हेटौंडा, २४ चैत,बागमती प्रदेश सरकारको कोरोना रोकथामको कामसंगै आगामी बजेका बिषयमा छलफल सुरु गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकमा बजेट बनाउने बिषयमा प्रारम्भिक छलफल भएको हो । कोराना रोकथाम, नियन्त्रण र उपचारसंगै अब आगामी बजेटको तयारी गर्न मन्त्रालयका मन्त्री एबम् सचिबहरुलाई मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ ।

छलफल कार्यक्रममा बजेटलाई परम्परागत भन्दा पृथक ढंगले प्रस्तुत गर्नुपर्नेमा सहभागि सबैले सहमति जनाउनुभएको छ । जति सङ्कट भएपनी आन्तरिक रुपमा आगामी बजेटका बिषयमा छलफल गर्न केहि समस्या नहुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिलेको समयमा कार्यलय बन्द गर्ने होइन, भित्र बसेर काम गर्ने हो, जिम्मेवारीहरु धेरै छन्, काम गरौं काममा जुटौं’ । गएका बर्षहरुमा बनाएका बजेटको समिक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटका शृङ्खला तोड्न सबैलाई आग्रह गर्नुभयो । हामी हरेक कुरामा परिबर्तन गर्छौ भनेर निर्बाचित भएर आएको भन्दै अबपनि हामीले कामहरुको गति अझ बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘कुरा मात्र नयाँ हैन अब काम पनि नयाँ गरेर देखाउनुपर्छ, सबै कुरामा परीबर्तन ल्याउन सरकारले हर सम्भब प्रयास गर्नुपर्छ, नयाँ बिचार नयाँ योजनाका साथ काम गर्नुपर्छ ।’

बजेटलाई कामकाजी मात्र हैन, कसरी प्रभावकारी बनाउन ? कुन मोडेलको बजेटले हाम्रो प्रदेश सम्बृद्ध हुन्छ त्यो छुट्टाएर काम गर्न सक्यो भने सम्बृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन सहयोग पुग्ने उहाँको धारणा थियो । जनताले अनुभुत गर्नेगरी समाजवाद उन्मुख बजेट सरकारको लक्षय रहेको उहाँको भनाई थियो । हरेक मन्त्रालयले आफ्नो काम हुनेगरी महत्त्वपूर्ण कुराहरु समाबेश गरेर योजना बनाउन पनि उहाँले आग्रह गनुभयो । उहाँले भन्नुभयो–‘हामीले जनतालाई जे गछौं भनेको थियौं त्यो अनुसार बजेटमा ध्यान दिऔं, पार्टीको घोषणा पत्र अनुसार, आवधिक योजना अनुसार, गत बर्षको बजेट कार्यान्वयन भयो कि भएन, नभए किन भएन भन्ने बिषयलाई पनि अध्ययन गरौं ।’ आर्थिक वृद्धि र रोजगारीको आधार देशमा सिर्जना गर्नुपर्ने भन्दै यस्ता कुरामा बिषेश ध्यान दिन पनि उहाँको आग्रह थियो । देशमा रोजगारी सिर्जना गर्ने अवस्था, शिक्षा, स्वास्थ्य तथा खानेपानीका योजना प्राथमिकता हेरेर योजना बनाउन पनि उहाँको सुझाब थियो । उहाँले भन्नुभयो–‘सानासाना योजनामा पैसा छरेर परिबर्तन हुन सक्दैन अनि अनि जनताले पनि अनुभुत गर्न सक्दैनन् त्यसैले ‘गेम चेन्जर’ योजना छनोट गरौं, लगानी उत्पादन सङ्ग जोडौ, आधारभुत आबश्यकतालाई जोड दिने गरि बनाऔं’ । कृषि क्षेत्रको बिकासलाई महत्व दिएर योजना बनाउने, कृषिमा आत्मनिर्भरका योजना अगाडि सार्न पनि उहाँको आग्रह गर्नुभयो । बिद्यालय, स्वास्थ्य संस्था, उद्योग र कृषि क्षेत्रमा हामी सम्पन्न भयौं भने अन्य बिकास हुँदै जाने उहाँको भनाई थियो । कृषि, शिक्षा लगायतका क्षेत्रका अनुदानलाई कटौटी गरेर बिना ब्याजमा ऋण दिनेगरी बजेट ल्याउने पनि उहाँको भनाई थियो । बजेट बनाउनुभन्दा अगाडि निति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै सबै मन्त्रालयहरुलाई दुबैको तयारी थाल्नुपर्ने बताउनुभयो ।

बिगतमा भन्दा फरक अनुभुती हुने गरि बजट ल्याउन छलफल गराउन सुरु गरीएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बताउनुभयो । अहिले मुलुक कोरोना भाईरसका कारण लकडाउन भएपनि बजेटको तयारी गर्न सकिने भन्दै छलफल गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले जानकारी दिनुभयो । छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्री अरुण नेपाल, भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फूयाँल, भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, सामाजिक बिकास मन्त्री युवराज दुलाल, योजना आयोगका कार्यबहाक उपाध्यक्ष श्याम बस्नेतलगायत मन्त्रालयका सचिबहरुको सहभागिता रहेको थियो ।

कोभिड संकट ब्यबस्थापन केन्द्र स्थापना:
प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले बागमती प्रदेशको मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश कोभिड संकट ब्यबस्थान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आईतबार बसेको बैठकले समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातारबरण मन्त्री अरुण प्रसाद नेपाल, सामाजिक बिकास मन्त्री युवराज दुलाल, प्रमुख सचिब तोयम राय, हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महत, मध्यपृतनाका उपरथी, सामाजिक बिकास मन्त्रालयका सचिब, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब, उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयका सचिब, बागमती प्रदेश प्रहरी कार्यलयका प्रमुख, ससस्त्र प्रहरी कार्यालय बागमती प्रदेशका प्रमुख, राष्ट्रिय अनुसन्धान बिभाग बागमती प्रदेश कार्यालयका प्रमुखलाई  रहनुभएको छ । त्यस्तै केन्द्रका सदस्य सचिबमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब रहने निर्णय गरिएको छ ।
यस्तै सामाजिक बिकास मन्त्रालयले रोकथाम, नियन्त्तण र उपचारका लागि आवश्यक औषधि, उपकरणको हालको उपलब्धता र आवश्यक पर्ने बिवरण सहितको कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री एबम् कोभिड संकट ब्यबस्थापन समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसको समितिको  बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पिडितको अभिलेख तयार गरी नियमितरुमा अद्यावधिक गर्ने र भबिष्यमा आईपर्ने समस्या ब्यबस्थापनको खाका तयार गर्ने निर्णय गरेको छ । यस्तै प्रदेशमा खाद्य ब्यबस्था, उपलब्धता र दैनिक गुजारा गर्न नसक्ने नागरिकहरुको लगत स्थानीय तहसंगको समन्वयमा उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्रालयले तयार गरी आवश्यक ब्यबस्था मिलाउने, प्रत्येक जिल्लाको अत्याबश्यक खाद्य पदार्थको अभिलेख जिल्ला प्रशासन कार्यालयले तयार गरी ईमेल मार्फत पठाउन निर्देशन दिने र दैनिकरुपमा खपत हुने यस्ता खाद्य पदार्थको अनुमान गरी आद्यान्नको अबस्था बारे जिल्ला बिपद् ब्यबस्थापन समितिहरुले खाद्य अवस्थाको आंकलन गर्ने समेत निर्णय गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले भविष्यमा आबश्यक पर्ने स्रोत ब्यबस्थापन सम्बन्धी खाका सहितको योजना तयार गर्ने, कोभिड संकट ब्यबस्थापन केन्द्र स्थापना गरी समितिका सदस्य सचिबले सूचना प्रवाहका गर्ने, हाल सञ्चालनमा रहेको कोरोना नियन्त्रण सूचना केन्द्रको सञ्चालन आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत गर्ने र हरेक दिन ४ बजे सूचना अपडेट गर्ने, कोरोना भाईरस नियन्त्रण गर्न क्वारेन्टाईनहरु कोरोना भाइरस सम्बन्धी क्वारेन्टाईन सञ्चालन तथा ब्यबस्थापन मापदण्ड २०७६ अनुसार सञ्चालन गर्न सबै स्थानिय तहमा अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै खाद्यन्न संकट भएका परिवारहरुको एकिन तथ्यांकस्थानिय तहले  तयार गरी प्रदेश सरकारमा जानकारी गराउने, २०७६ माघ पछाडि स्वदेश फर्कि तत् स्थानिय तहमा हाल रहेको ब्यक्तिहरुको बिबरण स्थानीय तहले संकलन गरी प्रदेश सरकारमा पठाउन अनुरोध गर्ने तथा बिभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तुत कार्ययोजनालाई एकीकृत रुपमा आगामी बैठकमा पेश गर्ने निर्णय गरेको समितिले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।