१० फागुन । दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने देखिएको छ । मौसमविद् शान्ति कँडेलले नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक÷दुई दिन रहने सम्भावना रहेको बताइन् । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ । तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ ।

अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । काठमाडौँसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताइन् । पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ । बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बितेका २४ घण्टामा देशैभर वर्षा भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।