
२९ माघ,चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जना भन्दा बढी बिरामी भएका छन्। जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३, गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हुन्।
मंगलबारदेखि यस्ता लक्षणसहित धेरै व्यक्ति बिरामी भएकाले कोरोनाको आशंका गरिएको भन्दै जुगल गाउँपालिकाले तुरुन्त चिकित्सकको टोली पठाई परीक्षण गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ। जुगल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएकोे पत्रमा भनिएको छ : विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ । त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्