एजेन्सी,क्रिकेटर विराट कोहली सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० मिलियन फलोअर हुने पहिलो भारतीय बनेका छन् । भारतीय पुरुष क्रिकेट टिमका कप्तान कोहलीलाई अहिलेको पुस्ताका सर्वश्रेष्ठ ब्याट्सम्यानमध्ये एक मानिन्छ । इन्स्टाग्राममा १ सय ४८ जनालाई फलो गर्ने कोहलीले अहिलेसम्म ९ सय ३२ पोस्ट गरिसकेका छन् ।

३१ वर्षीय कोहली भारतको सबैभन्दा मूल्यवान सेलिब्रेटी हुन् । विश्वव्यापी सल्लाहकार फर्मका अनुसन्धानकर्ता डफ र फेल्प्सको अध्ययनका अनुसार कोहली लगातार तेस्रो वर्ष पनि ब्राण्ड भाल्युएशन लिस्टमा शीर्ष स्थानमा छन् । सन् २०१९को भन्दा उनको मूल्य ३९ प्रतिशतले बढेर २३७.५ मिलियन डलरमा पुगेको छ ।

बलिउड अभिनेत्री प्रियंका चोपड़ा जोनस इन्स्टाग्राममा दोस्रो सबैभन्दा बढी फलो गरिएकी भारतीय हुन्, उनलाई ४९.९ मिलियन फलोअरहरूले फलो गर्छन् । अर्की बलिउड अभिनेत्री दीपिका पादुकोण ४४.१ मिलियन फलोअरका साथ सूचीमा तेस्रो स्थानमा छिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इन्स्टाग्राममा ३४.५ मिलियन प्रयोगकर्ताहरूले फलो गर्छन् भने कोहलीकी श्रीमती अर्थात् बलिउडकी नायिका अनुष्का शर्मालाई ३२.६ मिलियन फलोअरहरूले फलो गर्छन् । कोहली हाल न्युजील्यान्डमा भारतीय क्रिकेट टोलीको नेतृत्व गर्दै छन् । पाँच टी–२० र तीन एकदिवसीय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेको यी दुई टोलीबीच शुक्रबारबाट टेस्ट श्रृंखला सुरु हुँदैछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।