-अर्जुन अर्याल,विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्सको जन्म ५ मे १८१८ को दिन ट्रिर शहरको एक वकिल परिवारमा भएको थियो । कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारद्वारा प्रभावित व्यक्तित्व हुनुहुन्थ्यो । कार्ल मार्क्सकी आमाको नाम हेनरी येट्र थियो ।
सन् १८३० देखि १८३५ सम्म मार्क्सले ट्रिर जिम्नेसियम (स्कुल) मा आफनो प्रारम्भिक अध्ययन पुरा गर्नु भयो । किशोर मार्क्सको बौद्धिक प्रतिभाको प्रस्फुटन त्यस बेला भयो जुन बेलामा उहाँले “पैसा छनौटबारे एक किशोरको विचार” भन्ने निबन्ध लेख्नु भयो । उक्त निबन्ध प्रवोधनकालको प्रगतिशील विचारधाराद्वारा ओतप्रोत छ ।  अक्टोवर १८३५ मा मार्क्स बोन विश्वविद्यालयमा भर्ना हुनु भयो । उहांले आफूले अध्ययन गर्ने विषय कानुन विभाग रोज्नु भयो । विश्वविद्यालयमा मार्क्स  कानुनशास्त्रको साथै साहित्य, नवीनतम् कला, इतिहास र सौन्दर्यशास्त्रको पनि अध्ययन गर्न पछि पर्नु भएन । बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुविधा भएको हुनाले मार्क्सले बोनमा एक वर्ष अध्ययन गर्नु भएपछि बर्लिन विश्वविद्यालयमा भर्ना हुनुभयो ।
बर्लिनमा मार्क्सले निकै परिश्रम गर्नु भयो, जसको फलस्वरुप उहांको बौद्धिक विकास पनि तीब्र गतिले हुन थाल्यो । बर्लिनमा मार्क्स कलेजको अध्ययनको अलावा स्वतन्त्र अध्ययनमा पनि व्यस्त हुनुहुन्थ्यो जस अन्तर्गत उहांले मुख्यतया दर्शनशास्त्र र इतिहासको अध्ययन गर्नुभयो । मार्क्सले साहित्य र कलाको पनि गहन अध्ययन गर्न थाल्नु भयो, अंग्रेजी र इटालीयन भाषा पनि सिक्न थाल्नु भयो । छोटै समयमा मार्क्स महान बौद्धिक व्यक्तित्व बन्न सफल हुनुभयो ।
बर्लिन जानुपूर्व मार्क्सले सन् १८३६ को गृष्मकालमा जेनी फोन वेस्टफालेनसंग विवाह बन्धनमा जोडिनु भयो । जेनी अभिजात वर्गकी युवती थिइन् । तसर्थ जेनीका बुबा आमाले यस विवाहलाई अस्विकार गर्न सक्ने सम्भावना देखिन्थ्यो । जेनी असाध्यै राम्री युवती थिइन् भने मार्क्स बौद्धिक प्रतिभा हुनुहुन्थ्यो । त्यसो त मार्क्स न त अभिजात वर्गमा नै पर्नुहुन्थ्यो, न त एउटा विद्यार्थी व्यक्ति मार्क्स त्यति धनी नै हुनुहुन्थ्यो । तथापि जेनीले मार्क्सलाई पूर्णरुपमा साथ दिनु भयो । जेनी वेस्टफालेन अत्यन्तै गुणी नारी हुनुहुन्थ्यो । जेनीको तीक्ष्ण बुद्धि सुशीलता र उत्कृष्ट आचरणले मार्क्सलाई खुसी तुल्याएकी थिइन् । त्यही गुणले उहांले पनि मार्क्स जस्तो महान व्यक्तित्वलाई जीवन साथीको रुपमा पाउनु भयो । कार्ल मार्क्स र जेनीको लामो वैवाहिक जीवन सफल हुनुमा जति मार्क्सको भुमिका छ, त्यनि नै कर्म जेनीको पनि छ । मार्क्स र जेनी सफल विवाहित जोडी भनेर कहलिएका थिए ।
कार्ल मार्क्सले विद्यावारिधीको थेसिस ‘डेमोक्रयाट्सको प्रकृति दर्शन र एपिक्युरको प्रकृति दर्शन बिचको भेद’ विषयमा तयार पार्नु भएको थियो । यो नै मार्क्सको पहिलो वैज्ञानिक कृति थियो । जुन आध्यात्मवादी चिन्तनमाथिको खोज थियो । प्रोइसेन राजधानीमा रहेको विश्वविद्यालयमा आफनो थेसिसको वास्तविक मुल्याङ्कन हुन सक्दैन भन्ने कुरा मार्क्सले देखिसक्नु भएको थियो । तसर्थ उहांले इयेना विश्वविद्यालयमा आफनो थेसिस पठाउनु भयो र अप्रिल १८४१ मा दर्शनशास्त्रको विद्यावारिधी (डक्टरेट) को उपाधि प्राप्त गर्नु भयो । त्यसपछि उहां अत्यन्तै प्रतिष्ठित दार्र्शिनक बन्न पुग्नु भयो ।
बर्लिन बसाइपछि वहाको राजनीतिक दर्शन सुरु भएको मानिन्छ । विश्वविद्यालयबाट दीक्षित भएसंगै वहां कोलोन्जमा रहेको राइनाइज जाइटुङ नामक पत्रिकामा संलग्न हुनुभयो । पछि सन् १८४२ मा वहां सोहि पत्रिकाको सम्पादक बन्नुभयो । मार्क्सले पत्रिकाको सम्पादक भएदेखि नै अत्याधिक उग्र बामपन्थी धार बोकेकाले त्यहाको सरकारले सन १८४३ मा पत्रिका नै बन्द गरी मार्क्सलाई देशनिकाला गरिदियो । देशनिकाला पछि वहां त्यहांबाट तत्कालिन समयको उग्र बामपन्थी आन्दोलनको गढ फ्रान्सको पेरिस पुग्नुभयोे । वहांको पेरिसमा नै अर्का वामपन्थी विचारक फ्रेडरिख एङ्गेल्ससंग भेट भयो ।
सबैभन्दा प्रगतिशील र सबैभन्दा शोषित वर्गको हितार्थ आफनो जीवन अर्पण गर्ने अठोट गर्नु भएका मार्क्सले फ्रेडरिक एङ्गेल्स को रुपमा आफनै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेट्टाउनु भयो । मार्क्स भन्दा दुई वर्ष कान्छा एङ्गेल्सको जन्म राइन प्रान्तको बार्मेन शहरमा भएको थियो ।
‘राजनीतिक अर्थशास्त्रको आलोचनाको रूपरेखा’ शीर्षक एङ्गेल्सको कृतिसंग मार्क्सको परिचयपछि उहांहरुबिच पत्रव्यवहार सुरु भयो । अगस्त १८४४ मा बेलायतबाट जर्मनी फर्कंदा एङ्गेल्सले पेरिसमा मार्क्ससंग भेट गर्नुभएको हो । दस दिनको उहांहरुको यस संसर्ग पछि गएर एङ्गेल्सले सम्झना गर्नु भएको थियो, “सबै सैद्धान्तिक क्षेत्रमा हामी पूर्णरुपमा देखा पर्‍यौ र त्यसै बेलादेखि हाम्रो संयुक्त कार्य पनि सुरु भयो ।”
मार्क्स र एङ्गेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई महान दिग्गजहरुको सहयोगको थालनी गर्‍यो  । यस सहयोगले मजदुरवर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनीति र कार्यनीतिको जग बसालेको थियो । त्यतिबेलाको मजदुर वर्गको दयनीय अवस्था देखेर वहां सामाजिक तथा आर्थिक अभ्यासबाट निकै असन्तुष्ट हुनुहुन्थ्यो । त्यही असन्तुष्टिसंगै वहांले सर्वहारा वर्गको मुक्तिका लागि राजनीतिक दर्शन प्रतिपादन गर्नुभयोे । अन्तराष्ट्रिय दवावपछि फ्रान्स सरकारले पनि वहांलाई देश निकाला गर्‍यो । त्यहाबाट वहां बेल्जियम पुग्नुभयो । दुई वर्षको बेल्जियम बसाइमा वहां १९ औं शताब्दीको सबैभन्दा महत्वापूर्ण राजनीतिक दर्शन साम्यवादको घोषणा पत्र तयार पार्न व्यस्त रहनुभयो । बेल्जियम बाटै सन् १८४८ मा वहांले ‘विश्वमा शोषित र शोषक वर्ग छन र उनीहरुबीच निरन्तर लडाईं भइरहन्छ,’ भन्ने विषयलाई आधार बनाएर विश्व साम्यवादी आन्दोलन र वैज्ञानिक समाजवादको घोषणापत्र ‘कम्युनिष्ट म्यानिफेस्टो’ प्रकाशित गर्नुभयो । यसलाई अहिले पनि बामपन्थी, समाजवादी तथा सर्वहारावर्गको हकहितको आन्दोलनको मार्ग निर्देशक सिद्धान्त मानिन्छ । त्यस लगत्तै वहांलाई बेल्जियम सरकारले पनि देशनिकाला गर्‍यो । देशनिकाला गरेपछि वहां बेलायत पुग्नुभयो ।
मार्क्सले लण्डनमा बसेर न्युयोर्क डेली ट्राइब्युन अखबारका लागि काम गर्नुभयो । त्यहीं बाट वहांको आर्थिक सिद्धान्त तथा पुंजीवादको अध्ययन सम्बन्धी ‘दास क्यापिटल ’ पुस्तक सन १८६७ मा सार्वजनिक भयो ।
मार्क्स र एङ्गेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्गदर्शक हुनुहुन्छ  । वहाहरुले देखाएको मार्गमा विश्वभरका कम्युनिस्टहरु हिडिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल मार्क्सको सर्वाधिक योगदान रहेको छ । उहांले आफनो सहकर्मी एङ्गेल्ससंग मिलेर विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्र, पुंजी लगायत दर्जनौ ऐतिहासिक कृतिहरु तयार पार्नु भयो । जसले साम्यवादी आन्दोलनमा लाग्नेहरुका लागि सदासर्वदा मार्गदर्शन गरिरहने छ ।
यसै बिच सन १८८३, १४ मार्च का दिन  विश्व सर्वहारावर्गका महान नेता कार्ल मार्क्सको लन्डनमा निधन भयो । हाल मार्क्स हाम्रो सामु हुनुहुन्न । तथापि उहाँको मार्गदर्शक सिद्धान्तले उहां विश्वभरीका कम्युनिस्टहरुको मुटुको धड्कन हुनुहुन्छ । अमर महान व्यक्तित्व हुनुहुन्छ ।
आजको दिन  विश्व सर्वहारावर्गका महान नेता कार्ल मार्क्स जन्मिनुभएको २०२ बर्ष पुरा भएकोछ । वहांको कृति आज पनि  उत्तिकै महत्वपूर्ण छ र युग युगान्तर रहिरहने छ । यस्ता कालजयी दार्शनिक विश्व सर्वहारावर्गका महान नेता कार्ल मार्क्स प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै सर्बहारा बर्गको मुक्तिका लागि नेपाली कम्युनिष्ट आन्दोलन गुट र फुटको श्रृंखलालाई त्यागेर एकजुट हुदै अघि बढन सकोस हार्दिक शुभकामना ।
(लेखक अर्याल जिफन्ट बागमती प्रदेश कमिटीको सचिब हुन् ।)

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।