नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले देश तथा विदेशमा रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ। नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी स्वदेश तथा विदेशमा लकडाउनका कारण खान नपाएर अलपत्र परेका नेपाली विद्यार्थीलाई तत्काल राहतको व्यवस्था गर्न सरकार र दूतावासलाई आग्रह गरेका हुन्।

“पढाइका सिलसिलामा देश तथा विदेशका विभिन्न भागमा बसेका विद्यार्थीलाई राहत वितरणमा प्राथमिकता दिन आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ। नेविसंघका महामन्त्री दीपक भट्टराईले राहत वितरणमा सरकारले विद्यार्थी र मजदुरलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए।

“विद्यार्थीसँग खर्चको अभाव हुने भएकाले विद्यार्थीलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ”, उनले भने। विश्वभर फैलिँदै गएको कोभिड-१९ लाई ध्यानमा राखेर नेपाल सरकारले ११ चैतदेखि ३ वैशाख २०७७ सम्म देशभर लकडाउन गरेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।