– रिपेश दाहाल,५९ सालतिरै होला म हेटौंडा क्याम्पसमा अध्ययनरत थिए । हेटौंडा सन्देशमा हेटौंडा एफएम खुल्ने र  कर्मचारी आवश्यकता भन्नेबारे सूचना छापिएको थियो । मलाई त्यहाँ आवेदन दिन मन लाग्यो । आवेदनका लागि कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्ने उल्लेख थियो । म कक्षा ११ मा अध्ययनरत थिएँ । अध्ययनरतकै पनि आवेदन स्वीकार गरेमा म छनौटमा पर्छु भन्ने कुराको ममा एक प्रकारको आत्मविश्वास थियो । त्यसअघि नै मैले अन्य रेडियोहरुमा माइक्रोफोन फेस गरिसकेको थिएँ । यद्यपी मेरो स्वर रेडियोमैत्री थिएन । हाँस्यव्यंग्य तथा क्यारिकेचरको साहारामा मैले रेडियोमा आफूलाई स्थापित गराउनु थियो ।

म सानैदेखि किताब पढ्दा रेडियोमा बोलेझै गरी बोल्ने गर्थे, बुबा पण्डित हुनुभएको कारण संस्कृतको श्लोकहरु उच्चारण गर्थे, धारा प्रवाह बोल्नेकला विकास भइसकेको थियो । वादविवाद तथा वक्तृत्व कलामा प्राय प्रथम नै हुन्थेँ । सामान्य ज्ञानमा पनि रुचिराख्ने म अन्तर्वातामा निर्णायकहरुको मन जित्न सक्छु भन्नेकुरामा ढुक्क थिएँ । मैले रेडियोमा काम गर्नुपर्छ र सक्छु भन्नेमा मेरा साथीहरु म भन्दाबढी दृढ थिए  । ‘तेरो नाम निस्किन्छ निवेदन दे’ साथी लक्ष्मण खतिवडाको अनुरोध । ‘हिड फोटो खिच्न, आवेदन फारममा टाँस्नुपर्छ’ मोहन दुलालको दबाव । ‘तिमीहरु फोटो खिचेर आओ, म निवेदन लेख्छु’ लेख्न बाहेक अरु काममा अल्छी गर्ने साथी श्यामपूर्ण श्रेष्ठको भनाई । सबैको सहयोग र सदिक्षामा निवेदन दिने काम भयो । तर, तत्काल रेडियो खुलेन यही बीचमा मेरो जीवनमा थुप्रै उत्तरचढावका घटनाहरु भए, बुबा बित्नुभयो, दिदीहरु दुबैजनाको विवाह भइसकेको र घरको जेठो छोरो भएको कारण जिम्मेवारी बढेको थियो । अध्ययनसंगै काम गर्नै पर्ने  वाध्यताका कारण  मैले थुप्रै ठाउँमा काम खोज्दै भौतारिनु प¥यो ।

यसै शिलशीलामा कक्षा १२ को परीक्षा सकेर काठमाण्डौंमा कुनै काम गर्न जाने सल्लाह अनुसार दाजु प्रकाश दाहाल (हाल प्रेस संगठनका मकवानपुर अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस संयोजक) संग काठमाण्डौंका लागि घरबाट विदा भयौं । हेटौंडा बसपार्क पुगेर काठमाण्डौंको गाडी खोज्दै हिड्दा प्रकाश दाजु  बिज भण्डार आसपासको पत्रिका पसलमा पत्रिका पढ्न थाल्नुभयो । त्यहाँ दाजुले हेटौंडा सन्देशमा हेटौंडा एफएम सञ्चालन हुने बारे सूचना देख्नु भएछ । यस अघि आवेदन दिनेहरुले पनि भोलीपल्टै सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख थियो । तर,  काठमाण्डौं जाने र काम गर्नेबारे मेरो मन बनिसकेको थियो । दाजु भुवन दाहाल (हाल सानिमा बैंक) ले पनि बोलाउनु भएको कारण पनि  मन बनेको हो । फेरि रुघा खोकीले स्वर सुकेको र भोली पल्टै अन्तर्वार्ता दिन जानुपर्ने हुँदा पास हुने सम्भावना पनि नभएको जस्तो लागेको थियो तर प्रकाश दाजुले रोक्नुभयो । काठमाण्डौं त जाने तर, अन्तर्वार्ता दिएर , उहाँले मलाई मनाउनुभयो ।

भोलीपल्ट हामी अन्तर्वार्ताका लागि हेटौंडा एफएमको प्राङ्गणमा गयौं । करीब दुईसयको हाराहारीमा आवेदकहरु रहेछन् । राम लोचन यादव र अजय यादव गरी दुईजनालाई रेडियोले पहिलै राखेको रहेछ । सुमन अधिकारी पनि त्यही थिए तर उनीको त्यहाँ जागिर फिक्स भएको थिएन । ती तीनैजनाले लाइन मिलाउने र अन्तर्वार्ताको व्यवस्थापन गर्ने काम गरिरहेका थिए ।

मेरो पालो आयो अन्तर्वार्ताका लागि भित्र उज्ज्वल चौलागाई, सुशिल पोखरेल र माधव रिसाल सरहरु हुनुहुन्थ्यो । मैले उज्जवल सरहरुको मिडिया क्लबले आयोजना गरेको तीन महिने पत्रकारिता तालिम लिएको कारण उहाँसंग चिनजान थियो उहाँले मलाई श्वर सुकेपनि क्यारिकेचर गर्न लगाउनुभयो मैले नेताहरुको आवाज नक्कल गरेर सुनाए । कुकुर, बिरालो, घोडाहरुको आवाज पनि सुनाएँ उहाँहरु प्रभावित हुनभयो । मेरो नाम तेस्रोमा निस्कियो । भोइस टेस्टमा झन राम्रो भयो । यसरी हामी १७ जना हेटौंडा  एफएमको परिवारमा समाहित भयौं । हामी रेडियो खुल्नुभन्दा ६ महिना अगाडिदेखि कार्यक्रमहरु अभ्यास गथ्र्यौ । सबैजना बस्ने सबैको कार्यक्रम सुन्ने र प्रतिक्रिया दिने । उज्ज्वल सर र सुशिल सरहरुले हाम्रो दैनिक कक्षा सञ्चालन गर्नुहुन्थ्यो । प्राक्टिकलका लागि सिनियर प्राविधिक बिजय कार्की (बर्डस् ब्याण्डका गायक) ले कार्यक्रम रेकर्ड गराउनु हुन्थ्यो । अजय यादव र राम लोचन दिक्षित हामीसंगै हुन्थे । हामी म, अमृता नेपाल, आशिष दुलाल, हिरालाल स्याङ्तान, पूर्णिमा गोले, विनय सापकोटा, रुपा श्री ढोडारी, रजनी दाहाल,  दुर्गा लामिछाने , वासु सुवेदी सर, विनिस सुवेदी भाई, खेम कार्की, सुनिल घिमिरे, श्याम अधिकारी लगायत साथीहरुसंगको त्यो रमाइलो सिकाई अविस्मरणीय थियो ।

६२ साल फागुनको ४ गते बल्ल रेडियोको पहिलो परीक्षण प्रशारण भयो । त्यो दिन हामी सबै धेरै खुशी भएका थियौं । ७ गतेदेखि १८ घण्टे परीक्षण प्रशारण शुरु भयो । त्यस दिनदेखि भने रेडियोले स्टेसन आइडी सहित प्रशारण गरेको थियो । जिङ्गलहरु बाहेक रेडियोको पहिलो आवाजको रुपमा सुशिल सरले रेडियोको बारेमा जानकारी गराएर रेडियोको फोन नम्बरहरु भन्नुभएको थियो । त्यसपछि हामी सबैले पालैपालो बोलेका थियौं यद्यपी त्यो रेकर्डेट हुन्थ्यो ।   नियमित प्रशारणको लागि भने हामीले ६३ साल बैशाख सम्म कुर्नुप¥यो । बैशाखको २४ गते बिहान वासुसरले र अर्का एकजना साथीले समाचार पढेर नियमित प्रशारणको शुरुवात भएको थियो । त्यसदिन मेरो पनि कार्यक्रम बज्यो तर रेकर्डेट सिन्धुलीमा हुनुभएको काका बिरामी हुनुभएर उपचारका लागि जनकपुर ल्याइएको थियो म त्यता गएको थिएँ । त्यसकारण १५ वर्ष अघिको आजको दिनमा म एफएममा उपस्थित हुँन पाएको थिइन ।  तर त्यसपछि हेटौंडा एफएममा धेरै कार्यक्रमहरु गरे । खै किन हो ? मैले गरेका प्राय सबै कार्यक्रमहरु हिट भए । सबै साथीहरुका कार्यक्रमहरु राम्रा थिए । मेरो र आशिषको हजुरबाको गन्थन , मेरो ब्लफकल डायल हेटौंडा लगायत रेडियोका धेरै कार्यक्रम हिट भए । हामी चर्चित बन्यौं । बुबाको मैले जागिर खाएको हेर्ने धोको थियो त्यो भने पूरा हुन पाएन तर मैले रेडियोमा जागिर खाएकोमा मेरो आमा असाध्यै खुशी हुनुभयो । मैले रेडियो उद्घोषण तालिम लिदा बुबासंग भएको पैसाले नपुगेर सानीदिदी मिराको  नाकको फुली बेच्नुपरेको थियो । उहाँ पनि खुशी हुनुभयो । ठूली दिदी मिना, भाई, सबैजना बसेर एकदिन रात्री भोज गरेका थियौं ।

हामीले मासिक ३ हजार तलव पाउन थाल्यौं । जुन कल्पना भन्दा बाहिरको कुरा थियो । त्यती खेर सम्म पनि त्यो पैसा धेरै नै थियो । हामी गौरी दिदी( हाल उहाँ वित्नुभयो) कोमा ५ रुपैयामा खाजा खान्थ्यौं । चौतारी होटलमा रु २० मा खाना ।  हामी जहाँ गएपनि ग्राहकको व्यवहार नभएर पाउना समानको व्यवहार पाइन्थ्यो । रेडियोका साथीहरुको परिवार हाम्रो पनि परिवार झै लाग्ने कतिपय साथीहरुकोमा त हामी दशैमा टिका लगाउन पनि जान्थ्यौं । एक अर्काकोमा जाने खाने बस्ने हुन्थ्यो । हरेकको जन्मदिन रेडियोमा मनाइन्थ्यो । सौभाग्यले बैशाखको ३१ मा मेरो जन्मदिन थियो रेडियोमा मेरोजन्मदिनदेखि नै भब्य कार्यक्रम गरेर जन्मदिन मनाउने चलन शुरु भयो ।

आज हेटौंडा एफएमबाट भौतिक रुपमा अलग भएको दशक भएछ , तर यादहरु ताजाछन् । हेटौंडा एफएम मेरो जीवनको एक हिस्सा हो । जस्को यादलाई म  छातीमा टासिरहेको छु र टासी रहनेछु । हेटौंडा एफएमलाई वार्षिकोत्सवको धेरै धेरै शुभकामना ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।