माघ २७- तपाई हामीले ख्याल गरेकै कुरा हो, नमस्तेबाट एनसेलमा कल गर्दा नमस्तेबाट नमस्तेमै गर्दा काट्नेभन्दा बढी पैंसा काट्छ ।

कुनै एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा सेवा प्रदायक कम्पनीहरुले अतिरिक्त शुल्क काट्ने गर्छन् । यसरी काटिने शुल्कलाई अन्तरआवद्धता शुल्क (आइयुसी कल रेट) भनिन्छ ।

जस्तै की नमस्तेको सीमबाट एनसेलमा फोन गर्दा आफ्नो कल पूरा गरिदिएवापत नेपाल टेलिकमले एनसेललाई केही पैंसा बुझाउँछ । यो पैंसा विभिन्न सम्झौताअनुसार एक अपरेटरले अर्को अपरेटरलाई दिने गर्छन् ।

नमस्तेबाट नमस्तेमै कल गर्दा प्रतिमिनेट १ रुपैयाँ ५० पैंसा काट्छ तर एनसेल वा स्मार्टमा कल गर्दा भने २ रुपैयाँ ५५ पैसा काट्ने गर्छ ।

यद्यपी एनसेलबाट नेपालभित्र जुनसुकै सिममा कल गर्दा पनि २ रुपैयाँ ५४ पैंसा नै काट्छ । एनसेलले नेपाल टेलिकमलाई दिने अन्तरआवद्धता शुल्क यसमै जोडिएको हुन्छ ।

चैतबाट घट्दै कल दर
दुरसञ्चार कम्पनीको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले आगामी चैतबाट कल शुल्क घटाउने भएको छ ।

प्राधिकरणले अन्तरआवद्धता निर्देशिका २०७६ जारी गरेको छ । २० चैतबाट लागु हुने गरि प्राधिकरणले निर्देशिका ल्याएको हो ।

अब एनसेलबाट नमस्ते एवं स्मार्टमा कल गर्दा प्रतिमिनेट २ रुपैयाँ १० पैसा मात्रै काट्ने छ । २० चैतसम्म भने हालकै शुल्क २ रुपैयाँ ५४ पैसा रहने छ ।

त्यस्तै नमस्तेबाट कल गर्दा काट्ने शुल्क प्रतिमिनेट १ रुपैयाँ ६ पैसा हुनेछ । हाल यो शुल्क प्रतिमिनेट १ रुपैयाँ ५० पैसा रहेको छ ।

प्राधिकरणले अन्तरआवद्धता शुल्क ५४ पैसाबाट घटाएर १० पैसामा झारेको हो ।

फोन कल भन्दा इन्टरनेटका माध्यमबाट गरिने कल दर बढ्न थालेपछि मोबाइल कल शुल्क पनि घटाइन लागेको हो ।

विदेशबाट नेपालमा कल गर्दा काटिने शुल्क पनि घट्दै
प्राधिकरणले अब विदेशबाट नेपालमा कल गर्दा काटिने शुल्क पनि प्रत्येक वर्ष घटाउँदै लैजाने भएको छ ।

विदेशमा काम गर्न जाने नेपालीको संख्या धेरै छ । र त्यहाँबाट नेपाल कल गर्दा काटिने शुल्क पनि बढी छ । तर, अब प्राधिकरणले प्रत्येक वर्ष यो शुल्क घटाउँदै लैजाने भएको छ ।

२० चैतबाट पहिलो वर्षका लागि जुनसुकै देशबाट नेपालमा कल गर्दा प्रतिमिनेट ८ रुपैयाँ शुल्क लाग्ने छ ।

यो शुल्क प्रत्येक वर्ष ९० पैसाका दरले घटेर अबको ८ वर्षपछि प्रतिमिनेट १ रुपैयाँ ८० पैसा पुग्ने छ ।

इन्टरनेटको विकाससँगै पछिल्लो समय फोन कलको मात्रा घटेपछि दुरसञ्चार कम्पनीहरुलाई नयाँ मोडालिटीमा लैजान आवश्यक रहेको प्राधिकरणका निर्देशक मीनप्रसाद अर्याल बताउँछन् ।

स्वदेश अथवा विदेशमा पनि फोन गर्न भोइस कल भन्दा पनि ह्वाट्सएप, भाइबर, म्यासेन्जरलगायत इन्टरनेटका साधनको प्रयोग उच्च भएको छ ।

तर इन्टरनेटको पहुँच नभएको गाँउबस्तीतिर भने महँगो कल शुल्कका कारण विदेशबाट नेपाल कल गर्न समस्या हुनेगर्छ । कल शुल्क घटेपछि मुख्य फाइदा इन्टरनेटको पहुँच नभएका क्षेत्रतिर हुन्छ । रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुले घरमा इन्टरनेट नभए पनि सस्तोमा फोन कल गर्न सक्नेछन् ।

इन्टरनेटभन्दा सस्तो र सुलभ किसिमले सेवा दिन सके मात्रै दुरसञ्चार कम्पनीहरुले सबै प्रयोगकर्ताहरुलाई सहज सेवा दिन सक्ने देखिन्छ ।

यसकारण फोन कल शुल्क, इन्टरनेट शुल्कलाई उपभोक्ता सहमत बनाउन प्राधिकरण लागिपरेको हो ।

भारतलगायतका थुप्रैदेशमा फोन कल शुल्क एवं इन्टरनेट शुल्क एकदमै न्युन रहेको छ ।नयाँ पत्रिकाबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।