देबराज रिमाल , नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालकाबिचमा कुराकानी भएको भन्दै तीनदिन अगाडीको कान्तिपुर दैनिकमा लेखिएको छ – “म अष्टलक्ष्मी शाक्य, भिम आचार्य,भिम रावल,सुरेन्द्र पाण्डे जस्ता क्षमता हुँदाहुँदैपनि अवसर नपाएका साथिहरुका लागि लडिरहेको छु ।”

नेकपा भित्र क्षमता र योग्यता हुँदाहँदै पनि अवसर नपाएका बरिष्ठ नेता माधवकुमार नेपालको माथिल्लो पङ्ती पढिरहँदा मेरो दिमागमा मकवानपुर जिल्लाबाट लगातार प्रतिनिधिसभामा निर्वाचित भएका विरोध खतिवडा र कृष्णप्रसाद दाहालको तस्बिर नाच्न थाल्यो । पटकपटक चुनाव जित्दापनि उहाँहरुलाई अहिलेसम्म मन्त्रि बनाउने सूचिकालागि योग्य ठहर्याईएन। योग्यता र क्षमता नभएर नबनाएको हो भन्ने कुरासँग विश्वास र पत्यार गर्ने आधार देखिदैन । योग्यता र क्षमता भएको प्रमाणपत्र बोक्नका लागि पटकपटक मन्त्री भैरहनुपर्ने,पार्टीका महत्वपूर्ण जिम्मेवारी र ओहोदामा पुग्नुपर्ने हो भने उहाँहरुबाट त्यस्तो मापदण्ड पुरा गरेको देखिदैन् ।

यस जिल्लाबाट निर्वाचित भएका प्रतिनिधिसभाका सांसदहरु मन्त्रीबन्ने क्षमता राख्छन र अवसर पाएको अवस्थामा आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न सक्छन भन्ने मेरो मान्यता र विश्वास रहेको छ । पटकपटक सरकार गठन र पुर्नगठन हुँदा पटकपटक मन्त्री भएका नामहरुमाथिनै नेकपा भित्र बहस र विवाद श्रृजना गरेर चियाको कपमा आँधी ल्याउने प्रयत्न गर्नु कत्तिको मनासिव ठहरिन्छ ।

सन्र्दभ : दुई

अब आफ्नै बारेमा अलिकति लेख्न मनलाग्यो (किनभने यो दुनियमा नलेख्दा र नबोल्दा कसैले सुन्दो रहेनछ)

म २०३५-०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर राजनीतिक यात्रा सुरु गरेको र अहिलेसम्म गरिरहेको र भविष्यमा पनि गरिरहने छु । भुटनदेबी माविको २०३८ सालमा अनेरास्ववियू पाँचौँबाट निर्वाचित स्ववियु सदस्य भएर संगठित जीवन सुरु गरेको र यसबिचमा अनेरास्ववियुको दुई पटक (२०४७ र २०४९) मा केन्द्रीय सदस्य, २०४६ सालको परिवर्तन पछि सम्पन्न नेकपा एमालेको पहिलो जिल्ला अधिवेशनबाट जिल्ला सदस्य, २०४९ सालमा नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि र नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनबादलाई अनुमोदन गर्ने एक अनुहार ।

प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष र पटकपटक नेकपा एमालेको जिल्ला कमिटि सदस्य र सचिवालय सदस्य । मेरो जीवन खुल्ला किताव हो र धादिङमा जन्मीएर मकवानपुरमा राजनीतिक यात्रा सुरु गरेको यस जिल्लामा कम्युनिष्ट आन्दोलनको बारेमा चासो राख्नेहरुलाई थाहा भएको कुरा हो ।

(३) नेकपा एमाले भएको अवस्थामा मात्र हैन दुई पार्टी मिलेर नेकपा बनेको अवस्थामा पनि पार्टीभित्र जिम्मेवारी विभाजन गर्दा र सचिवालय निर्माण गर्दा सम्वन्धीत निकायबाट सोधने काम गरिएन् । सचिवालयको गठन हुँदा म मात्र हैन केहि साथिहरु परेनौँ । यस विषयमा जान्न खोज्दा मलाई भनियो : विधि र प्रक्रिया पुर्याएर आउनुपर्छ । यसो भन्नुको पछाडी एउटै कारण थियो नेकपा एमालेको जिल्ला अधिवेशनमा एकभोटबाट प्रतिनिधि बन्नको लागि म बञ्चित भएको थिँए ।

माथिको कुरा सुनेपछि मैले भने पार्टीको आन्तरिक जीवनमा हारजित भैरहन्छ । पार्टीको आन्तरिक चुनावमा माथिदेखि तलसम्म को हारेको छैन र ? एक पटकको विजय र पराजयलाईनै मुल्यांकनको आधार बनाउने हो भने त्यसको सुरुवात माथिबाट गर्नुपर्ने हो कि तल मात्रै लागु गर्ने हो ? यसलाईनै बाहाना बनाउँदै हाम्राकुराहरु सुनिएन मात्र हैन, नजरअन्दाज समेत गरियो । तलकालेह हार्दा दण्डनीय हुँने, माथिकाले हार्दा पुरस्कार पाउँने नीति र विधि नेकपाको हो कि हैन ? यसबारेमा उठेको जिज्ञासाको बारेमा अहिलेसम्म ठोस उत्तर पाउन सकेको छैन । चुनावमा भएको विजय र पराजयको आधारलाईनै विषयबस्तु बनाएर कुनैपनि ब्यक्तिले गरेको लगानीलाई विर्सने काम हुन्छ भने त्यस्तो काम माथिबाटनै सुरु गरिनुपर्छ ।

(४) अहिलेपनि ३० को दशकबाट राजनीतिक जीवन सुरुवात गरेका सयाँै कार्यकर्ताहरु नेकपाभित्र रहेका छन् । उनीहरु क्षमता र योग्यता हुँदाहुँदैपनि अवसरबाट बञ्चित रहेका छन् । पार्टीभित्र गुटको समायोजन गर्न नाउँमा होस वा ब्यक्तिलाई ब्यवस्थापन गर्ने तर्कको आधारमा होस, ५० को दशकबाट राजनीतिक सुरु गरेकाहरुलाई गुटको दौरा समाउँदै नेताहरुले गोजीबाट नाम निकाले केन्द्रीय सदस्य बनाउँदा उचित ठहरिने र त्यस्तो किन गरेको भनि प्रश्न गर्दा ३० को दशकदेखि राजनीति सुरु गरेका हरुले दण्ड भोग्नुपर्ने विधि र पदद्धिको हामिले सामना गरिरहेका छाँै ।

कल्पना गरौँ कमरेडहरु, निरंकुश पञ्चयातीकालका ति निरंकुशताका दिनहरु, ति दिनहरुमा काम गरेको कठिनाई र चुनौतीको सामना गरेको समकालिन सयौँ साथिहरुको तस्बिर अहिलेपनि मेरो अनुहारमा झलझल्ती नाचिरहेको छ । जस्ले अवसरको लागि कुनै लडाई लडेनन् र अवसरका लागि कुनै नेताको दौरा समाउँदै गुटको राजनीति गर्न क्रियाशिल भएनन् । कति पटकसम्म मन्त्री बन्दा, केन्द्रीय सदस्य बन्दा, सांसद बन्दा योग्यता र क्षमताको कदर भएको ठहरिने हो त्यो पनि विधानमा उल्लेख गर्दा राम्रो हुन्थ्यो कि ? अन्त्यमा कमरेड रघु पन्तले सेतोपाटीमा दिएको अन्तरवार्तामा भन्नुभएको छ : अहंकार, हठ, गुटमोह, संकिर्णता र आफुसँग फरक मत राख्नेहरुलाई कागती निचोरे जस्तै निचोरेर राख्ने तरिका प्रधानमन्त्रीको अलोकप्रीयताको एउटा कारण हो । म मात्र हैन म जस्ता हजारौ कार्यकर्तालाई उहाँले घाटीसम्म पुर्नुभएको छ ।

कमरेड रघु पन्तको माथिको भनाई पढिरहँदा मैले २०६४ सालमा किर्तिपुरमा सम्पन्न प्रेस चौतारी नेपालको पाँचौ राष्ट्रिय महाधिवेशको निर्वाचित केन्द्रीय किमिटिको पहिलो बैठकको दृष्य सम्झीरहेको छु । किर्तिपुरको चुनावमा सम्भु श्रेष्ठ र बालकृष्ण चाँपागाईको बिचमा अध्यक्ष्को लागि प्रतिस्पर्धा भएको थियो । त्यस अधिवेशनमा श्रेष्ठको समुहबाट म पनि केन्द्रीय सदस्यमा निर्वाचित भएको थिए । निर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठक बल्खुमा राखिएको थियो र त्यसबेला प्रचार विभाग प्रमुख रघु पन्त हुनुहुन्थ्यो । पहिलो बैठकमानै प्रचार विभाग प्रमुखको तर्फबाट करिब एक दर्जन साथिहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव मात्र आएन, उक्त प्रस्ताव अनुमोदन गरेर केहि सदस्यहरुलाई सचिवालयमा समेत लगियो । कमरेड रघु पन्तले त्यस कमिटिकोे बैठकमा त्यसबेला उहाँको समूहमा रहेका साथिहरुलाई नेतृत्वमा ल्याउनु भएको थियो र असहमत हुनेहरुलाई घाँटिसम्म पुर्ने कामको नेतृत्व गर्नुभएको थियो । विगत तिर फर्केर हेर्ने हो भने डाडु पन्यौ हातमा हुँदा सबैले गुटकै खेति गरेका छन् ।
(यो लेख नेपाल कम्यनिष्ट पार्टीलाई आफ्नै घर ठानेर जीवन विताएका तर क्षमता र अवसरबाट बञ्चित भएका सयौँ कार्यकर्ताप्रति समर्पित)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।