एउटा सार्वभौम देशमा अर्को देशको सेना । त्यो पनि संयुक्त अभ्यासमा लागि होइन, पोस्ट खडा गरेर । कुनै छोटो समय होइन, १८ वर्षसम्म । कुनै पनि सार्वभौम मुलुकका लागि यस्तो कल्पना पनि अपमानजनक हो । तर, नेपालका लागि एउटा क्रूर वास्तविकता हो । र, सत्ताको स्वार्थका लागि व्यक्तिले सम्झौता गर्दा देशले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने पाठ पनि हो । त्यो अँध्यारो इतिहास समेटिएको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

००७ सालको क्रान्ति अन्त्य गर्न दिल्लीमा भएको सम्झौताअनुसार राणाका तर्फबाट मोहनशमशेर प्रधानमन्त्री र नेपाली कांग्रेसका तर्फबाट बिपी कोइराला गृहमन्त्री रहेको सरकार गठन भयो । तर, दिल्ली सम्झौता धोका हो भन्दै एकातिर भरतशमशेर नेतृत्वको खुकुरी दलले र अर्कोतिर डा। केआई सिंहले विद्रोह घोषणा गरे। खुकुरी दलले तत्कालीन गृहमन्त्री बिपीमाथि उनकै निवास त्रिपुरेश्वरमा आक्रमण गर्‍यो, आफूमाथि आक्रमण गर्न आएको भिडलाई नियन्त्रण गर्न बिपी आफैँले पेस्तोलबाट फायरिङ पनि गरे । यो आक्रमणका पछाडि प्रधानमन्त्री मोहनशमशेर छन् भनेर गृहमन्त्री बिपीले मन्त्रिपरिषद् बैठकमै आक्रोश पोखे ।

सरकारभित्र वैमनश्यता बढेपछि मोहनशमशेर नेतृत्वको सरकार ढल्यो । तर, बिपीले सरकारको नेतृत्व गर्ने अवसर पाएनन् । १ मंसिर ००८ मा मातृकाप्रसाद कोइरालाले नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए।

प्रधानमन्त्री भएलगत्तै मातृकाप्रसादले पहिलो ‘उल्लेखनीय’ काम के गरे? भारत भ्रमण गरे जसको परम्परा अहिलेसम्म जारी छ । पाँचसदस्यीय भम्रण दलको नेतृत्व गर्दै ६ जनवरी १९५२ मा दिल्ली पुगेका उनी तीन दिन त्यहाँ रहे । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँगको वार्तामा नेपाली प्रधानमन्त्री मातृकाप्रसादको सबैभन्दा महत्वपूर्ण प्रस्ताव यस्तो थियो, ‘हामी नेपाली सेनाको पुनर्गठनको तयारीमा छौँ । योजना बनाउन र तालिम दिन भारतले सेना पठाइदिनुपर्‍यो।’

भारतीय प्रधानमन्त्री नेहरूले मातृकाको प्रस्ताव स्वीकार गरे । नेपाली सेनाको पुनर्गठनको योजना बनाउने र तालिम दिने मात्र होइन, नेपालमा भारतीय दूतावास, विमानस्थल र अन्य रणनीतिक स्थानको सुरक्षाको जिम्मा पनि भारतीय सेनालाई दिने समझदारी बन्यो ।

यसरी एक सार्वभौम देशमा अर्को देशको सेना भित्र्याउने विषयलाई ठूलो उपलब्धि भन्दै प्रधानमन्त्री कोइराला उत्साही भएर नेपाल फर्के । यो निर्णय आफैँमा आपत्तिजनक थियो र अझ त्यसका लागि कुनै कागजी सहमतिमा हस्ताक्षर पनि गरिएको थिएन । राष्ट्रिय आत्मसम्मानमाथि तत्कालीन प्रधानमन्त्री मातृकाप्रसादले गैरजिम्मेवारपूर्ण रूपमा खेलवाड गरे, तर उनलाई कुनै संकोच थिएन।

उता, भारतीय प्रधानमन्त्री नेहरू नेपालमा सेना पठाउन इच्छुक भए पनि अन्तर्राष्ट्रिय समुदायले के भन्ला भन्ने विषयमा सतर्क थिए । तर सेना पठाउने निर्णय पुनर्विचार भने गरेनन् ।

कुनै सार्वभौम देशले आफ्नो भूमिमा विदेशी सेनालाई कसरी आमन्त्रण गर्न सक्छ? यो विषयमा नेहरू आफैँ अन्योलमा परेका थिए । तर, अर्को देशमा सेना पठाउने कदम अनुचित हो भन्ने महसुस गरे पनि नेहरूले सेना पठाउने क्रूर निर्णय भने फिर्ता लिएनन् ।

अन्ततः १५ फागुन २००८ मा भारतीय फौज नेपालको राजधानी काठमाडौंमा उत्रियो । नेपालमा प्रजातन्त्र स्थापना भएको एक वर्षपछि विदेशी हस्तक्षेपको अँध्यारो छायो । भारतीय सेनाका मेजर जनरल वाइएस पारान्जपेको नेतृत्वमा आएका फौजमा सुरुमा दुई सय ५० भारतीय सैनिक थिए । नेपाल आएको फौजलाई सुरुमा ‘इन्डियन मिलिटरी मिसन’ भनिएको थियो ।

राणा शासन अन्त्य हुँदा नेपालमा २० हजार नियमित र २० हजार म्यादी सैनिक थिए । त्यस्तै प्रहरीमा नअटाएका मुक्ति सेनाका तीनवटा होमगार्ड पनि सेनामा गाभिएको थियो । भारतीय सैनिक मिसनको सल्लाहमा सैनिकको संख्या कटौती गरेर नौ हजारमा सीमित गरियो । यसका लागि ३९ पल्टन खारेज भए । सेनामा तीन बाहिनी, नौ गण र २३ वटा गुल्म मात्र बाँकी रहे।

मात्रिकाप्रसाद कोइराला त दुई बर्षमा प्रधानमन्त्री पदबाट बिदा भए तर उनले ल्याएको भारतीय सेना चाहिँ रहिरह्यो ।

नेपाली सेनाको जनशक्ति घटाउने र बढाउने बहानामा भारतीय फौजको बसाइ लम्बिन थाल्यो । सुरुमा ‘इन्डियन मिलिटरी मिसन’ भनेर आएको भारतीय फौजले नाम पनि फेर्दै गयो । बीचमा ‘इन्डियन मिलिटरी ट्रेनिङ एन्ड एड्भाइजरी ग्रुप’ र त्यसपछि ‘इन्डियन मिलिट्री लियाजन ग्रुप’ भनियो ।

यसबीचमा भारतीय सेनाले नेपालको उत्तरी सिमानामा एकपछि अर्को पोस्ट स्थापना गर्दै गयो । यसरी उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित भारतीय सेनाका १७ पोस्ट खडा भए । त्यसबीचमा बनेका सरकारले भारतीय सेनाको बसाइ र पोस्ट विस्तार रोक्न सकेनन् ।

पाँचथरको च्याङथापु, ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको चेपुवाघाँटी, सोलुखुम्बुको नाम्चे (च्याक्सा), दोलखाको लामाबगर, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र सोम्दाङ, गोर्खाको अठारसय खोला र लार्के भञ्ज्याङ, मनाङको थोराङ पास, मुस्ताङको छुसाङ, डोल्पाको छार्काभोट, मुगुको गुगुगाउँ, हुम्लाको मुचु, बझाङको जावारीकोट, दार्चुलाको टिंकर भञ्ज्याङमा भारतीय पोस्ट थिए । १५ फागुन २००८ मा काठमाडौं विमानस्थलमा उत्रिएको भारतीय सेना १७ पुस २०२६ सम्म नेपालमा थियो, नेपाली भूमिमा १७ पोस्टमा तैनाथ भएका भारतीय सैनिक १८ वर्षपछि मात्र फर्किए, तर ०१९ सालमा कालापानी आएको सेना अहिलेसम्म फर्किएको छैन।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।