भक्तपुर,स्थानीय खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस  संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । यही चैत २१ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्वारेन्टाइनमा बसेका कोरोना प्रभावित मुलुकबाट आएका ९४ जनाको थ्रोट स्वाब संकलन गरेको थियो । त्यसको रिपोर्ट आज आएको र सबैको कोरोना नेगेटिभ रहेको उनले जानकारी दिए ।

यही चैत ८ गते संयुक्त अरब इमिरेट्स, कतारलगायत देशबाट फर्किएकामध्ये थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ गरी ६२ नेपालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट खरीपाटीस्थित क्वारेन्टाइन पुर्याइएको थियो भने त्यसपछि विदेशबाट फर्किएका थप नागरिकलाई पनि त्यहीँ राखिएको थियो ।

खरीपाटीको क्वारेन्टाइनका तीन  भवनमा २० महिला र ७४ पुरुष राखिएको थियो । स्वाब परीक्षणको नतिजा नेगेटिभ आएकाले क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाइएको छ ।  यसअघि चीनको वुहानबाट उद्धार गरिएका १७५ विद्यार्थीलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको र रिपोर्ट सामान्य आएपछि घर पठाइएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।