अनिल पराजुली,कतार,२० चैत्र,  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कतारमा बिहिवार सम्म संक्रमितको संख्या ८ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार मात्रै थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यस्तै हालसम्म ७१ जना निको भएर घर फर्किएका छन् भने जम्मा २४ हजार ८ सय २५ जनाको जाँच भएको छ । हाल सम्म कोरोनाले दुई जनाको मृत्युु भईसकेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । भाइरस बाट कतारमा यसअघि ५७ वर्षीय एक बंगलादेशी नागरिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुवै जनामा श्वासप्रश्वास सम्बन्धि पुरानै रोग रहेको थियो । उनलाई मार्च १६ मा अस्पताल भर्ना गरिएको थियो । चीनको वुहानमा गत डिसेम्बरमा पत्ता लागेको कोरोना भाइरसको संक्रमण कतारमा पहिलो पटक एक ३६ वर्षिया कतारी नागरिकमा देखिएको थियो । कतार सरकारले भाइरस संक्रमण फैलिएपछि आफ्ना नागरिकलाई इरानबाट चार्टर्ड विमान मार्फत स्वदेश फिर्ता ल्याएको थियो ।

यो सँगै कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । अन्य देशहरुबाट हालै कतार आएका नागरिकहरुमा भाइरस संक्रमण देखिएको यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ । संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने आवश्यक चिकित्सा सेवा तथा उपचार प्रदान गरिएको गल्फ टाइम्सले जनाएको छ । यहाँको जनस्वास्थ्य मन्त्रालयले समाजका सबै सदस्यहरूलाई भाइरस संकुचनको जोखिम कम गर्न सम्पूर्ण स्वास्थ्य दिशानिर्देशहरू र रोकथामका उपायहरूको पूर्ण पालना र सहकार्य गर्नका लागि अनुरोध गरेको छ । भाइरससम्बन्धी कुनै ज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने  जनाइएको छ ।

काम गर्ने अवधि ६ घण्टा कायम
कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई बिहीबारदेखि घरबाटै काममा लगाउने निर्णय गरेको छ । उनीहरूको काम गर्ने अवधिलाई ६ घण्टा कायम गरिएको छ । बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै काम गर्ने समय तोकिएको छ । यो दुई हप्ताका लागि लागु हुनेछ ।

प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अलथानीको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरेको हो । अब रोजगारदाताले २० प्रतिशत कामदारलाई मात्रै कार्यालयमा काममा लगाउन पाइनेछ । तर, खाद्यान्य, औषधि र घरघरमा खाना पु¥याउने रेष्टुरेन्टको लागि भने यो नियम लागू हुने छैन ।

सरकारले विभिन्न सरसफाइ कम्पनीबाट घरको काम गर्न पठाउने कार्यलाई समेत रोकेको छ । कतारमा विभिन्न कम्पनीले महिलालाई घण्टा वा दिनभर घरेलु कामको लागि घरघरमा पठाउँदै आएको थियो । यसमा नेपाली महिलाको बाहुल्यता छ । कामदार बोक्ने बसले सिट क्षमता अनुसार कामदारलाई बोक्न पनि रोक लगाएको छ । त्यस्तो बसले सिट क्षमताको आधा मात्रै कामदार बोक्न पाइने कतार न्यूज
एजेन्सीले जनाएको छ । सैनिक, सुरक्षा गार्ड, कुटनीतिक मिसनका कर्मचारी, स्वास्थ्य क्षेत्र, तेल तथा ग्यास, देशको मुख्य परियोजनाका कामदारहरुमा यो निर्णय लागू नहुने बताइएको छ ।

सनैयाको लकडाउन बढ्यो
कतारले झन्डै ५० हजार नेपालीसहित आप्रवासी कामदार बस्ने सनैयाको लकडाउनको समयावधि बढाएको छ । सनैयाको सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रलाई सिल गर्दै लकडाउन गरेको थियो । मन्त्रीस्तरीय बैठ्कपछि आयोजित पत्रकार सम्मेलनमा उच्चस्तरीय संकट
व्यवस्थापन समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले कतार र कामदारको सुरक्षाका लागि लकडाउनको अवधि बढाइएको बताइन् । त्यो क्षेत्रमा कार्यरत कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कतारले निकै संवेदनशील रूपमा राख्दै आवतजावतलाई पूर्ण नियन्त्रण गरी कामदारको स्वास्थ्य परीक्षण गरिरहेको प्रवक्ता खतिरले बताइन् । यो क्षेत्रभित्र रहेका कामदारलाई खाद्यान्नको अभाव हुन नदिइएको र तीन ठाउँमा मोबाइल जाँच केन्द्रमा परीक्षण भइरहेको छ ।

नेपाली राजदूतावास दोहा कतार
कोरोना भाईरस संक्रमणको जोखीमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अवलम्वन गर्न÷गराउन दूतावासको आधिकारी पेज मार्फत कतारमा रहेका नेपालीहरुलाई आग्रह गरिएको छ ।

जमघट गर्ने १० जना पक्राउ
सार्वजनिक स्थानमा जमघट गर्ने १० जना पक्राउ गरिएको कतारको आन्तरिक मन्त्रालयले जानकारी दिएको छ । कतार सरकारले कर्नेश एरिया, समुन्द्री किनारहरु, सार्वजनिक स्थलहरु र रेष्टुरेन्ट तथा क्याफेटेरियाहरुको अगाडि सबै प्रकारका जमघटहरुमा निषेध गरेको अहिलेको स्थितीमा नियम उल्ङघन गर्ने १० व्यक्तिलाई पक्राउ गरिएको मन्त्रालयले ट्वििटमा लेखेको छ । नियम उलङघन गर्नेलाई दुईलाख रियाल जरिवाना वा तीन बर्ष जेल सजाय हुन सक्ने मन्त्रालयले यसअघि जानकारी गराएको थियो । कतारको दक्षिणी क्षेत्रमा रहेको बालुवामा जमघट भई रमाईलो गरिएको उनीहरुको भिडियो सामाजिक संजालमा भाइरल भएपछि मन्त्रालयले छानविन सुरु गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।