हेटौँडा,१०,जेठ ।
हेटौँडा अस्पतालबाट गत जेठ ४ मा रिफर गरिएकी बिरामीमा कोरोना पुष्टि भएपछि हेटौँडा अस्पतालका ५ जना डाक्टर सहित २२ जना अन्य कर्मचारीहरुलाई एकहप्ता आइसोलेसनमा राख्ने निर्णय भएको छ ।  अस्पतालमा आज बसेको आकस्मिक बैठकले संक्रमित महिलासँग प्रतक्ष सम्पर्क राखेका ५ जना डाक्टर तथा १७ जना पारामेडिक्सलाई एकहप्ता आइसोलेसनमा राख्ने निर्णय भएको हेटौँडा अस्पताल कोरोना यूनिटका प्रमुख डाक्टर हरिबहादुर खड्काले खरब्रेकलाई बताए ।

खबरब्रेककर्मीसँग कुरागर्दै डाक्टर खड्काले भने : हामीले प्रतक्ष सम्पर्कमा आएका पाँच जना डाक्टरसाप सहित २२ जनाको पहिचान गरेर उहाँहरुलाई एकहप्ता आइसोलेसनमा राख्ने निर्णय गरेका छौ भने समितिसँग ओपीडि बन्द गर्ने प्रस्ताव पनि गरेका छौ ।
डाक्टर खड्काको अनुसार अहिले अस्पतालमा रहेका १ सय ५० जना कर्मचारी मध्ये ६६ जनाको स्वाब संकलन गरि परिक्षणको लागि प्रयोगशाला पठाईसकिएको र बाँकीको पनि आजै संकलन गरिने छ ।

हेटौंडाकी संक्रमित महिलालाई हेटौंडाबाट सात दिनअघि महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको थियो ।  सामाजिक विकास मन्त्रालयमा छलफलपछि संक्रमित महिलासंग सम्पर्कमा आएका नर्स, डाक्टर तथा अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको छ । उनी ६ दिनअगाडी हेटौंडा अस्पतालमा मुटुको समस्या कारण उपचारको लागि भर्ना भएकि थिईन्। मनमोहनमा उपचार गराईरहेकी महिलाको शुक्रबार स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि भएको जानकारी दिएको थियो । स्वास प्रस्वासमा समेत समस्या आएका कारण उनलाई काठमाडौंमा रिफर गरिएको थियो । उनलाई उपचार गर्ने डाक्टर, सँम्पर्कमा रहेका व्यक्ति, घर परिवारको समेत पीसीआर गर्ने तयारी थालिएको छ ।

अहिले हेटौडा अस्पतालका डाक्टर तथा नर्स क्वारेनटाइनमा बस्ने तयारी गरीरहेका छन् । मनमोहन अस्पतालका एक चिकित्सकले कोरोना संक्रमित महिलाको मुटुको चालमा गडबढी आई ६ दिनअघि शिक्षण अस्पताल ल्याइएको जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।