Image result for सोसल डिस्टेन्स

photo : google

काठमाडौँ — भीडबाट टाढा रहन सरकारको गरेको आग्रहलाई सर्वसाधारणले बेवास्ता गरेकामा विशेषज्ञहरूले चिन्ता प्रकट गरेका छन् । जरुरी कामबाहेक दुई साता घरमै बसेर सुरक्षित रहन सुझाव उनीहरूले दिएका छन् । एकआपसमा शारीरिक दूरी कायम नराखे कोरोना भाइरस (कोभिड–१९) को संक्रमण को सम्भावित विस्तारले जोखिम निम्त्याउने चेतावनीसमेत दिएका छन् ।‘अन्यभन्दा एक व्यक्तिबाट अर्काको दूरी एक मिटरको राख्नुपर्छ । हामी खोक्दा, हाच्छिउँ गर्दा मुखबाट निस्किने यस्ता पानीका कण धेरैजसो अवस्थामा एक मिटर अर्थात् करिब ३ फिटभन्दा टाढा जाँदैन,’ राष्ट्रिय क्षयरोग केन्द्रका छाती रोग विशेषज्ञ डा.नवीनप्रकाश शाह भन्छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पहिले संक्रमणको कडी तोड्न सामाजिक दूरीलाई शारीरिक दूरीका रूपमा अर्थ्याएको थियो । अर्थात् कुनै पनि व्यक्तिबाट अर्को व्यक्तिको दूरी कम्तीमा एक मिटरको भएमा भाइरस संक्रमणबाट जोगिन सकिन्छ । कोभिड–१९ उत्पन्न गर्ने भाइरस खोक्दा, हाच्छिउँ गर्दा, बोल्दा मुखबाट निस्किने भाइरस टाँस्सिएको पानीका स–साना कणबाट सर्छ । डब्लूएचओले कोभिड–१९ बाट बच्न अन्य व्यक्तिसँग शारीरिक दूरी कायम राखेर सम्भावित संक्रमणको जोखिमबाट जोगिने सल्लाह दिएको छ ।

मुलुकमा कोरोनाको ठूलो संक्रमण नदेखिएको अवस्थामा विशेषज्ञहरू ‘सोसल डिस्टेन्स/फिजिकल डिस्टेन्स’ लाई कोरोनासँग लड्ने हतियारका रूपमा उपयोग गर्न सकिने बताउँछन् । चीनले यो संक्रमणलाई नियन्त्रण गर्न एक व्यक्तिबाट अर्को व्यक्तिसँगको सम्पर्क टुटाएको थियो ।

‘व्यक्ति एक आपसमा अन्तरक्रिया नगरुन् भनेर चीनले एक करोडभन्दा बढी जनसंख्या भएको पूरै सहरलाइै ‘लकडाउन’, गर्‍यो,’ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. रमेश चोखानी भन्छन्, ‘हाल त्यो ‘लकडाउन’ नतिजा हेर्नुस्, त्यहाँ नयाँ संक्रमण देखिन बन्द भयो । यसले देखाउँछ कि संक्रमणको विस्तार रोक्न शारीरिक दूरी कायम गर्न एउटा महत्त्वपूर्ण औजार हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै कोभिड–१९ को संक्रमणबाट बच्न देशवासीलाई भीडभाडबाट टाढै रहेर सकेसम्म घरमै बस्न आग्रह गरेका थिए ।

‘तर टेलिभिजनमा हेर्दा भारतमा घरभित्रै राख्न कर्फ्यु नै लगाउनुपर्ने स्थितिसमेत देखिएको छ भने काठमाडौंवासीसमेत उनीहरू भन्दा पृथक् देखिएका छैनन्,’ काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन प्राडा.राजेन्द्र कोजू भन्छन्, ‘हाल यो क्षणलाई राजधानीसँगै देशवासीहरूले बिदा जस्तै मोजमस्ती र घुमफिरमा उपयोग गरिरहनु जनस्वास्थ्यको दृष्टिले खतरनाक स्थिति हो ।’

आमनेपाली आफैं मुलुक, समाज, आफन्त र आफूलाई संक्रमणबाट जोगाउन घरमा बस्नुपर्ने औंल्याउँदै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल भन्छन्, ‘अहिले त पिकनिक र बिदा जस्तै भएको छ, यो भएन । यसले हाम्रो संक्रमण रोक्ने अभियान सफल हुँदैन ।’ मुलुकमा अत्यावश्यक सामान खाद्यान्न, औषधि पसलबाहेक आवश्यक नरहेका सबै पसल र यातायात बन्द हुनुपर्ने उनको सुझाव छ ।

‘फुर्सत ठानेर आकस्मिकबाहेक होलबडी चेकअप, सामान्य परीक्षण आदिका लागि अहिले अस्पताल जाने हैन,’ डा.पोखरेल भन्छन्, ‘घरमा परिवारसँगै अरूलाई नभेट्ने गरी बस्नु पर्‍यो, साथीभाइ आफन्तसँग प्रत्यक्ष हैन, फोन र सोसल मिडियामा सम्पर्क गर्नुपर्‍यो ।’

सर्वसाधारण व्यक्ति घर बाहिर निस्कने क्रम नरोकिए सम्भावित संक्रमणको थप जोखिम हुन सक्ने दाबी विज्ञहरूले गरेका छन् । उनीहरूले घर बाहिर निस्कनुपर्ने बाध्यता आए अन्य व्यक्तिसँग एकदेखि मिटरको शारीरिक दूरी कायम गर्दै हिँड्नुपर्ने बताउँछन् ।

‘यो ज्यान लिने भाइरसबाट जोगिने एक मात्र उपाय अन्य व्यक्तिसँग उचित शारीरिक दूरी कायम राख्नु हो,’ नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.कृष्णप्रसाद अधिकारीले बताए । ‘आमजनता घरमै बस्न चाहेका छैनन्, सायद हामीले सम्झाउन सकेनौं कि वा जनचेतना पुगेन ?,’ वीर अस्पतालका पूर्वनिर्देशक प्राडा.भूपेन्द्र बस्नेत भन्छन्, ‘स्थानीय संक्रमण फैलिन नदिन ५० जनाले घरमै बसे पनि एक जनाले यो उपाय नअपनाउँदा उसले सयौंमा संक्रमण फैलाउन सक्छ ।’

कोरोना भाइरसको उमेर केही घण्टादेखि केही दिनसम्म हुन्छ । यो स्थितिमा सबै व्यक्ति ‘घरमै लक्ड’ भए भाइरस फैलिनबाट रोक्न सकिन्छ । यसो गर्दा भाइरस जुन ठाउँमा हुन्छ त्यहीँ समाप्त हुन्छ र यसलाई फैलिनबाट रोक्न सकिन्छ । संक्रमण फैलिएपछि युरोप र अमेरिकालाई हम्मे परेको बेला नेपालअघि संक्रमण रोक्नु थप जटिलता भएको बताए । ‘सरकारले मोजमस्ती गर्न बिदा दिएको होइन, संक्रमणको कडी तोड्न जो जहाँ छन् त्यहीँ बस्ने हो,’ बस्नेत भन्छन्, ‘हाम्रो जागरुकताले नै कोरोनाविरुद्घको युद्घ लड्न सक्छौं ।’
from : ekantipur

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।