एजेन्सी,विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या स्पेनमा १० हजार नाघेको छ।

बिहीबार दिउँसोसम्म स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १० हजार तीन पुगेको छ भने १ लाख १० हजार २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारीले यतिबेला युरोप र अमेरिकामा भयावह रुप लिएको छ। अमेरिकामा हालसम्म २ लाख १५ हजार भन्दा बढी संक्रमित बनेका छन् भने ५ हजार १ सय १२ जनाको मृत्यु भएको छ।

यस्तै युरोपेली मुलुक इटालीमा १३ हजारभन्दा बढी मानिसहरुले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या १ लाख १० हजारभन्दा बढी छ।

कोरोनाको महामारीबाट हालसम्म विश्वभर साढे नौ लाख मानिसहरु संक्रमित भएकोमा ४८ हजार २ सय ७६ जनाको मृत्यु भएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।