-अनिल पराजुली,कतार । कतारमा आज १७ सय ३२ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । कतारको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५२ जनाको जाँच गर्दा १७ सय ३२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै कतारमा संक्रमितको संख्या ४२ हजार २ सय १३ पुगेको छ ।

कतारमा कोरोना भाइरस संक्रमणका कारण आज दुइ जनाको मृत्यु भएको छ । ३८ बर्षीय र ५५ बर्षीय नागरिकको मृत्यु भएको हो । यो संगै कतारमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ हजार ५ सय १३ निको भएर घर फर्किएका छन् । आज मात्रै ६ सय २० जना संक्रमित निको भएर फर्केका हुन् ।

३३ हजार ६ सय ७९ जना कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भईरहेको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा अहिले सम्म १ लाख ८४ हजार ७ सय ९४ जनाको कोरोना जाँच भएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । कतारमा कोरोना संक्रमित मध्ये १ हजार ६ सय ९४ जनालाई अस्पतालमा राखेर उपचार भईरहेको छ भने पछिल्लो २४ घण्टामा २ सय ७२ जना अस्पताल भर्ना भएका छन । त्यस्तै आइसियूमा राखेर १ सय ७७ जनाको उपचार भईरहेको मध्ये पछिल्लो २४ घण्टामा १६ जना थपिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जानकारी दिएको छ । एक महिना बढी अस्पतालमा उपचार गराएका र कुनै लक्षण नदेखिएका कोरोना पोजेटिभ भएकालाई पनि अस्पतालबाट डिसचार्ज गरिएको छ । उनीहरु अहिले
कोठामा आएर बसेका छन् ।

कोरोना संक्रमितको संख्या थपिदै जाँदा पोजेटिभ देखिएकाहरुलाई समेत अस्पताल लगिएको छैन । उनीहरु कोठामै बस्न बाध्य भएका छन् । संक्रमित मध्ये धेरैजसो आप्रवासी नागरिकहरु छन् । कतार सरकारले कुन देशका संक्रमित नागरिक कति रहेको छ भन्ने तथ्याङक भने सार्वजनिक गरेको छैन । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।