अर्पण पराजुली/तस्विर: खबरब्रेक

अर्पण पराजुली,हेटौंडा, हामी कहिले सम्म मान्छेले खानै नपाउने भए भनेर राहत नामको पोको बोकेर दौडिन पर्ने होला ? कति पुस्ता भो यहि भोक, रोग, अशिक्षा र गरीबीको विरुद्ध घोषणापत्र बनाएर चुनाव गरेको ? भाषण, नारा र घोषणा अनुसार त यो देश उहिल्यै रामराज्य भन्दा समुन्नत भैसक्नु पर्ने होइन र?केही प्रकोप आयो कि परम्परागत रुपमा दाल चामलको पोकोमा मानवता,सभ्यता र पहुँच झल्काउँदै आफ्नो हात माथी पारेर कहिलेसम्म दौडिने? साम्यवादी नेता ज्यु, समाजवादी नेता ज्यु र पुँजीवादी नेता ज्यु सबैको राहत बाँड्न होडबाजी जस्तै हुन्छ। राहतको पोकोमा भोट देखेर मात्र दौडेको भए त्यो मानवीय संवेदनाको धज्जी उडाइ मात्र हो। साँच्चै प्राण जोगाउन नै गरेको भए करोडौंको पुण्य हो। राहत असमान भयो , घोटाला भयो, लक्षित बर्गले पाएनन भन्ने गुनासो त छँदै छ। गुणस्तरहीन सामाग्रीको पोको बाँडेको भन्ने गुनासो पनि धेरै सुनिन्छ। ब्यक्तिगत तनाव छँदै छ साथै सामाजिक बिचलन र मृत्युको भयले आक्रान्त पारेको हुन्छ विपदले ।साँच्चै मानवतावादको सँरक्षण गर्न खोजेको हो भने भौतिक बस्तुको बितरण मात्र राहत होइन। राहतका अनेक उपागमहरु छन।

१. परामर्श प्रदान गर्नु:

विपदको बेला आम मानिसहरु ठुलो मानसिक तनावमा हुन्छन। दैनिकीमा परिबर्तन, अनिश्चित भबिस्य, भैरहेका काममा बाधा, अनेक प्रकारका हल्ला, सुचना र समाचारको असर आदिले मानसिक तनावमा हुन्छन्। यस्तो बेला आधिकारिक ब्यक्ति / निकायले सरसल्लाह र परामर्श प्रदान गर्दा वास्तविक सुचना प्रवाह भै डर, त्रास र भयको न्यूनीकरणमा सहयोग पुग्दछ। यो ठुलो राहत हो।

२. रचनात्मक वातावरण निर्माण गर्न मद्दत :

लकडाउन ,कर्फ्यु जस्तो आपतको बेला मानिस हरु घर भित्र थुनिएर बस्नु पर्दा शारीरिक र मानसिक रुपमा बिचलित हुन्छन्।यस्तो बसाइलाई रचनात्मक बनाउन स्थानीय परिवेश अनुसार के सम्भव छ तेस्को लागि प्रेरित गर्न सकिन्छ। सुरक्षीत बसेर घर भित्रै गर्न सकिने आयआर्जनमुलक कामहरु, ईन्टरनेटको सहि सदुपयोग, नयाँ नयाँ पुस्तकहरु अध्ययन गर्न प्रेरणा, करेसा बारी ब्यबस्थापन,मास्क निर्माण( लक डाउनको बेला) जस्ता गतिविधिमा सहभागी गराउन वातावरण बनाउनु पनि राहत हो । ३. आधारभुत सेवा सुबिधाको निरन्तरता: विपदको बेला विद्युत, खानेपानी, ईन्टरनेट, औषधी, एम्बुलेन्स, आदिको समस्या नपरोस् भनेर आबश्यक ब्यबस्था मिलाउन सहयोग गर्नु पनि राहत हो।

४ . स्थानीय रेडियो/टि.भि. मा बिशेष कार्यक्रम प्रशारण:

बिपत्तिको बेला स्थानीय सँचारका माध्यम बाट अधिकारिक सुचना र सचेतनामुलक कार्यक्रम सँचालन गरेर बिपत्तिको ब्यबस्थापनमा महत्वपूर्ण भुमिका खेल्न सकिन्छ। कहाँ के हुँदैछ? सरकारको आधिकारिक सुचना के हो? असामान्य परिस्थितिमा कहाँ कसरी सम्पर्क गर्ने? सेवा सुबिधा कसरी प्राप्त गर्न सकिन्छ जस्ता कुरा हरुको जानकारी पाउँदा मानिसले ठुलो राहत को महसुस गर्दछ्न र आफू एक्लै नभएको महसुस हुन्छ। विपदबाट बच्न यसो गर्नु पर्छ उसो गर्न पर्छ भन्दै मनगडन्ते र अन्धबिश्वासपुर्ण भ्रम छरिरहेका हरुको वास्तविकता आम मानिस लाई बुझाएर यथार्थ र उचित व्यबहार अपनाउँन प्रेरित गर्न सकेमा ठुलो राहतको महसुस हुन्छ।

५. काला बजारी र भ्रष्टाचार नियन्त्रण:

बिपत्तिको बेला मालसामान लुकाउने, मूल्य वृद्धि गर्ने, सेवा सुबिधा मिलाइदिन्छु भन्दै सोझा सिधा मानिसहरु सँग अनुचित फाइदा लिने मानिस हरु सकृय हुन सक्छन्। त्यस्ताको पहिचान गरि कार्वाहीको दायरामा ल्याउन सकियो भने पीडितहरुलाइ ठुलो राहत मिल्छ।

६. घरेलु हिँसा रोकथाम :

सबै जना घरैमा हुने भएकोले अभाव, मानसिक तनाव, कामको बाँडफाँडमा असमानता र अरु बेलाको रिस सांध्ने मौकाको रुपमा लिने आदि कारण बिपत्तिको समयमा घरेलु हिँसा र लडाइँ झगडा हुन सक्छ। कोहि सदस्य घरभन्दा बाहिर छ भने तेस्ले झन तनाव वृद्धि हुन्छ।यस्तो बेलामा घर झगडाको सँभावना बढी हुन्छ। लैँगीक हिँसा, बाल दुर्व्यवहारमा वृद्धि हुन सक्छ।लक डाउन, कर्फ्यु जस्तो बेलामा सबै जना घरमा नै हुने र कामको बाँडफाँड न्यायपुर्ण भएन भने घरधन्दागर्ने ब्यक्ति (महिला) हरुले अरु बेला भन्दा पनि बढि काम गर्नु पर्ने हुन्छ। यस्ले पनि घरमा समस्या सृजना गर्न सक्छ। यस्तो कुराको निगरानी र सामाजिक न्यायपुर्ण जीवनशैलीको लागि सचेतना वृद्धि गर्नु पनि राहत हो।

कयौं मानिसहरु बिपत्ति आउँदा आफुले राहत पाउँनु अधिकार हो भन्ने सम्झन्छन्। राहत भनेको भौतिक सामग्री मात्र हो भन्ने भावना छ। प्राकृतिक वा मानव सिर्जित जुनसुकै विपद भएता पनि त्यसबाट मुक्ति पाउँनु पहिलो आबश्यक्ता हो। आफैं सम्पन्न र सक्षम हुँदा सम्म भौतिक राहतको अपेक्षा गर्नु एक प्रकारको अपराध हो। सम्पन्नहरु राहत लाई सेवाको रुपमा लिन्छन र दाल, चामल, नुन, कपडा को पोको बाँडनु अझै पत्रीकामा समाचार आउनुलाइ महानता सम्झन्छन् भने त्यो पनि दुखी, दरिद्रता र सहयोगापेक्षीहरुको उपहास हो। दान , चन्दा, सहयोग, उपहार प्रदान गर्नु असल मानवको सँस्कार र सभ्यता हो। हुनेले नहुने लाई , सक्ने ले नसक्ने लाई , सम्पन्नले बिपन्नलाइ सहयोग गर्नु पर्छ। विपदको परिबन्धमा परेकाहरुको मनोभावनामा नकारात्मक असर नपर्ने गरि मानवीय सहयोग गर्नु पुण्य हो। राहत नलिंउँ पेट भोको हुने, लिउँ भने क्यामेरा तेर्स्याइ हाल्ने गर्दा धेरैजना बिपद पीडित लाई हुर्मत लिएको जस्तो भान हुनसक्छ।

समाज ब्यबस्थापन समुन्नत छ भने हरेक बिपत्तिमा दाल चामल जस्तो राहतको जरुरी पर्दैन। पटक पटकको बिपत्तिले समाजमा आधारभुत आबश्यक्ता पूरा गर्न नसक्ने मान्छेहरु धेरै छन भन्ने आँकडा देखाइरहेको छ। बिपत्ति आइपरेको भोलिपल्ट देखी राहतको पोको बोकेर हिंड्न धेरै मनकारी मानवहरु बाध्य छन। बिपत्तिको अवधी लम्बियो भने झन बिकराल अवस्था आउँन सक्छ। तसर्थ विपद ब्यबस्थापनको पुर्बतयारी गर्दा समाजको सबलीकरण नै सबैभन्दा महत्त्वपूर्ण तयारी हो भन्ने ध्यान राख्नु पर्ने हो कि? अहिलेको अबस्थामा राहतको पाकेट हतार हतार बाँडेर फोटो खिचेर मात्र फर्कँने होइन आड ,भरोसा, सम्मान र मित्रता पनि बाँडेर आउने कि?

(लेखक पराजुली बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा क्याम्पसका उपप्राध्यापक हुन् ।)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।