एजेन्सी,अमेरिकाको पेन्सिलभेनियामा रहेको एक सुपरमार्केटमा एक महिलाले जानीजानी खोकेपछि सुपरमार्केटले ४२ लाख रुपैयाँ बराबरको खानेकुराहरू फ्याँक्नुपरेको छ ।  लुजेर्ने काउन्टीमा रहेको गेर्रिटी सुपरमार्केटका अनुसार, महिलाले स्टोरमा रहेको ताजा खानेकुरा, बेकरी, मासु तथा खाद्यान्न राखिएका ठाउँमा गएर जानीजानी खोकेकी थिइन् । त्यसपछि सुपरमार्केटका कर्मचारीहरूले सबै सामान फ्याँकेर शेल्फहरू खाली गराएका थिए ।  स्टोरमा सामानहरू कम हुँदै गएकोमा मानिसहरू चिन्तित भइरहेको बेलामा ती महिलाले यस्तो बदमासी गरेकी हुन् । मानिसहरूको सामानको जोहो गर्दा स्टोरहरू खाली भएका हुन् ।

ती महिला बुधवार अपराह्न २ः२० मा स्टोर पसेकी थिइन् । महिलाले विभिन्न ठाउँमा खोक्दै हिँडेपछि कर्मचारीहरूले स्टोरबाट निकालेर प्रहरीलाई खबर गरेका थिए ।  सुपरमार्केटका साहुले ती महिलाले जानीजानी यस्तो घिनलाग्दो काम गरेको र खानेकुरा फाल्नुको विकल्प नभएको बताए । अन्य ग्राहकको स्वास्थ्यका लागि शेल्फहरूलाई संक्रमणमुक्त बनाएको पनि उनले बताए ।

यसअघि मिसूरीमा एक मानिसले खाद्यान्न पसलमा गएर सेल्फहरूमा चाट्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो । ‘कोरोनाभाइरसबाट को डराउँछ’ भन्दै उनले शेल्फ चाटेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।