फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेअक्समाथि ४–३ गोलको जित निकालेको हो । आफ्नै मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन मार्कुइन्होसले २ गोल गरे भने इडिन्सन काभानी र किलियन एम्बाप्पेले समान एक–एक गोल गरे । यता, बोर्डेअक्सका लागि हवाङ उइ–जो, पाब्लो, रुबेन पार्डोले समान एक–एक गोल गरे ।

खेलमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । १८औं मिनेटमा हवाङले गोल गर्दै बोर्डेअक्सलाई अग्रता दिलाए । तर, खेलको २५औं मिनेटमा काभानीले गोल गरेपछि पीएसजी बराबरीमा फर्कियो । यस्तै पहिलो हाफको इन्जुरी समयमा दुवै टोलीले एक–एक गोल गरे । पीएसजीका लागि मार्कुइन्होसले गोल गरे भने बोर्डेअक्सका लागि पाब्लोले गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो । तर, खेलको ६३औं मिनेटमा मार्कुइन्होसले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

यस्तै एम्बाप्पेले ६९औं मिनेटमा गोल गरेपछि पीएसजीले ४–२ गोलको अग्रता बनायो । खेलको ८३औं मिनेटमा बोर्डेअक्सका पार्डोले गोल गर्दै खेलको अवस्थामा ४–३ गोलमा ल्याए । यता, खेलको इन्जुरी समयमा ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएपछि पीएसजस् १० खेलाडीमा सीमित भयो । बोर्डेअक्सका युसुफ सबेलीमाथि फउल गरेपछि नेयमारले पहेँलो कार्डसहित रातो कार्ड पाएका थिए । यससँगै अंक तालिकाको शीर्ष स्थानको पीएसजीले २६ खेलबाट ५३ अंक जोडेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।