फागुन ९ -अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० का विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज प्रतिवेदन बुझाउने भएको छ ।

आज बसेको बैठकले कार्यदलले सुझावसहित तयार पारेको प्रतिवेदन आज पार्टी अध्यक्षद्वयलाई बुझाउने भएको हो । केन्द्रीय समिति बैठकले गठन गरेको अध्ययन समितिले प्रतिवेदन तयार पारिसेको र सम्भवतः आज नै बुझाउने तयारी रहेको कार्यदलका सदस्य भीम रावलले बताउनुभयो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवशयक तथ्यहरुको विस्तृत अध्ययन भएको उहाँले बताउनुभयो ।

‘‘गहन विश्लेषण र विस्तृत अध्ययन पश्चात प्रतिवेदनको मस्यौदा तयार भएको छ । तयार प्रतिवेदनको मस्यौदालाई सम्भवतः आज बुझाउँछौँ । त्यसपछि यसका सम्बन्धमा निर्णय गर्नुपर्ने, कसरी अगाडी बढ्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गरेपछि जानकारी होला । प्रतिवेदन नबुझाई के के कुरा समेटिएको छ भनेर भन्न सकिँदैन् ।’’ उहाँले भन्नुभयो, ‘‘केन्द्रीय कमिटि बैठकले नै अध्ययन पछि प्राप्त सुझावहरुका आधारमा सम्बन्धित तहबाट छलफल भएपछि निर्णय गर्ने भन्ने छ । त्यस अनुसार नै हुन्छ । ’’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो । एमसीसीको मुल सम्झौता सँगै अन्य दर्जनबढी सम्झौताहरु अध्ययन गर्नुपर्ने भएकाले समय थपिएको रावलले बताउनुभयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।