१० माघ,नेपालको सुशासनको अवस्थामा सुधार हुँदै गएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गत वर्ष ३१ अंक पाएको नेपालले यस वर्ष ३४ अंक पाएर केही माथि उक्लिँदै सुधार गरेको हो । तर, अझै पनि नेपालको अवस्थामा आशा गरेअनुरूप सुधार आउन नसकेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांकले ५० अंक ल्याउने मुलुकलाई सुशासनको अवस्था राम्रो भएको मान्ने गरेको छ । सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त मानिन्छन् । नेपालको अवस्था अझै सुधारोन्मुख रहेको टीआईको निष्कर्ष छ ।

सन् २०१८ मा १२४औं स्थानमा रहेको नेपाल यस वर्ष ११३आंै स्थानमा उक्लिएको छ । यस वर्ष नेपालले तीन अंक बढी पाएर कुल ३४ अंक बनाए पनि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमध्ये २०औं स्थानमा छ । भ्रष्टाचार अवधारणा सूचकांक २०१९ का लागि ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सर्वेक्षण गरेका थिए । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्स्म्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्ट (भीडीईएम) को सर्वेक्षणका आधारमा सूचकांक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

नेपाललाई विश्व बैंकले ३५ अंक दिएको छ भने वल्र्ड इकोनोमिक फोरमले ४० नम्बर, ग्लोबल इनसाइटले ३५ नम्बर, बर्टेल्स्म्यान फाउन्डेसनले २९ नम्बर, वल्र्ड जस्टिस प्रोजेक्ट ३५ नम्बर र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्टले २९ नम्बर दिएको छ । १ सय ८० मुलुकमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशाअनुसारको प्रतिफल प्राप्त नभएको जनाएको छ ।

एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरू गत वर्षको तुलनामा बलियो र मजबुत देखिन थालेका छन् । गत वर्षको तुलनामा नेपालले एउटाबाहेक सबैजसो क्षेत्रमा बढी अंक पाएको छ । आयात–निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुसखोरीको विषयमा स्थिति सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल च्याप्टरका मुकुन्द प्रधानका अनुसार सन् २०१९ मा विश्वभर भ्रष्टाचार विरोधी अभियानमा शिथिलता आएको छ । पैसाले राजनीतिमा प्रभाव पारेका मुलुकमा भ्रष्टाचार मौलाएको देखिएको उनले बताए । सन् २००४ देखि नेपालमा ट्रान्सपरेन्सीको सूचांकमा समेटिन थालेको हो । राजधानी दैनिकले खबर छापेकाे छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।