काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभाका खालि भएका १८ सिटका लागि आज मतदान हुदै छ ।  निर्वाचन आयोगका अनुसार प्रदेश १ मा महिला, दलित र अन्य समूहमा ३ जना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा गरि ४ जना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा २-२ जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी २-२ जना गरी कुल १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुदै छ ।

६ दलबाट निर्वाचनमा उम्मेदवारी :

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा तीन-तीन जनाका दरले जम्मा नौ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा दुई-दुई जनाका दरले आठ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन-तीन जनाको दरले छ जना उम्मेदवार, गण्डकी प्रदेशमा रिक्त महिला समूह तर्फ दुई र अन्य समूह तर्फ  तीन  गरी पाँच  जना उम्मेदवार, प्रदेश ५ मा रिक्त महिला समूहतर्फ दुई जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूह तर्फ तीन  र अन्य समूह चार जना गरी नौ जना उम्मेदवार, कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा दुई-दुई जनाको दरले चार जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा दुई-दुई जनाका दरले चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस अनुसार सातवटा प्रदेशमा यस निर्वाचनमा महिला समूह १६ जना, दलितसमूह पाँच जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूह पाँच जना र अन्य समूह १९ गरी कूल ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

दुई हजार ५६ जना मतदाता :

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्य तर्फ ९३ र स्थानीय तह सदस्य तर्फ दुई सय ८४ गरी तीन सय ६७ जना मतदाता रहेका छन् ।

प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवनमा मतदान स्थल तोकिएको छ । यस केन्द्रमा प्रदेशसभा सदस्य तर्फ एक सय सात  र स्थानीय तह सदस्य तर्फ दुई सय ७२ गरी तीन सय ७९ जना मतदाता रहेका छन् ।

बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ । प्रदेश सभा सदस्य तर्फ एक सय १०  र स्थानीय तह सदस्यतर्फ दुई सय ३८  गरी तीन सय ४८ जना मतदाता रहेका छन् ।

यसैगरी आयोगले गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकेको छ । यस स्थलमा प्रदेश सभा सदस्य ६० र स्थानीय तह सदस्य एक सय ७० गरी दुई सय ३० जना मतदाता रहेका छन् ।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्य ८७ र स्थानीय तह सदस्यतर्फ दुई १८ गरी तीन सय पाँच  जना मतदाता रहेका छन् ।

कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्य ४० र स्थानीय तह सदस्य रक सय ५८ गरी एक सय ९८ जना मतदाता रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ । यस स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ एक सय ७६ गरी दुई सय २९ जना मतदाता रहेका छन् ।

सातवटा प्रदेशमा प्रदेश सभा सदस्यतर्फका पाँच सय ५० र स्थानीय तह सदस्य तर्फ  एक हजार पाँच सय छ गरी कूल दुई हजार ५६ जना मतदाता रहेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ अनुसार प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।

कुन कुन सांसदको पूरा भयो दुई वर्षे कार्यकाल :

राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक  तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुने व्यवस्था गरिएको छ ।

पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यहरुमा सरिता प्रसार्इं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपाली रहेका । उनीहरुको आगामी फागुन २० गत कार्यकाल सकिनेछ ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुने छ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजना रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।