सांकेतिक तस्विर

महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा लागुऔषध कारोबारी र प्रहरीबीच भिडन्त भएको छ। भिडन्तमा एक जना लागुऔषधि कारोबारीको मृत्यु भएको छ भने चार प्रहरी घाइते भएका छन्। गएराति भएको भएको भिडन्तमा रामगोपालपुर–७ का १६ वर्षीय राजन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। प्रहरीले रामगोपालपुर–७ का ५० वर्षीय सुरेन्द्र यादव र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको छ।

लकडाउनका वेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर–७ स्थित सडकमा राति भीडन्त भएको थियो। चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा राजनको घटनास्थलमै मृत्यु भएको एसपी अधिकारीले बताए। उनीलाई ६ गोली लागेको छ।

घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ। भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको एसपी अधिकारीले बताए। उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ। (रासस)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।