८ जेठ । कोरोना संक्रमणले २३ जनवरी (९ माघ)मा चीनको वुहान लकडाउन भएपछि संक्रमण रोक्न विश्वभर तयारी सुरु भएको चार महिना भएको छ । १८ फागुनमा नेपाल सरकारले कोरोना रोकथाम र उपचारका लागि उच्चस्तरीय समिति गठन गरेर बैठकमाथि बैठक गरिरहेको छ । त्यति मात्र होइन, कोरोना संक्रमण देखिएपछि ११ चैतदेखि नेपाल पनि लकडाउनमा छ । तर, वुहानको ‘आउटब्रेक’यताका एक सय १७ दिन र नेपाल लकडाउनयताका ५८ दिनसम्म नेपालमा कस्तो तयारी भयो ?

बुटवलमा उपचार गराइरहेका गुल्मीका बिरामीको कथाले हाम्रो तयारीको ऐना स्पष्ट पार्छ । बिरामी भेन्टिलेटरमा छन्, उनको हेरचाह गर्न आएका भाइ क्वारेन्टाइनमा राखिएका छन् ।

श्रीमती र छोराछोरीलाई फेसबुकका समाचारले सताइरहेका छन् । तर, उपचार र बिरामीको अवस्थाबारे न अस्पताल बोल्छ, न सरकार ।

पानीमा भिज्नुभएको थियो, ज्वरो आयो : श्रीमती

हाम्रो घर गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह हो । मेरो श्रीमान् स्थानीय विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । लकडाउनले विद्यालय दुई महिनादेखि बन्द छ । तर, प्रधानाध्यापक भएकाले एक्लै विद्यालयका सानातिना काम गरिरहनुभएको थियो । विद्यालयमा अरूको आवतजावत छैन ।

२४ वैशाखमा उहाँलाई हल्का ज्वरो आयो, टाउको दुख्यो । पानीमा भिज्नुभएको थियो, त्यसैले होला भन्ने लाग्यो । पुर्कोटदहको मदाने मालिका पोलिक्लिनिकबाट ३ खुराक ज्वरोको औषधि ल्यायौँ । ठीक नभएपछि फेरि जाँच गर्दा टाइफाइड भएको भनेर औषधि दिए ।

त्यो औषधिले ज्वरो बिसेक भयो । टाउको दुख्न पनि छाड्यो । तर, खाएको नपच्ने भयो । जे खाए पनि बान्ता हुन थाल्यो । उहाँलाई खानै मन नलाग्ने हुन थाल्यो ।

३१ वैशाखमा रगत जाँच्न भनेर फेरि त्यही पोलिक्लिनिकमा गयौँ । किड्नीमा समस्या हुन सक्छ भन्दै सन्धिखर्क जानू भन्नुभयो । हाम्रो गाउँबाट गुल्मीको तम्घास जानुभन्दा अर्घाखाँचीको सन्धिखर्क नजिक हुन्छ । त्यसैले उहाँ आफन्तको मोटरसाइकल चढेर सन्धिखर्क जानुभयो ।

सन्धिखर्कको छाया पोलिक्लिनिकमा जाँच भयो । किड्नी सुन्निएको छ, टाइफाइड भएको छ, रगतमा पनि समस्या छ । बुटवल जानुपर्छ भनेर क्रिमसन हस्पिटल ‘रिफर’ गरिदिएछ । यसरी ३१ वैशाखको साँझ ८ बजे पोलिक्लिनिकले नै एम्बुलेन्समा राखेर बुटवल पठाइदियो ।

राति ११ बजे उहाँहरू (बुटवल र भैरहवाको बीचमा रहेको) मनिग्रामस्थित क्रिमसन हस्पिटल पुग्नुभयो । अस्पतालको गेटमा एम्बुलेन्स रोकिएपछि उहाँ हिँडेरै भित्र जानुभएको हो । भर्ना गर्न दुई–तीन घन्टा लागेछ । म रातभर जाग्राम थिएँ, बिहान ३ बजे भर्ना भयो भन्ने खबर आएको थियो । अर्को बिहान एक गिलास पानी, चिया र बिस्कुट खानुभएको थियो ।

अस्पताल ल्याएको दुई दिनपछि नमुना संकलन भयो, त्यसको तीन दिनपछि मात्र रिपोर्ट आयो : बिरामीका भाइ

१ गते बिहान ३ बजे उहाँलाई अस्पतालमा औपचारिक रूपमा भर्ना गरियो । टाइफाइड, जन्डिस र निमोनिया भएको छ भन्ने रिपोर्ट आयो । कोरोनाले निमोनिया हुन्छ, मिर्गौला र कलेजोमा पनि असर गर्छ भनेर तीन–चार महिनादेखि सबैतिर चर्चा भइरहेको छ । तर, त्यति धेरै लक्षण मिल्दा पनि अस्पतालले कोरोनाको शंका गरेन । बरु, म्यानेन्जाइटिसको शंका गरेछ । त्यसैले साँझतिर उहाँको ढाडबाट पानी निकाले । तर, अस्पतालले यो विषयमा छलफल नै गरेन । ढाडबाट पानी तानेपछि दाइ एक्कासि बेहोस हुनुभयो । तत्कालै उहाँलाई आइसियूमा भर्ना गर्नुपर्छ भनियो, हामीले वादविवाद गर्ने कुरै भएन ।

तर, आइसियूमा पनि अप्ठ्यारो भयो, उहाँलाई भेन्टिलेटरमा राखियो । अस्पताल भनेको हाम्रा लागि मन्दिर हो । मन्दिर पुगेपछि पुजारीले जे भन्छन्, त्यही मान्ने हो । आफैँ जान्ने हुने होइन । फेरि दाइ बेहोस भएपछि हामी आत्तिएका थियौँ । तर, भेन्टिलेटरमा लगेपछि हामीले नै धक खोलेर अस्पताललाई भन्यौँ, ‘ज्वरो आयो, टाइफाइड भयो, कलेजो र मिर्गौलामा पनि समस्या छ कोरोनाको लक्षण यस्तै हुन्छ भन्छन्, हाम्रो दाइलाई कोरोना त होइन होला । तर, एकपटक जाँच गराउन पाए अलिक ढुक्क भइन्थ्यो होला । लौन प्रयास गरौँ ।’

त्यसपछि मात्र उहाँको स्वाब निकालिएको हो । उहाँसँगै मर्चवारका क्वारेन्टाइनबाट भागेर आएका अर्का व्यक्तिको पनि स्वाब निकालेर प्रदेश ल्याबमा पठाए ।

यो २ गते दिउँसो ३ बजेतिरको कुरा हो । तर, अर्को दिन रिपोर्ट आएन । बिरामी भेन्टिलेटरमा छ, बेहोस छ । तर, रिपोर्ट आएन । अस्पतालले पनि रिपोर्ट किन आएन भनेर चासो नै राख्दैन । यो त अचम्म भयो भनेर मैले आफैँ रिपोर्ट किन आएन भनेर सोधेँ । तर, खोइ किन आएन । भनेर चुप लागे । वास्तै गरेनन् ।

म आफैँले प्रदेशको ल्याब नम्बर खोजेर फोन गरेँ । ल्याबले त त्यो नाम गरेको बिरामीको विवरण यहाँ छैन भन्यो । हामी आश्चर्यमा पर्‍यौँ । अस्पतालले स्वाब मात्र पठाएको रहेछ, बिरामीको विवरण पठाएको रहेनछ । ‘तपाईंहरूले यो के गर्नुभएको ? भेन्टिलेटरमा गम्भीर बिरामीको बारेमा तपाईंहरूले के यस्तो लापरबाही गरेको’ भनेर म कराएँ ।

त्यसपछि मात्र उनीहरूले विवरण ल्याबमा पठाए । तर, भोलिपल्ट पनि रिपोर्ट आएन । स्वाब संकलन गरेको तीन दिनपछि ५ गते मात्र रिपोर्ट आयो । रिपोर्ट आयो भनेर हामीले खुसी हुन पाएनौँ । दाइको कोरोना पोजेटिभ आयो ।  दाइ बिरामी हुनुहुन्थ्यो । हामी हेरचाहमा थियौँ । तर, उहाँको कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल सिल भयो । हामीलाई पनि क्वारेन्टाइनमा राखे । हाम्रो पनि हिजो स्वाब लगेका छन् । अझै रिपोर्ट आएको छैन ।

म बाहिर क्वारेन्टाइनमा छु, दाइ भित्र भेन्टिलेटरमा हुनुहुन्छ । उहाँको अवस्था के छ, अस्पतालले केही जानकारी गराएको छैन । के–के उपचार भयो ? के–के जाँच गरियो ? अवस्था के छ ? हामीलाई केही थाहा छैन । दाइलाई कोरोना संक्रमण छ भन्ने रिपोर्ट आएको बखतदेखि अस्पतालका कसैले पनि हामीसँग सम्पर्क गरेका छैनन् । देशमा सरकार छ, प्रशासन छ । कोरोना आउँदै छ भनेर माघदेखि सरकारले तयारी थालेको छ भनेर हामीले समाचार पढेका हौँ । मन्त्रीहरू एकपछि अर्को बैठकमा बसेको दृश्य पनि टेलिभिजनमा देखेका हौँ । तर, माघदेखि आज चार महिनासम्म के तयारी भयो ? तर, अस्पताल आएको बिरामीको न जाँच हुन्छ, न उपचार हुन्छ । न उनीहरूको अवस्था के भनेर जानकारी प्राप्त हुन्छ । न अस्पताल बोल्छ न सरकार बोल्छ । गाउँबाट भाउजू रुँदै फोन गर्नुहुन्छ, मैले उहाँलाई के जवाफ दिने ? दाइलाई बिसेक हुन लागेको छ भन्ने कि, झन् गम्भीर हुनुहुन्छ भन्ने ? जीवनमा यस्तो संकट कसैलाई नपरोस् ।

नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।