फागुन १२ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरा लिएर संविधान संशोधनको कुरा अगाडी बढाउन नहुने बताउनुभएको छ ।

शनिबार नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव गरेपछि नेम्वाङले यस्तो बताउनुभएको हो ।

नेम्वाङपनि तीन सदस्य रहेको कार्यदलमा सदस्य रहनुभएको समाचारमा आएको थियो । संविधान संशोधन जस्तो गम्भिर कुरालाई जिम्मेवारी पूर्वक अगाडी बढाउनुपर्नेमा कुनै व्यक्तिगत कुराका लागि यस्तो प्रस्ताव ल्याउन नहुने उहाँको भनाई छ ।

एउटा जिम्मेवार पार्टीले यस्तो निर्णय गर्न नसक्ने नेम्वाङको भनाई छ । उहाँले भन्नुभयो, ‘‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भिर हो यसलाई जिम्मेवारी पूर्वक अगाडि लैजानु पर्छ । यो एकदमै पारदर्शी हुनुपर्छ र यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ । यो व्यक्तिगत कुरा होइन् । हामीले यो भन्दा अगाडि एउटा समयकालमा अहिले संविधान संशोधन तिर जाने होइन पहिला त संविधान कार्यान्वयन गर्नुप¥यो भनेका थियौं । पछि संघको चुनाव भयो, संघीय संसदको, प्रदेशको चुनाव भयो त्यसपछि हामीले भन्न थाल्यौं अव आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्छ । किनभने आधारहरु तयार भयो । तर त्यो आवश्यकता र औचित्य स्थापित भएको हामीले अहिले सम्म ठानेनौं ।’’’

मधेशवादी दलहरुसँग विभिन्न समयमा संविधान संशोधनका विषयमा कुराकानी हुँदा समेत तत्काल संशोधनको औचित्य नभएको बताउँदै आएको अवस्थामा अहिले सचिवालयले यस्तो निर्णय नगरेको विश्वास आफुले गरेको बताउनुभयो । पार्टीका महासचिव विष्णु पौडेलसँग कार्यदलका विषयमा बुझ्दा उहाँले सचिवालयमा कुनै निर्णय नभएको जानकारी गराएको समेत नेम्वाङले बताउनुभयो ।

नेम्वाङले कार्यदलमा सदस्य रहेको विषयमा आफुलाई औपचारिक जानकारी नभएको समेत बताउनुभएको छ । कार्यदल बनेको विश्वास आफुलाई नलागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘मलाई पार्टीको तर्फबाट कसैले पनि सम्पर्क गरेका छैनन्, जानकारी गराएका छैनन् । यस्तो कार्यदल बन्यो होला भन्नेमा मलाई विश्वास छैन् । पछिल्लो समयमा आएर स्वयं पार्टीका महासचिवले यसबारेमा कुनैपनि निर्णय नभएको जानकारी पनि गराउनुभयो । सचिवालयमा कुरा चाँही आएको हो तर औपचारिक रुपमा यसो गर्ने समझदारी छैन् भन्ने कुराहरु पनि आए जसले अन्यौल बढायो । आज बिहान माधव नेपालसँग पनि कुराकानी भएको थियो । बिहान ११ बजे खिमलाल देवकोटा जी र म दुबै जना उहाँसँग कुराकानी गर्न गयौँ । उहाँ (खिमलाल देवकोटा) ले र मैले आफ्नो कुराहरु राख्यौँ । समग्र सञ्चार माध्यममा आएका कुराहरु सहि हुन भन्ने लाग्दैन् ।’’

नेम्वाङले संविधान संशोधनको कुरा पादर्शी ढंगले अगाडी बढ्नुपर्ने समेत बताउनुभएको छ । देश, जनता र पार्टीका कार्यकर्ताहरुले समेत बुझनेगरी यस्ता कुराहरु अगाडी बढाउनुपर्ने उहाँले बताउनुभयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।