११ माघ,कक्षा ८ को परीक्षामा उनी ‘होल फर्स्ट’ भइन् । घरमा सबै जना खुसी भए, धेरैचाहिँ उनका बुबा । त्यस दिन बुबाले उनलाई एक जोर लुगा र जुत्ता किनिदिए, साँझ घरमा मीठो मसिनो पाक्यो । उनका बुबाले स्टुडियोमै लगेर खिचिदिएको फोटो घरको भित्तामा टाँसियो । ‘त्यो बुबाले मेरा लागि देखाएको अन्तिम प्रेम हो,’ लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भरवालिया, रूपन्देहीकी पुष्पा गौतम (हरिजन) भन्छिन्, ‘त्यसपछि बुबा कहिल्यै आफ्नो हुन सक्नुभएन ।’

०७३ मा ८ कक्षा पास गरेपछि उनी ९ मा भर्ना हुने तयारीमा थिइन्, घरमा बिहेको कुरा चल्यो । १४ वर्षीया पुष्पा बिहेका लागि तयार थिइनन् । बुबा र दाजुसँग विवाद भयो । उनले बुबाको इच्छा होइन, आफ्नो सपना पछ्याउने अठोट गरिन् । तर बिहेको कुरा रोकिएन, उनलाई हेर्न छिमेकी गाउँका केटाहरू स्कुलसम्मै पुग्न थाले । जुन–जुन दिन केटाहरू उनलाई हेर्न स्कुल पुग्थे, त्यही–त्यही साँझ घरमा रडाको मच्चिन्थ्यो । तैंले इज्जत फालिस् भनेर बुबाले गाली गरे, बुबालाई दाइले साथ दिए तर पुष्पा टसकोमस भइनन् । ‘एक त मैले मेरो भविष्य बनाइसकेको छैन, अर्को हाम्रो देशको कानुनले २० वर्ष नपुगी बिहे गर्न हुन्न भनेको छ,’ उनले सुनाइन् । उनका तीन दिदीको बालविवाह नै भएको हो । सात कक्षाभन्दा माथि कसैले पढ्न पाएनन् । परिवारले दिन खोजेको त्यो निरन्तरतालाई उनी भत्काउन चाहन्थिन्, सफल पनि भइन् ।

बिहे गर्दिनँ भनेकै कारण उनले भोगेको दुःखको ‘फाँट’ आँखाले नभ्याउन्जेलसम्मको छ । परिवार र समाजले लगाएका आक्षेप सम्झन मन लाग्दैन, बिर्सन पनि सक्दिनन् । यो उमेरमै बिहे गर्नुपर्छ र गर्दिनँ भन्ने विषयमा विवाद हुँदाहुँदै झोंक्किएका बुबाले बर्साएको लाठीको दाग उनको शरीरमा अहिले पनि देखिन्छ । ‘तर उपचारका लागि अस्पताल कहिल्यै लगेनन्,’ उनी सम्झिन्छिन्, ‘पिटाइका कारण बेला–बेला छाती दुखिरहन्छ ।’ आफूलाई लागेको चोट त सहेकै थिइन्, रोक्न जाँदा आमाले पनि कुटाइ खाएको कुराले उनलाई झन् पिरोल्छ । भन्छिन्, ‘मेरा लागि आमाले बहुत दुःख पाउनुभयो ।’

एसएलसी पास गरेपछि पछिल्लोपटक बिहेको प्रस्ताव आयो । उनले फेरि पनि मानिनन्, घरकाले छोड्दै छोडेनन् । अति भएपछि उनी बिहे रोकिपाऊँ भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुगिन् । उनको बिहे त रोकियो तर यातना थपियो । दिउँसो सुतिरहेका बेला उनको अनुहारमा कसैले केही पोतिदियो, अनुहार पटपटी फुट्यो । अहिले चर्किएको उनको गाला निको भइसकेको छैन । ‘यसलाई आफ्नो खुबसुरतीको खुब घमण्ड छ, त्यो तोडिदियो भने कसैले बिहे गर्दैन, अनि थाहा पाउँछे,’ गाउँलेले गरेको कुरा उनी सम्झिन्छिन् तर ठ्याक्कै कसले त्यसो गरेको होला भन्ने ठम्याउन सक्दिनन् ।

घर घरजस्तो लागेन । आमाबाहेक परिवारका सबै सदस्य पराईजस्ता भए । ‘मैले ८ पास गर्ने बित्तिकैदेखि पार्ट टाइम जागिर गर्न थालेको थिएँ, पढाइ खर्च आफैंले जुटाएँ,’ पुष्पा भन्छिन्, ‘पहिलोपटक आएको बिहेको प्रस्ताव अस्वीकार गरेका कारण घरबाट मैले खर्च पाउन छोडेकी थिएँ ।’ परिवारको हतोत्साह, गाउँलेको खिसिट्युरी र अपमान उनलाई शिर निहुर्‍याएर गुमनाम हुन काफी थिए तर रोजिन् फरक बाटो । स्थानीय कर्महवा माविमा कक्षा ११ मा पढिरहेकी उनी भन्छिन्, ‘बालविवाह ठीक होइन भन्ने लागेपछि मैले गाउँमा हुने बालविवाह रोक्न पहल थालेँ ।’

उनले रोजेको बाटो सहज थिएन । गाउँमा झन् धेरै कुरा काट्न थालियो । स्थानीय सरकार र प्रहरी प्रशासन उनी र उनीजस्तै अरू केही किशोरीले थालेको काममा सारथि बन्न सकेनन् । अघिल्लो वर्ष उनीहरूले गाउँमा भइरहेको एउटा बाल विवाहबारे स्थानीय प्रहरी कार्यालयमा उजुरी दिए । ‘उजुरी दिएपछि प्रहरी विवाह भइरहेको ठाउँमा पुग्यो पनि तर विवाह रोक्नुको सट्टा भोज खाएर फर्कियो,’ उनले सुनाइन् । गत साल उनको वडाकी सदस्य परमज्योति हरिजनका नातिको विवाह तोकियो । उनी १९ वर्षका मात्रै थिए । त्यसैले पुष्पाले जनप्रतिनिधिकै घरमा हुन लागेको गैरकानुनी विवाह रोकिपाऊँ भनेर उजुरी गरिन् । त्यतिखेर रोकिएको विवाह यही वर्ष उनीहरू २० वर्ष पुगेपछि भयो । त्यसो गरेबापत पुष्पालाई आएको धम्की भने डरलाग्दो थियो । ‘हाम्रो पछाडि पावर छ, कि हामीलाई दुःख दिन छोड्दे कि ज्यानको माया मार्,’ उनी परमज्योतिको परिवारले दिएको धम्की सम्झिन्छिन् । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।