फागुन १० – चीनबाट फैलिएको ‘कोरोनाभाइरस’ प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माणको काम सकिएपनि हस्तान्तरणमा ढिलाइ भएको छ ।

स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो ।

चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ ।

माघको पहलो साता नै निर्माण सम्पन्न भइसकेको स्कुल प्रकोप नियन्त्रण भइ मानिस आवत–जावतमा सहज भएसँगै नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।

आवरणमा पुरानै ‘दरबार हाइस्कुल’ हो कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी माघको पहिलो साता नै निर्माण सम्पन्न भइसकेको थियो ।

निर्माणकार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एकपटक अनुगमन गर्नुपर्ने र उनीहरू कहिले आउने भन्ने विषय यकिन नभएकाले हस्तान्तरणको विषय अन्योलमा परेको हो ।

अनुगमन टोली माघको तेस्रो साता आउने कार्यतालिका रहे पनि कोरोनाभाइरस प्रकोपका कारण अन्योलमा परेको छ ।

भूकम्पपछि सुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल–ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य पनि सकिसकेको छ ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिलेजस्तै नै देखिन्छ ।

चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ ।

सुरुको समयदेखि १९ महिनामा सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी सम्पन्न गरेका हुन् ।

रु ८५ करोडको लागतमा ९ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ ।

उक्त भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्यूट’ले गरेको हो ।

निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्नेगरी काम सम्पन्न गरिएको बताए ।

‘कोरोनाभाइरस प्रकोप सकिएपछि सरकारलाई हस्तान्तरण हुन्छ’–उनले भने ।

वि.सं. २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको उक्त हाइस्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो ।

वि.सं. १९१० मा राणाका छोरा–छोरी पढाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो ।

वि.सं. १९६४ मा संस्कृत पढ्नका लागिमात्र सर्वसाधारणका छोरा–छोरीलाई पनि खुला गरिएको सो विद्यालयमा वि.सं. २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो ।

वि.सं. २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत् सञ्चालन हुँदै आएको छ ।

सुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो ।

दरबार हाइस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ । सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्यामा भने कमी छ ।

पुरानो विद्यालय भएपनि पछिल्लो समय पहिलेजतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ ।

पहिले सम्पन्न परिवारका छोरा–छोरी अध्ययन गर्दै आएपनि पछिल्लो समय श्रमिकका छोरा–छोरीमात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताउँछन् ।

भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३०० मात्र विद्यार्थी अध्ययनरत् छन् भने ३५ शिक्षक कार्यरत् छन् ।

ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठन–पाठन गराइएको छ ।

लामो समय काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछिमात्रै पुनःनिर्माणको काम सुरु भएको थियोे ।

पछिल्लो समय सरकारले स्थानीय तहलाई जिम्मा दिनेगरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक संख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

शिक्षकको संख्याका आधारमा विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ । एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानुनी मान्यता छ ।

चिनियाँ सरकारसँग भूकम्पका कारण अतिप्रभावित १४ जिल्लाका एक/एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको थियो । -शर्मिला पाठक (रासस)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।