चैत ५ – नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को ‘वर्ल्ड टुर’ स्थगित भएको छ। कार्यक्रमका निर्णायक मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोस्ट गर्दै ‘वर्ल्ड टुर’ स्थगित गरिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘कमेडी च्याम्पियनको यात्रा सकिएको होइन, रोकिएको मात्र हो। हिमेश, खबपु, दले, सुमन, मेक्सम सहितको हाम्रो विश्वयात्रा : कोरोनाको कहर अन्त्य भएपछि पुन: शुरु हुनेछ। अहिलेलाई जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित हुनुहोस्।’

त्यस्तै पहिलोपोस्टसँगको कुराकानीमा मनोजले यसअघि बैशाखको दोस्रो सातादेखि अस्ट्रेलियाबाट वर्ल्ड टुर शुरु गर्ने योजना रहेको जानकारी दिए।

उनले भने, ‘हामी बैशाखको दोस्रो सातादेखि अस्ट्रेलियाबाट वर्ल्ड टुर शुरु गर्ने योजनामा थियौँ। एक महिना अस्ट्रेलियामा कार्यक्रम गर्ने अनि अरु कुन कुन देश जाने भन्ने बारे योजना बनाउन चाहि बाँकी थियो।’

त्यसो त कमेडी च्याम्पियनको उत्कृष्ट पाँच प्रतियोगीलाई ‘वर्ल्ड टुर’ लाने व्यवस्था गरिएको गजुरेलले बताए। गत शनिवार आयोजित कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका थिए। ग्रान्ड फिनालेमा सुमन कोइराला र खड्ग बहादुर पुनलाई पछि पार्दै हिमेश पन्त विजेता घोषित भएका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।