काम गरिरहेको छ । यस्तो बेला म मेरा वा गाउँपालिकाको प्रशंसा चाहिरहेको छैन । तर, गरिरहेको कामलाई सम्मान गर्न जोकोहीले जान्नुपर्छ । आपतमा परेकाहरुमा मानवीय संवेदनासमेत प्रकट नगरीकन गरिएका प्रचारबाजी र हल्लाहरुको म खण्डन गर्दै भन्न चाहन्छु–‘रेमिट्यान्सकै कारण देश चलेको छ, कर्मचारीको तलव मिलेको छ, उनैले मिहेनत गरेका छन् । अनि उनीहरुप्रति किन यस्तो अपमान ?’ यस्तो अपमान हामी स्वीकार्दैनौँ ।

(गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसँग मनहरीलाइभका लागि शिवकुमार काशीले गरेको कुराकानीमा आधारित )


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।