हेटौंडाको पुरानो मकवानपुर मार्गमा देखिएको एक तस्विर

हेटौंडा,११ चैत,बागमती प्रदेशको राजधानी हेटौंडामा ‘लकडाउन’को अवज्ञा गरिएको छ । सरकारले आजबाट एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाउँदा समेत यँहाका मानिसहरु सडकमा सामान्य दिन झै निस्किएका छन् । मंगलबार बिहान सडकमा ठुला गाडी,अटो,मयुरी मेटरसाईकल,सुमो सवारी साधनहरु चलिरहेका छन् । सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

सोमबार सिंहदरबारमा बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले आज बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको थियो ।

७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिएका छन् । संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

सोमबार काठमाडौँमा कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले सोमबार साँझ नै लकडाउन गर्ने निर्णय गरेको थियो । निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।