साङ्केतिक तस्वीर

हेटौंडा,२ फागुन,समाजमा बाल बिवाह अन्त्य गर्ने सरकारी तथा गैरसरकारी निकायको सक्रियतालाई समेत चुनौती दिँदै मकवानपुरका एक युवकले भने दुई बालिकालाई बिहे गरेका छन् । त्यो पनि तीन महिनाको फरकमा । मकवानपुरको बकैया गाँउपालिका–४ का २० वर्षीय दीपक तिरुवाले १४ वर्षीया र १६ वर्षीया दुई बालिकालाई आफ्नो प्रेममा फसाई बिहे गरे । काभ्रेकी एक १४ वर्षीयालाई बिहे गरेको ३ महिनापछि तिरुवाले मकवानपुरगढीकी १६ वर्षीया बालिकालाई पनि प्रेममा पारी आफन्तकोमा भित्रायाए । पहिलो बिहे भएको जानकारीसमेत नदिई अर्की १६ वर्षीया बालिका पूजा परियार (नाम परिवर्तन) लाई आफन्तकोमा भित्रायपछि पूजाको परिवारले तिरुवाविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेको छ । पहिलो बिहे भएको जानकारी नदिई झुक्याएर दोस्रो बिहे गरेको भन्दै प्रहरीकोमा पुगेका पूजाको आफन्तले तिरुवालाई बलात्कारको मुद्दा चलाउने सल्लाह पाए । र सोही अनुसार मुद्दा दर्ता गरे। अहिले तिरुवा प्रहरीको हिरासतमा छन् ।

दोस्रो बिहे गरी तिरुवा हिरासतमा पुगेपछि तीन महिनाअघि बिहे गरेकी पहिलो पत्नी १४ वर्षीया अजिता सुनार (नाम परिवर्तन) अहिले दैनिकजसो प्रहरी कार्यालय धाउँछिन् । आफू गर्भवतीसमेत भएको र आफूलाई हेरचाह गर्ने कोही आफन्त नभएको भन्दै तिरुवालाई छुटाइदिन प्रहरीसँग हारगुहार गर्छिन् । तर, तिरुवाविरुद्ध बलात्कारको मुद्दा परेको र छुटाउन नमिल्ने भन्दै प्रहरीले भने सुनारलाई फकाईदिने गरेको छ ।

तिरुवाविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेपछि पूजा भने घर फर्किएकी छन् । बिहे गर्ने भनी भागेर हिँडेकी पूजालाई घरमा बस्न भने त्यति सजिलो छैन । आफन्त र समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन गरेका छन् । समाजले घृणाको भावले हेर्न थालेपछि पूजालाई भने गाउँमा बस्न मन छैन । ‘म पढ्न जान सक्ने अवस्था पनि छैन, गाँउभरी सबैले हेलाँ गर्छन् । कुरा काट्छन् । मलाई यो गाउँमा बस्नै मन छैन ।’ कक्षा ८ मा अध्ययन गर्ने पूजाले साझाकुरासँग फोनमा कुराकानी गर्दै भनिन् । ‘बुबाआमाले मान्छन् भने बरु म मुद्दा फिर्ता लिएर उहिसँग बसौं जस्तो लाग्या छ । उसको पहिलो श्रीमतीले पनि मिलेर बस्ने भनेकी छ ।’

मकवानपुरगढी गाउँपालिकाकी पूजा परियार गत माघ १७ गते तिरुवासँग बिहे गर्ने निर्णय गरी घरबाट भागेकी थिइन् । परिवारलाई नै थाहा नदिई खेतबारीमा काम गरेबापतको ज्यालाबाट मोबाइल किनेकी पूजासँग तिरुवाको फोनमा कुराकानी र चिनजान भएको थियो । मोबाईलबाट तिरुवासँग प्रेममा परेर पढाई र घरपरिवार छोडेकी पूजाले अहिले आफूले गरेको निर्णयप्रति पश्चाताप मानिरहेकी छन् । बिवाह गर्न १७ गते घर छोडेर हिँडेकी परियार २ दिन मकवानपुरगढी स्थित तिरुवाको दिदीको घरमा बसिन् । त्यसपछि १८ गते घुमाउन लैजान्छु भन्दै तिरुवाले उनलाई पोखरा लगे । पोखरामा पनि २ दिन बसेका उनीहरु २० गते हेटौंडा फर्किए ।

विवाह गर्छु भनेर पूजालाई भगाएर ल्याएका तिरुवाले घर नलगी हेटौंडा–११ थानाभ¥याङस्थित आफन्तकोमा राखे । २१ गते तिरुवाको दाई भाउजूले तिरुवा बिवाहित रहेको बताएपछि परियारलाई ठूलो बज्रपात पर्यो । पूजाले घर छोडेर भागेपछि छोरीको खोजी गरिरहेका बाआमाले पूजाले धोका पाएको थाहा पाए । र पूजालाई बलात्कार गरेको
आरोपमा माघ २२ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा तिरुवाविरुद्ध मुद्दा मुद्दा दर्ता गरे । बलात्कारको अभियोगमा तिरुवालाई नियन्त्रणमा अदालतबाट म्याद थप गरी लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए । यस्तो घटनाले प्रदेशलाई बालबिवाहमुक्त बनाउने अभियानलाई नै चुनौती थपिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखाकी प्रमुख ईन्दिरा ओझाको भनाइ छ ।

प्रदेशले नीति नियम तथा कानुन निर्माण गरेको बताउँदै उनले यस विषयमा स्थानीय तहरुले बढी सक्रियता देखाउनुपर्ने बताइन् । तीन महिनाको अवधिमा दुईजना बालिकासँग विवाह गरी यौनसम्बन्ध राखेका तिरुवालाई बालबिवाहसँगै बहुबिवाहको पनि मुद्दा चलाउनुपर्ने अधिवक्ता अप्सरा बस्नेतको भनाइ छ । १४ वर्षकै उमेरमा बिवाह गरी गर्भधारण गरेकी सुनुवारको अवस्था नाजुक भए अल्पकालीन सेवामा राख्न सकिने तर तिरुवालाई कानुनी रुपमा संरक्षण गर्न नहुने उनले बताइन् । ‘सुनुवारको ख्याल राख्ने मान्छे कोही पनि छैन भने त्यो राज्यको दायित्व हुन जान्छ , उनको ख्याल राज्यले गर्छ । तर अपराध गरेका तिरुवालाई भने सजाय दिनैपर्छ ।’ उनले भनिन् ।

आजको साझाकुरा दैनिकमा सिर्जना नेपालले समाचार लेखेकी छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।