हेटौंडा — बिहान उठ्‍नेबित्तिकै उनी आकाश हेर्छन् । आकाश खुला छ भने खुसी हुन्छन् । बादल लागेको भए दिक्क मान्छन् । निरन्तरको हुस्सु र वर्षात्ले मह उत्पादन घटेकोमा राक्सिराङ गाउँपालिका–६ का दीपन चेपाङ चिन्तित छन् ।  यो खबर कान्तिपुर दैनिकमा प्रताप विष्टले लेखेका हुन

गत वर्ष उनले २ सय घार मौरी पालेका थिए । त्यसबाट करिब १५ लाख रुपैयाँ कमाए । गत वर्षको कमाइबाट हौसिएर यस वर्ष उनले सयवटा घार थपे । तर, महको उत्पादन थपिएन । ‘मौरीलाई वातावरण नमिलेर उत्पादन स्वाट्टै घट्यो,’ दीपनले भने । गत वर्ष यो सिजनमा उनले ४ टनभन्दा बढी मह बिक्री गरिसकेका थिए । यो वर्ष एक टन मात्र बेचेका छन् । २० लाख रुपैयाँ बराबरको मह बिक्री गर्ने उनको लक्ष्य अधुरै भएको छ । उनको बसोबास राक्सिराङको सिलिङेमा भए पनि मौरीको घार चापलमा राखेका छन् ।

सिलिङेकै अर्का अगुवा कृषक आइतेसिंह चेपाङले पोहोरको भन्दा यो वर्ष आधी पनि मह उत्पादन नभएको बताए । ‘अहिलेसम्म ५० केजी पनि मह उत्पादन भएको छैन,’ उनले भने, ‘गत वर्ष यो अवधिमा दुई टनभन्दा बढी मह बिक्री गरिसकेको थिएँ ।’ उनले गत वर्ष करिब ९ लाख रुपैयाँ बराबरको मह बिक्री गरेका थिए । उक्त क्षेत्रका सबै मौरीपालक कृषकको मह उत्पादन घटेको छ ।मौरीपालकले पुसको पहिलो सातादेखि माघको अन्तिम सातासम्म ६ पटक मह काढ्ने गरेका थिए । अहिले ३ पटकभन्दा मह काढ्न पाएका छैनन् ।
पुसदेखि पानी पर्ने र बादल लागेकाले मौरीको चरनमा असर पर्दा मह उत्पादन घटेको भण्डारास्थित मौरी विकास कार्यक्रमका प्रमुख एवं मौरीविज्ञ शिव रिजालले बताए । ‘झरी परेकाले चिउरीको फूल पनि ढिलो फुल्यो,’ उनले भने, ‘मौरीहरू ठण्डीका कारणले चरनमा जान सकेनन् ।’ मौरीपालन क्षेत्रमा बच्छिउको बिगबिगीले मौरीलाई चरनमा समस्या भएको छ । बच्छिउले मौरी खाइदिने गर्छ ।
राक्सिराङको सिलिङे क्षेत्रमा उत्पादित सबै मह किन्ने व्यवसायी दिनेश चेपाङले यस वर्ष १२ टन मह मात्र खरिद गरेको बताए । ‘गत वर्ष यो अवधिमा २५ टनभन्दा बढी मह खरिद गरिसकेको थिएँ,’ उनले भने । सिलिङेको बस्तीमा गत वर्ष महबाट मात्र झन्डै एक करोड ५० लाख रुपैयाँ भित्रिएको थियो । यो वर्ष एक करोड रुपैयाँ पनि भित्रिन धौ–धौ छ ।
मकवानपुरका १ सय ५० भन्दा बढी मौरीपालक कृषकले गत वर्ष ६० क्विन्टल मह उत्पादन गरेर बिक्री गरेका थिए । जिल्लामा आठ हजारभन्दा बढी मौरीको घार भएको मौरीपालक संघ मकवानपुरका अध्यक्षसमेत रहेका आइतसिंहले बताए । ‘काँकडाको सिलिङेमात्र करिब ६ हजार भन्दा बढी मौरीको घार छ,’ उनले भने ।
व्यावसायिक मौरीपालन बढ्दै
सिलिङेका स्थानीयले ३ वर्षदेखि आधुनिक घारमा उन्नत मेलिफेरा जातको मौरीपालन गरेका छन् । विगतमा घरको खोपामा वा मुढेघारमा स्थानीय सेरेना जातको मौरी पाल्ने गर्थे । ‘सिलिङेका चेपाङ र तामाङले विगतमा परम्परागत शैलीले निर्वाहमुखी मौरीपालन गर्थे,’ कृषि प्राविधिक रवीन्द्र पौडेलले भने, ‘अहिले व्यावसायिक ढंगले मौरीपालन गर्न थालेका छन् ।’
सिलिङेमा चिउरीका रूखहरू प्रशस्त छन् । चिउरीको फूललाई नै लक्षित गरेर गत वर्ष सिलिङेका चेपाङ र तामाङले ६ हजार १ सय १३ वटा मौरीका घार राखेका थिए । अहिले उक्त वडाको चापल, मागेनी, माकलदमार, खनकन्डे, धुसाराङ र सिलिङेमा ६ हजार २ सयभन्दा बढी मौरीको घार राखेका छन् । चिउरीको मह स्वास्थ्यबर्द्धक र उच्च गुणस्तरको हुने भएकाले सिलिङेमा मौरी चराउन विगतमा बाहिरी जिल्लाका मौरीपालक कृषकको भीड लाग्ने गरेको थियो । विगत ३ वर्षदेखि सिलिङे सामुदायिक वनले बाहिरी जिल्लाका मौरीपालक कृषकलाई मौरी चराउन ल्याउन रोक लगाएको छ ।
मुलुकको विभिन्न भागमा चिउरीको महको माग व्यापक माग भएकाले बजारको समस्या छैन । व्यापारी दिनेशले कृषकसँग प्रतिकेजी मह २ सय ५० रुपैयाँमा खरिद गरी प्रशोधन गरेर प्रतिकेजी ३ सयमा बिक्री गर्ने गरेका छन् । चिउरीको मह मात्र होइन । घिउ पनि उत्पादन हुने गरेको छ । चेपाङ समुदाय चिउरीको घिउको भुटन हाल्ने गर्छन् । सिलिङेमा एक लाखवटाभन्दा बढी चिउरीका रूख छन् ।
किसानले पाएनन् आधुनिक मेसिन
वाग्मती प्रदेश सरकारको कृषि मन्त्रालयले चिउरीको राजधानी काँकडाको सिलिङेमा चिउरीको गेडा पिसेर घिउ निकाल्ने आधुनिक मेसिन उपलब्ध गराउने आश्वासन दिँदै आएको छ तर किसानले पाएका छैनन् । कृषिमन्त्री दावादोर्जे लामाले छिट्टै नै त्यस्तो उपकरण उपलब्ध गराउने बताए । ‘उपकरण खरिद प्रक्रिया सुरु गरेका छौं,’ उनले भने । चेपाङहरूले अहिले चिउरीको गेडा काठको चेपुवामा पिसेर घिउ निकाल्ने गर्छन् ।