बैतडीको पाटन नगरकी उनलाई आफ्नो उमेर यकिन छैन । जन्मघर भारत रहेको थाहा भए पनि ठाउँबारे जानकारी छैन । पाँच वर्षकी छँदा उनलाई बैतडीको पाटनका भण्डारी थरका व्यक्तिले दशरथचन्द नगरपालिका-२ को निंगलाशैनी मन्दिरमा ‘देवी’ चढाउन भनेर ल्याएका हुन् । पूजाआजा भएका दिन मन्दिरमै बस्नुपर्थ्यो। अघिपछि देवी चढाउनेले त्यही किनारमा बनाइदिएको सानो छाप्रोमा बस्थिन् । त्यही छाप्रोमा उनले वर्षौं बिताइन् । अहिले गाउँमा मागेर गुजारा चलाइरहेकी छन् । ‘गाउँलेकै भरमा छाक टरिरहेको छ,’ उनले भनिन् ।

आजको कान्तिपुर दैनिकमा बैतडीबाट तृप्ती शाहीले लेखेको खबर अनुसार उनलाई आमाबाबुको सम्झना छैन, बिहे पनि भएको छैन, तर दुई छोरा र तीन छोरी गरी पाँच सन्तान छन् । जेठो छोरा र दुई छोरीको विवाह भइसक्यो । कान्छो छोरा रोजगारीका लागि भारतमा छन् । कान्छी छोरी उनीसँगै छिन् । ‘देउता’ सँग विवाह भएको भनेर सिन्दूर लगाउने उनी छोराछोरी कसका हुन् भन्न सक्दिनन् । देउकी बसेकालाई जसले पनि यौनजन्य हिंसा गर्ने भएकाले छोराछोरी कसका हुन् थाहा नभएको उनले बताइन् ।

‘मन्दिरमा चढाएकाले यस्तै गर्नुपर्छ भन्ने गरिएको थियो,’ उनले भनिन्, ‘मसँग दैनिक २÷३ जना पुरुष मान्छे आउँथे, भाग्य यस्तै हो भनेर सहेर बसेँ, छोराछोरी जन्मिए।’ जान्ने–बुझ्ने भएपछि छोराछोरीले ‘बुवा खै’ भनेर सोधेको सम्झँदै उनले भनिन्, ‘तम्रा बुवा भगवान् हुन्, मरिसके भनेर भन्छु । छोराछोरीले सोधेको प्रश्नको उत्तर मसँग छैन।’

यो उमेरसम्म आइपुग्दा पाएका हन्डरबारे बताउँदा उनी भक्कानिन्छिन् । ‘राम्ररी खानलाउन पाइनँ, चप्पल धरी लगाउन पाइएन,’ उनले भनिन्, ‘अरूको इच्छा पूरा गर्दागर्दै आफ्नो जीवन भताभुंग भयो।’ दशरथचन्द नगरपालिकामै बस्दै आएकी अर्की एक महिलाको अवस्था पनि उनको जस्तै छ । उनलाई पनि स्थानीयले सानै उमेरमा त्रिपुरासुन्दरी मन्दिरमा चढाएका हुन् । उनका तीन छोरा र एक छोरी छन् ।

तर छोराछोरीका पिता को हुन् भन्ने थाहा छैन । ‘छोराछोरीले बुवाका बारेमा सोध्दा सबैभन्दा धेरै पीडा हुन्छ,’ उनले भनिन्, ‘तिनको नागरिकता लिने बेला समस्या भएको थियो । गाउँलेको प्रयासले बल्लबल्ल पाएँ।’

आफूहरूले जिम्मा बसेर देउकीबाट जन्मेका छोराछोरीलाई नागरिकता सिफारिस गरेको पाटन नगरपालिका–९ का वडाध्यक्ष लोकबहादुर भण्डारीले बताए। ‘कतिपय देउकीका परिवारले अझै नागरिकता पाउन सकेका छैनन्,’ उनले भने । उनीहरूको अवस्था दयनीय रहेको र केही सहाराविहीन भएको उनले बताए।

सुदूर पश्चिमका कतिपय जिल्लामा छोरीलाई देउकी भनेर चढाउने चलन २०४२ सालमा कानुन बनेयता हटिसकेको छ। पूर्व सांसद पुरन दयालका अनुसार त्यसबेला जिल्लाका मन्दिरहरूमा करिब हजारजना देउकी थिए । ‘२०४८ सालमा बालबालिका सम्बन्धी कानुन आयो र त्यसमा तोकेरै बालबालिकालाई मन्दिरमाचढाउन नपाइने भनिएपछि यो कुप्रथा हट्यो,’ उनले भने । कानुनी कारबाहीको डर र शिक्षाको विकाससँगै उक्त कुप्रथा हटे पनि धेरै वर्षअघि मन्दिरमा छाडिएका महिलाहरूलाई समाजमा पुनःस्थापनाको उचित प्रबन्ध नहुँदा धेरैको अवस्था नाजुक रहेको उनले बताए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।