सप्तरी, १० माघ, ३६ वर्षीया रेखादेवी खत्वे अहिले राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाको संयोजकत्वमा गठित तीन सदस्यीय न्यायिक समितिकी सदस्य हुन् । राजविराज नगरपालिका–९ मलेठ घर भएकी उनी दलित समुदायमै सो वडामा सर्वाधिक पढेलेखेकी महिला हुन् । एक छोरा र दुई छोरीकी आमा उनी सो वडामा दलित समुदायमै एक्ली आईएड पास हुन् । उनका पति किसान हुन् । उनी समान्य साक्षर हुन् तर पत्नीको पढाइप्रति देखिएको रुचीलाई सम्मान गर्दै उनले साथ दिए । शिक्षा हासिल गर्दै अहिले रेखा राजविराज नगरपालिकाको न्यायिक समितिमा पुगी उपप्रमुखसँगै दफा उपदफा केलाएर न्याय सम्पादन कार्यमा महत्वपूर्ण योगदान पुर्‍याइरहेकी छन् ।

उनी गत स्थानीय तहको निर्वाचनमा राजपाबाट उम्मेदवार भई वडा सदस्य पदमा निर्वाचित भएकी हुन् । राजनीति र न्याय सम्पादन दुवैमा सक्रिय भएपछि बिस्तारै खारिँदै गएकी छन् उनी । नगर प्रमुख शम्भूप्रसाद यादव र उप्रमुख झा पनि उनको कामबाट खुसी छन् । न्यायिक समितिका संयोजक उपप्रमुख झासँग अनुभव साटासाट गरेर संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर रेखाले पनि जिम्मेवारी राम्ररी पूरा गरिरहेको नगर प्रमुख यादवले बताए । ‘उनको कामबाट आशा पलाएको छ’ यादवले भने ।

संयोजक झाको कुशल नेतृत्वमा अधिकांश मुद्दा मिलापत्र गरी टुंग्याउन सफल भएको रेखाले बताइन् । ‘यहाँ आउने अधिकांश मुद्दा घरायसी हुने गरेकाले मिलापत्रमा जोड दिन्छौं,’ उनले भनिन्, ‘कतिपय मुद्दामा कडा निर्देशन पनि दिने गरेका छौं ।’

अदालतको न्याय लामो र महँगो हुँदै गएपछि नागरिकलाई स्थानीय तहबाट गठित न्यायिक समितिमार्फत निःशल्क र छिटो छरितो न्याय पाउन सहज भएको उनको ठम्याइ छ । न्यायिक समिति गठन भएयता नगरपालिकाको न्यायिक इजलाशमा ११४ मुद्दा दर्ता भए, जसमध्ये ५० प्रतिशत फछ्र्याेट भइसकेको उनी बताउँछिन् । केही जटिल प्रकृतिका र अधिकार क्षेत्रबाहिरका मुद्दा अदालत पठाइएको छ भने बाँकी फछ्र्याेट प्रक्रियामा रहेको उनले बताइन् । ‘यहाँको इजलाशमा सबभन्दा बढी जग्गा किचलो र महिलामाथि हुने घरेलु हिंसाको मुद्दा आउने गरेको छ, त्यसपछि घरायसी झगडा, शारीरिक यातना, सम्बन्ध विच्छेद, कुटपिट र लेनदेनका मुद्दा आउने गरेको छ,’ उनले भनिन् ।

न्यायिक सदस्यको पदमा जिम्मेवारी पाएपछि ऐन कानुनका पुस्तक अध्ययन गर्नुका साथै नजानेका कुरा वकिलसँग भेटेर सिक्ने र सल्लाह पनि लिने गरेको उनले सुनाइन् । उनले न्यायिक समितिले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष न्याय सम्पादन गरिरहेकाले समितिप्रति नगरवासीको विश्वास बढ्दै गएको दाबी पनि गरिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा माइती भएकी उनले चरम आर्थिक अभावका बाबजुद आमाबुवाले पढाउनु र पतिले पनि साथ दिँदा आज यस्तो अवसर पाउन सफल भएको बताइनन् । आफ्नो समुदायका अधिकांश व्यक्ति गरिबी र चेतनाको कमीका कारण शिक्षाको उज्यालोबाट अभैm वञ्चित रहेको बताउने रेखाले भनिन्, ‘सन्तानलाई शिक्षा दिनुपर्छ भन्ने मान्यता लिएर समुदायमा जाने गरेकी छु र त्यहाँ पनि सबैलाई दुःख गरेर भए पनि सन्तानलाई पढाउनुपर्छ भन्ने सम्झाउने गरेकी छु ।’ उनले न्यायिक समितिमा पाएको जिम्मेवारीमा खरो उत्रिनेगरी काम गरिरहेको र भविष्यमा यसले सकारात्मक परिणाम दिने विश्वाससमेत व्यक्त गरेकी छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।