म्युनिख,करिब दुई महिनापछि सुचारु भएको जर्मन बुन्डेस लिगा फुटबलमा ‘लिड लिडर’ बायर्न म्युनिखले विजयी सुरुआत गरेको छ। बायर्न म्युनिखले आइतबार राति खेलिएको खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी युनियन बर्लिनलाई उसैको मैदानमा २-० गोलले हरायो। बायर्न म्युनिखले खेलको दुवै हाफमा एक÷एक गोल गर्‍यो। खेल सुरु भएको ४०औं मिनेटमा अनुभवी खेलाडी रोबर्ट लेवान्डोवस्कीले टोलीलाई अग्रता दिलाए। उनले पेनाल्टीमार्फत गोल गरेका थिए। यो सिजन बायर्न म्युनिखका लागि उनले ३४ खेल खेल्दै ४० गोल गरेका छन्।

निर्धारित समयको खेल सकिनुभन्दा ९ मिनेटअघि बायर्न म्युनिखका लागि बेन्जामिन पाभर्डले दोस्रो गोल थपे। उनले जोसुआ किमिचले कर्नरबाट दिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका हुन्। त्यसअघि खेल सुरु भएको १८औं मिनेटमै थोमस मुल्लरले गरेको गोलले भने मान्यता पाएको थिएन। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण करिब दुई महिनादेखि जर्मन बुन्डेस लिगा पनि स्थगित थियो। सरकारबाट अनुमति पाएपछि गत शनिबारदेखि लिग पुनः सुचारु भएको हो। लिग सुचारु भए पनि खेलहरू भने बन्द रंगशालामा खेलाइँदै छ।

हालसम्म २६ खेल खेलेको साबिक विजेता बायर्न म्युनिख ५८ अंकसहित तालिकाको पहिलो स्थानमा छ। तालिकाको दोस्रो स्थानमा आसीन बोरुसिया डर्टमन्डले भने समान खेलबाट ५४ अंक बटुलेको छ। बायर्न म्युनिखसँग पराजित हुने युनियन बर्लिन २६ खेलबाट ३० अंक जोड्दै तालिकाको १२औं स्थानमा छ। कोरोना भाइरसको महामारीबाट प्रभावित भएयता सुचारु हुने बुन्डेस लिगा युरोपको पहिलो प्रमुख लिग हो। बुन्डेस लिगा सुचारु भए पनि मैदानमा खटिने कर्मचारी, प्रशिक्षक र खेलाडीहरूको सुरक्षाका लागि भने विशेष सतर्कता अपनाइएको छ।

गोल भएपछि खेलाडीलाई खुसीयाली मनाउँदा पनि सावधानी अपनाउन निर्देशन दिइएको छ। यद्यपि, सोमबार रातिको खेलमा पाभर्डले डेभिड अल्बासँग अँगालो हालेर खुसीयाली मनाएका थिए। लिग सुचारु भएको पहिलो दिन खेलिएको खेलमा बोरुसिया डर्टमन्डले घरेलु मैदानमा साल्केलाई ४-० गोलको फराकिलो अन्तरले हराएको थियो। एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।