चैत ९ – कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको संख्या १३ हजार नाघेपछि संसारभरि लगभग एक अर्ब मानिसहरू शनिवार आफ्नै घरमा थुनिएर बसेका छन् । युरोपका धेरै मुलुक र अमेरिकाका कैयौं राज्यमा लकडाउन गरिएको छ ।

महाव्याधिले पृथ्वीमा जीवनशैली नै उथलपुथल बनाइदिएको छ । मानिसहरूको आवागमनमा नियन्त्रण आएको छ, विद्यालयहरू बन्द गरिएका छन् र लाखौं मानिस घरैमा बसेर काम गर्न बाध्य छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भाइरसविरुद्धको युद्ध अमेरिकाले जितिरहेको भनी दाबी गरे पनि विभिन्न राज्यहरूले थप नियन्त्रणका उपाय अपनाइरहेका छन् । न्युयोर्क, इलिनोई र क्यालिफोर्निया राज्यहरूमा मानिसहरूलाई घरैमा बस्न भनिएको छ ।

भाइरसका कारण संसारभरि १३ हजार ५० जनाको मृत्यु भइसकेको छ अनि इटलीमा मात्र ४८ सय ५० जना बितिसकेका छन् । त्यहाँ मर्नेको संख्या दिनानुदिन बढिरहेको छ ।

वृद्धवृद्धाहरू र पहिलेदेखि नै स्वास्थ्यस्थिति राम्रो नभएकाहरूलाई भाइरसले आक्रमण गरिरहेको छ । तर विश्व स्वास्थ्य संगठनले युवाहरू पनि यसको जोखिममा रहेको बताएको छ ।

चीनमा शनिवार नयाँ संक्रमण नदेखिएको लगातार तेस्रो दिन हो र विश्व स्वास्थ्य संगठनले चिनियाँ शहर वुहानले संसारलाई नै आशाको सन्देश दिएको जनाएको छ ।

तर बाहिरबाट संक्रमणका केसहरू चीनमा भित्रिन थालेको भनी चिन्ता व्यक्त गरिएको छ । शुक्रवार हङकङमा ४८ वटा संक्रमण आशंका गरिएको थियो । संक्रमितमध्ये धेरैजसो हालैका दिनमा युरोप गएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।