च्यासल र हिमालयन बिचको खेल तस्विर: किरण पौडेल

हेटौंडा,९ फागुन,हिमालयन शेर्पा काठमाडौं पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारि तेस्रो बागमती गोल्ड कपको फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा च्यासल युवा क्लब ललितपुरलाई २-१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा काठमाडौं फाईनल प्रवेश गरेको हो ।

खेलको ७ औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले पेनाल्टी को सदुपयोग गर्दै टिमलाई १ गोल को अग्रता दिलाए । तर खेलको ४७ औं मिनेटमा च्यासलका विदेशि खेलाडी कनिज अजेगोके भुजारीले गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । यस्तै खेलको ७४ मिनेटमा पुन: हिमालयनका श्रेष्ठले गोल थप गर्दै हिमालयन लाई २-१ ले गोल अन्तरले विजयी गराए ।

यस्तै दोस्रो सेमिफाईनल खेल भोलि संकटा युवा क्लब काठमाडौं र जाउलाखेल युवा क्लब बिच हुने आयोजकले जनाएको छ । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् । पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।

बागमती गोल्ड कपको फाईनल खेल फागुन ११ गते:

जारि गोल्ड कप फुटबल प्रतियोगिताको फाईनल खेल फागुन ११ गते हुने भएको छ । प्रतियोगिताको फाईनल खेल फागुन १२ गते हुने भनिएपनि प्राविधिक कारणले एक दिन अघि सरेको बागमती खेलकुद विकास समितिका अध्यक्ष अरुण बलले जानकारि दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।